आईपीएल : हैदराबाद ८ विकेटले विजयी, गुजरातको पहिलो हार

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ। सोमबार राति सम्पन्न खेलमा गुजरातलाई सनराइजर्स हैदराबादले ८ विकेटले पराजित गरेको हो।

जितका लागि पछ्याएको १ सय ६३ रनको लक्ष्य हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो। हैदराबादको जितमा कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ खेले  भने अभिषेक शर्माले ४२ रन बनाए।

गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १–१ विकेट लिए।

मुम्बईको डिवाई पाटिल स्पोर्टस् एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो। उसका कप्तान हार्दिकले ५० रनको अविजित अर्धशतकीय इनिङ खेले भने अभिनव मनोहरले ३५ रन बनाए।

हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २–२ विकेट लिए।

जारी आईपीएलमा गुजरातको यो पहिलो हार हो। यसअघि उसले तीन खेलमा लगातार जित निकाल्दै अपराजित रहेको थियो। हैदराबादको भने यो ४ खेलमा दोस्रो जित हो।

प्रतिक्रिया