युरोपा लिग : बार्सिलोना र एटलान्टा बराबरीमा रोकिए

काठमाडौं– क्याटलान क्लब बार्सिलोना र इटालियन क्लब एटलान्टा युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएका छन्।

फ्रान्कफुर्टमा बिहीबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको जर्मन क्लब फ्रान्कफुर्टसँग १–१ गोलको बराबरी खेलेको हो।

घरेलु टोली फ्रान्कफुर्टका लागि अन्सगर नाफले गोल गरेका थिए। यता, बार्सिलोनाका फेरान टोरेसले बराबरी गोल फर्काए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा २ गोल भएको थियो। खेलको ४८औं मिनेटमा नाफको गोलबाट फ्रान्कफुर्टले अग्रता लिएको थियो। कर्नरबाट आएको बललाई उनले हाफ भलिमार्फत् गरेको प्रहार गरेको बल बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउन सकेनन्।

६६औं मिनेटमा बार्सिलोना बराबरी गोल फर्काउन सफल भयो। फेरान टोरेसले फ्रान्की डि जोङको पासमा गोल गर्न सफल भएका थिए।

७८औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो। पेड्रीमाथि फउल गरेपछि टुटा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो।

यो बराबरीसँगै दुवै टोलीले सेमिफाइनल पुग्ने समिकरण बनेको छ। तर, बार्सिलोनालाई अवे गोलको फाइदा हुन सक्नेछ। दोस्रो लेगमा यही नतिजा कायम रहे बार्सिलोना अवे गोलको आधारमा अघि बढ्नेछ।

दोस्रो लेग १४ अप्रिलमा बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा हुनेछ। 

अर्को खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा एटलान्टाले पहिलो लेगमा जर्मन क्लब आरबी लाइप्जिगसँग १–१ गोलको बराबरी खेलेको छ।

रेडबुल एरिना लाइप्जिग जर्मनीमा बिहीबार राति भएको खेलमा एटलान्टाका लागि लुइस मुरेलले गोल गरे। लाइप्जिगले आत्मघाती गोल उपहार पाएको थियो।

खेलको १७औं मिनेटमा  डेभिड जापाकोस्टाको पासमा मुरेलको गोलबाट एटलान्टाले अग्रता लिएको थियो।

५८औं डेभिड जापाकोस्टाले आत्मघाती गोल गर्न पुगेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो। त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो।

अब दोस्रो लेग १४ अप्रिलमा एटलान्टाको मैदानमा हुनेछ। लाइप्जिगलाई सेमिफाइनल पुग्न जितको खाँचो रहेको छ। यही नतिजा कायम राख्नसके एटलान्टा अवे गोलको आधारमा अघि बढ्ने छ।

प्रतिक्रिया