पाकिस्तानको राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेकै हो?

मस्को: एजेन्सी पाकिस्तानमा जारी राजनीतिक गतिरोधलाई विभिन्न दृष्टीकोणबाट हेर्न थालिएको छ। यस्तो अवस्थामा रुसले हालै एउटा विज्ञप्ती सार्वजनिक गर्दै पाकिस्तानको राजनीतिक अवस्थाको जिम्मेवार अमेरिका भएको आरोप लगाएको छ।

रुसको कडा प्रतिक्रियासँगै पाकिस्तानको आन्तरिक राजनीतिमा नयाँ भूइँचालो जाने सम्भावना बढेर गएको छ। रुसले पहिलो पल्ट पाकिस्तानको राजनीतिक विषयमा प्रतिक्रिया दिएको हो। उसले पाकिस्तानको आन्तरिक मामिलामा अमेरिकाले नाङ्गो हस्तक्षेंप गरेको भन्दै कडा शब्दमा भनेको छ, ‘अमेरिकाले लाजमर्दो ढंगले हस्तक्षेपको अर्को प्रयास गरेको हो।’ अमेरिकाको आदेश नमानेकै कारण प्रधानमन्त्री इमरान खानलाई दण्डित गर्न अमेरिकाले यस्तो हर्कत गरेको रुसले स्पष्ट पार्न खोजेको छ।

यसअघि टर्की र इरानले पनि इमरान सरकारलाई अपदस्त गर्न अमेरिकाले हस्तक्षेप गरिरहेको बताएको थियो। इमरान स्वयम्ले यस विषयमा पहिले नै प्रतिक्रिया जनाइसकेका छन्। उनले रुसको भ्रमणलगत्तै अमेरिकाले आफ्नो सत्ता ढाल्न प्रयास गरिरहेको बताएका थिए। रुसले युक्रेनमा हमला गरेको दिन इमरान संयोगले मस्को पुगेका थिए। दुई दशकपछि पाकिस्तानी प्रधानमन्त्रीको त्यो पहिलो भ्रमण थियो। रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखरोभाले पाकिस्तानी राष्ट्रपतिले संसद भंग गरेको घटनालाई मस्कोले नजिकबाट नियालिरहेको बताएकी छिन्।

उनले भनिन्, ‘इमरान खानले २३–२४ फेब्रुअरीमा जतिबेला मस्को यात्राको घोषणा गरे, यसपछि अमेरिका र उसको पश्चिमा समर्थक राष्ट्र पाकिस्तानी प्रधानमन्त्रीलाई दबाब दिन उद्धत थियो। उनीहरू इमरान खानलाई यात्रा रद्ध गर्न दबाब दिइरहेका थिए।’ रुसी प्रवक्ता जाखरोभाले अमेरिका माथि गम्भीर आरोप लगाउँदै भनिन्, ‘इमरानको रुस भ्रमण लगत्तै अमेरिकी पदाधिकारी लुले वासिङ्टनस्थित पाकिस्तानी राजदूतलाई फोन गरेर पाकिस्तानी प्रधानमन्त्रीलाई देश फर्किन दबाब दिन भनेका थिए। जुन प्रधानमन्त्री खानले मानेनन्।’

उनले अमेरिकाको कुरा नमानेकै कारण इमरान खानलाई दण्डित गर्न पाकिस्तानमा राजनीतिक संकट उत्पन्न गरिएको बताए। उनले भनिन्, ‘स्वयम् इमरान खानको पार्टीकै सांसद पनि विपक्षको अविश्वास प्रस्तावमा आफ्नो मत बदलिरहेका थिए। यो स्वतन्त्र देशको विदेश नीति आफ्नो स्वार्थ अनुकुल बनाउन अमेरिकाले रचेको कुरुप प्रयास हो।’ रुस भन्दाअघि टर्कीले पनि पाकिस्तानको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको थियो। टर्कीको चाहना छ, इमरान खानको सरकारले आफ्नो पूर्ण कार्यकाल पुरा गरोस्। टर्कीका विदेशमन्त्रीले पाकिस्तानी समकक्षीलाई फोन गर्दै राजनीतिक घटनाक्रम प्रति चिन्ता व्यक्त गरेका थिए। इरानको विदेश मन्त्रालयले पनि पाकिस्तानमा भइरहेको विदेशी हस्तक्षेंपबाट सतर्क रहन इमरान सरकारलाई सचेत गराएको थियो।

प्रतिक्रिया