सिटी र लिभरपुलले अंक बाँडे

काठमाडौं– इंग्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ।

इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा सिटी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन्।

सिटीका लागि कप्तान केभिन डि ब्रुयन र गाब्रियल जेससले गोल गरे। यता, लिभरपुलका डिएगो जोटा र साडियो मानेले गोल गरे।

खेलको पाँचौ मिनेटमा नै घरेलु टोलीले अग्रता लिन सफल भएको थियो। कप्तान केभिनले बर्नाडो सिल्भाको पासमा गोल गर्न सफल भएका थिए। तर, सिटीको त्यो अग्रता लामो समय टिकेन।

१३औं मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।  ३६औं मिनेटमा गाब्रियल जेससले गोल गरेपछि सिटीले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो।

दोस्रो हाफको सुरुमै अर्था ४६औं मिनेटमा साडियो मानेले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। ६३औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपनि अफसाइड ठहरिँदा गोलले मान्यता नपाउँदा सिटीले अग्रता लिन सकेन। त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो।

बराबरीसँगै दुवै टोलीको उपाधि जित्ने सम्भावना रहेको छ। शीर्षस्थानको सिटीको ३१ खेलबाट ७४ तथा समान खेलबाटै लिभरपुलको ७३ अंक रहेको छ।

यस्तै, आइतबार नै भएको खेलमा ब्रेन्टफर्ड वेस्ट ह्यामसँग २–०ले पराजित भएको छ। यस्तै, लेस्टर क्रिस्टल प्यालेससँग २–१ र नर्विच बर्नसँग २–० ले पराजित भएको छ।

प्रतिक्रिया