पपुवा न्यू गिनीसँग दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं- नेपाल र पपुवा न्यू गिनीबीचको दोस्रो तथा अन्तिम ओडिआई खेल आज (शनिबार) हुँदैछ। खेल बिहान ९ : ३० बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ।

पपुवा न्यू गिनी पहिलो खेलमा ६ रनले विजयी हुँदै दुई खेलको ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ। यता घरेलु टोली नेपाललाई सिरिज बराबरीमा सक्न आजको खेल जित्नै पर्ने दबाब छ। पछिल्लो खेलमा २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो।

नेपालका लागि युवा ब्याटर रोहित पौडेलले १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको सानदार कीर्तिमानी शतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेका थिएनन्।

रोहित र आरिफले पाँचौं विकेटका लागि १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए। अन्तिम समयमा कमलसिंह ऐरी र सोमपाल कामीले खेल फिनिस गर्न नसक्दा नेपाल पराजित भएको थियो।

पपुवा न्यू गिनीले २०१८ पछि नेपाललाई पहिलो पटक हराएको हो। पपुवा न्यू गिनीलाई जित दिलाउन चाल्र्स अमिनी, नर्मन भानुआ र असाद भालाले उच्च प्रर्दशन गरेका थिए। 

चाल्र्स अमिनीले १ सय ३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ७७ रनको इनिङ खेल्नुको साथै २ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए। नर्मनले २८ बलमा ४ चौका र ३ छक्का सहित ४७ आक्रामक इनिङ्स खेल्नुको साथै ३ विकेट लिएका थिए।

कप्तान असाद भाला ५५ बलमा ११ चौकासहित ६० रनमा आउट भएका थिए। 

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल शाह, विक्रम सोब, सुशान भारी, रोहित पौडेल, पवन सरार्फ, देव खनाल, गुलशन झा र भीम सार्की।

प्रतिक्रिया