इलाममा गठबन्धनबाट दुई पालिका एकीकृत समाजवादी, आठमा काङ्ग्रेस

रोहितचन्द्र भट्टराई-

 इलाम । सत्तारुढ गठबन्धनमा सम्मिलित दलहरुका तर्फबाट इलामका दशवटा स्थानीय तहमध्ये तीन नगरपालिका सहित आठ पालिकाका प्रमुखमा नेपाली काङ्ग्रेस र एक नगरसहित दुई पालिकका प्रमुखमा नेकपा एकीकृत समाजवादीका तर्फबाट उम्मेद्वारी पर्ने भएको छ ।

मंगलबार साँझ बसेको गठबन्धनको केन्द्रीय संयन्त्र बैठकले तयार गरेको चुनावी तालमेलसम्बन्धी सिट बाँडफाँटका आधारलाई मानेको खण्डमा इलाममा यस्तो अवस्थामा उम्मेद्वारी पर्ने निश्चित भएको हो । गठबन्धनले तयार गरेको आधारमा पहिलो बुँदामै लेखिएको छ : ’२०७४ सालको स्थानीय निर्वाचनमा गठबन्धनमा रहेका दलहरू जो प्रमुखमा विजयी भएका छन् तिनलाई पहिलो आधार मान्ने।

नेकपा एकीकृत समाजवादी(एस)को पक्षमा कायम रहेका प्रमुखहरुलाई पनि यहि अन्तर्गत मान्ने।’ यही आधारमा काङ्ग्रेसले जितेका फाकफोकथुम, माङ्सेबुङ र रोङ गरि तीनवटा गाउँपालिका काङ्ग्रेसकै भागमा र नेकपा एमालेबाट जितेका र हाल एसमा प्रमुखहरु भएका सूर्योदय नपा र माईजोगमाई गापा एसका भागमा परेका हुन् । बाँकी तीन नगरपालिकासहित पाँचवटै पालिकामा एमालेले जितेको थियो भने दोस्रो मत काङ्ग्रेसले प्राप्त गरेको थियो ।

ती सबै तहमा गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र र साविकमा संघीय समाजवादी फोरमले पाएको मत निकै कम छ । गठबन्धनले बनाएको आधारहरुको चौथो बुँदामा ’२०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरुले प्रमुख पदमा पाएको मतलाई आधार मान्ने’ भनिएको छ भने दोस्रो बुँदामा ’२०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतभार हेर्ने’ भनिएको छ ।

यीनै बुँदाको आधारमा बाँकी पाँच वटै पालिका काङ्ग्रेसका भागमा पर्ने देखिएको हो । ’एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने’ गठबन्धनको सहमति भएकाले एसलाई गठबन्धनमा काङ्ग्रेस र माओवादी केन्द्रपछिको तेस्रो शक्तिका रुपमा बुझिन्छ ।

त्यसैले गठबन्धनमा काङ्ग्रेसबाहेकका दलहरुले इलामका २०७४ मा एमालेले जितेका पालिकामा प्रमुखको भाग पाउँदैनन् । २०७४ सालको स्थानीय तहको निर्वाचनको परिणाम अनुसार एमालेले जितेको इलाम नगरपालिकामा एमालेको ११ हजार ३३ मत थियो भने काङ्ग्रेसको एकहजार सातसय ६५ मतले कमी अर्थात् नौ हजार २६८ मत थियो । त्यहाँ तेस्रो मत माओवादी केन्द्रको १७४ थियो ।

चुलाचुली गापामा एमालेले तीन हजार ४९३ मत पाएर जितेकोमा काङ्ग्रेसले ३४४ मतको परकले तीनहजार १४९ मत पाएर दोस्रो भएको थियो । चुलाचुलीमा पनि तेस्रो मत माओवादी केन्द्रको ७६० थियो । देउमाई नपामा विजयी बनेको एमालेले सात हजार ३४७, दोस्रो बनेको काङ्ग्रेसले छ हजार ६४५ र तेस्रो दल बनेको माओवादी केन्द्रले ९७६ मत पाएका थिए भने माई नपामा एमाले छ हजार ४८ मतले विजयी बनेकोमा काङ्ग्रेस चारहजार ५२६ मतसहित दोस्रो र माओवादी केन्द्र एकहजार ८४७ मतसहित तेस्रो बनेका थिए ।

यता सन्दकपुर गापामा एमालेले चारहजार ५२९ मतसहित जितेको र काङ्ग्रेसले दुईहजार १७५ कम अर्थात् दुईहजार ३५४ मत ल्याएर दोस्रो भएकोमा माओवादी केन्द्रले चौथोमात्र मत ३४० पाएको थियो । एकजना स्वतन्त्र उम्मेदवारले माओवादीको भन्दा बढी ३६१ मत ल्याएका थिए ।
 

प्रतिक्रिया