आईपीएल : लखनऊसँग दिल्ली ६ विकेटले पराजित

काठमाडौं– लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा दिल्ली क्यापिटल्समाथि ६ विकेटको रोमान्चक जित हात पारेको छ। जितसँगै लखनऊ अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको लखनऊले १९.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। लखनऊको जितमा क्विन्टन डि ककले ५२ बलमा ९ चौका र २ छक्कासहित ८० रनको इनिङ खेले। 

ओपनर तथा कप्तान लोकेश राहुलले २५ बलमा २४ रन बनाए।

दिल्लीका कुलदीप यादवले ३.४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए। त्यसैगरी,  शार्दुल ठाकुर र ललित यादवले १–१ विकेट लिए।

त्यसअघि डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो। दिल्लीका ओपनर पृथ्वी शाले ३४ बलमा सर्वाधिक ६१ रनको योगदान दिए । कप्तान ऋषभ पन्त ३६ बलमा ३९ रनमा अविजित रहँदा शरफराज खानले २८ बलमा ३६ रन बनाए।

लखनऊका लेग स्पिनर रवि विश्रोईले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए भने स्पिनर कृष्णाप्पा गोथमले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर १ विकेट लिए। दिल्लीले अब आइतबार कोलकाता नाइट राइडर्ससँग खेल्नेछ  भने लखनऊले शनिबार राजस्थान रोयल्ससँग खेल्नेछ।

प्रतिक्रिया