थिक्सनाको सानदार बलिङमा चेन्नईको पहिलो जित

काठमाडौं– स्पिनर महेश थिक्सनाको सानदार बलिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंग्लोरलाई २३ रनले हराउँदै पहिलो जित हात पारेको छ।

२ सय १७ रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९३ रन बनायो। बेंग्लोरका शहबाज अहमदले २७ बलमा ४ चौकासहित सर्वाधिक ४१ रन बनाए। डेब्यू खेल खेलेका सुयश प्रभुदेशाईंले १८ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाए।

 दिनेश कार्तिकले ३४, ग्लेन म्याक्सवेलले २६ तथा अनुज रावतले १३ रन बनाए। मोहमद सिराज १४ रनमा अविजित रहे। चेन्नईका स्पिनर थिक्सनाले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। रविन्द्र जडेजाले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए। मुकेश चौधरी र ड्वेन ब्राभोले समान १–१ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो। चेन्नईका रोबिन उथप्पाले ८८ रनको उत्कृष्ट प्रदर्शन गरे। उनले ५० बलमा ४ चौका र ९ छक्का प्रहार गरे।

शिवम दुबेले ४६ बलमा ५ चौका र ८ छक्कासहित ९५ रनमा अविजित रहे। तेस्रो विकेटका लागि उथप्पा र दुवेले ७४ बलमा १ सय ६५ सानदार कीर्तिमानी शतकीय साझेदारी गर्दै विशाल योगफलमा पुर्याएका थिए।

रुतुराज गायकवाडले १७ रन बनाए। मोइन अली ३ रनमा आउट हुँदा कप्तान रविन्द्र जडेजा शून्यमा पेभेलियन फर्किए।

बेंग्लोरका वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए। जोश हाजलउडले १ विकेट लिए। चेन्नईले यसअघि चारै खेलमा पराजित भएको थियो। चेन्नईले अब आइतबार गुजरात टाइटन्ससँग खेल्नेछ। बेंग्लोरको यो पाँचौं खेलमा दोस्रो हार हो। बेंग्लोरले शनिबार दिल्ली क्यापिटल्ससँग खेल्नेछ।

प्रतिक्रिया