च्याम्पियन्स लिग : बेन्जेमाको ह्याट्रिक, चेल्सीमाथि रियलको सानदार जित

काठमाडौं– फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको ह्याट्रिकमा स्पेनिस महारथी रियल मड्रिडले युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता इंग्लिस क्लब चेल्सीमाथि सानदार जित निकालेको छ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा रियलले ३–१ को जित निकालेको हो। चेल्सीका लागि काई हाभर्टजले एक गोल फर्काए। 

२१औं मिनेटमा कप्तान करिम बेन्जेमाको गोलबाट रियलले अग्रता लिएको थियो। उनले भिनिसियस जुनियरको पासमा हेडरमार्फत् गोल गरे।

२४औं मिनेटमा बेन्जेमाले लुका मोड्रिचको पासमा हेडरमार्फत् नै व्यक्तिगत दोस्रो गोल गरे। ४०औं मिनेटमा काई हाभर्टजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। उनले जर्गिन्होको पासमा हेडरमार्फत् गोल गरेका थिए।

दोस्रो हाफको सुरुमै बेन्जेमाले ह्याट्रिक पूरा गर्दै रियललाई ३–१ ले अघि बढाए। त्यसपछि दुवैतर्फबाट गोलका केही प्रयास भएपनि सदुपयोग हुन नसक्दा रियल विजयी भयो।

बेन्जेमाको यो सिजन च्याम्पियन्स लिगमा ११औं गोल हो।

जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। अब १२ मार्चमा हुने दोस्रो लेगमा यही नतिजा कायम राख्न सके रियल सेमिफाइनलमा प्रवेश गर्नेछ।

यता, अर्को खेलमा जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसँग उसकै मैदानमा १–० ले पराजित भएको छ।

घरेलु मैदानमा भिल्लारियलको जितमा खेलको सुरुमै एर्नाउट डानजुमाले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको आठौं मिनेटमा ड्यानियल पारेजोको पासमा गोल गरेका थिए।

यो जितसँगै भिल्लारियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके भिल्लारियल सेमिफाइनलमा प्रवेश गर्नेछ।

प्रतिक्रिया