निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने दलहरुको प्रतिबद्धता

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरुसँग निर्वाचन आयोगले मंगलबार निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाउनका लागि छलफल गरेको थियो ।

छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आचारसंहिता आयोगले राजनीतिक दलहरुबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै सोही आचारसंहितामा दलहरुलाई हस्ताक्षर गराइएको उनले बताए ।

बैठकको सुरुमै आचारसंहिता पालना गर्नका लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलहरुले छलफल बिनै हस्ताक्षर गराउन लागिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

तर प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको बारेमा प्रष्ट पारेसँगै दलहरु असन्तुष्टिकैबीच हस्ताक्षर गर्न तयार भएका थिए । छलफल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न नेपाली कांग्रेस पूर्ण रुपमा प्रतिवद्ध रहेको बताए ।

नेकपा(एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्न तयार रहेको बताए । पूर्ण रुपमा आचारसंहिता पालना गर्ने प्रतिवद्धतासहित हस्ताक्षर गरिएको उनले बताए ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरुले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरुले गुनासो राखेको बताए । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सभ्य बनाउनका लागि राजनीतिक दलहरुले गरेको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ ।


 

प्रतिक्रिया