आईपीएल : मुम्बईमाथि बैंग्लोरको सहज जित

काठमाडौं– रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा जित  हात पारेको छ। शनिबार राति सम्पन्न खेलमा बैंग्लोरले मुम्बई इन्डियन्समाथि ७ विकेटको सहज जित हात पारेको हो।

योसँगै तेस्रो जितका साथ बैंग्लोर तेस्रो स्थानमा उक्लिदा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले सुरुवाती चारै खेलमा हार बेहोरेको छ।

जितका लागि १ सय ५२ रनको लक्ष्य बैंग्लोरले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। बैंग्लोरको जितमा ओपनर अनुज रावतले ४७ बलमा ६६ रनको अर्धशतकीय इनिङ्स खेले। विराट कोहलीले ३६ बलमा ४८ रन बनाए।

मुम्बईका जयदेव उनाद्कट र डेवाल्ड ब्रेभिसले १–१ विकेट लिए।

त्यसअघि महाराष्ट क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर पहिल ब्याटिङकोे निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो। मुम्बईका मध्यक्रमका ब्याटर सूर्य कुमार यादवले ३७ बलमा अविजित ६८ रन बनाए। दुबै ओपनर ईशान किशन र रोहित शर्माले समान २६–२६ रन बनाए। 

बैंग्लोरका हर्षल पटेल र वानिन्दु हसरंगाले २–२ विकेट लिए  भने आकाश दीपले १ विकेट लिए।

मुम्बई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ४ विकेटले, दोस्रो खेलमा राजस्थान रोयल्ससँग २३ रनले र  तेस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ५ विकेटले पराजित भएको थियो। अंक तालिकाको नवौं स्थानमा रहेको मुम्बईले अब बुधबार पन्जाब किंग्सँग खेल्नेछ।

पहिलो खेलमा पन्जाब किंग्ससँग ५ विकेटको पराजित भएको  बैंग्लोरले दोस्रो खेलमा कोलकातालाई ३ विकेटले र तेस्रोमा राजस्थानलाई ४ विकेटले हराएको थियो। बैंग्लोरले अब मंगलबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ। 

प्रतिक्रिया