पपुवा न्युगिनीद्वारा नेपाल ६ रनले पराजित

काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपाललाई ६ रनले पराजित गरेको छ । जितका लागि २९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले आठ विकेटको क्षतिमा दुई सय ८६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रोहितकुमार पौडेलले ऐतिहासिक शतक प्रहार गरे । उनले एकदिवसीय खेलमा पहिलो पटक शतक प्रहार गरेका हुन् । एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने पूर्वकप्तान पारस खड्कापछि १९ वर्षीय पौडेल दोस्रो खेलाडी बनेका छन् । एकदिवसीय खेलमा उनी सर्वाधिक रन बनाउने तथा पाँच सय रन पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।

पौडेलले एक सय २६ रन बनाए । उनले एक सय सात बल खेल्ने क्रममा चार छक्का र सात चौका प्रहार गरे । यस्तै आरिफ शेखले ३४, कुशल भुर्तेलले ३२, सोमपाल कामीले १८, कमलसिंह ऐरीले १८, भीम सार्कीले १७ र दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।

बलिङतर्फ पपुवा न्युगिनीका नोरमान भानुले तीन, असाद भाला र चाल्र्स अमिनीले दुई दुई तथा नोसैना पोकनाले एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको योगफल बनाएको थियो । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ७७ रनको योगदान दिए ।

उनले १०३ बलमा ६ चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान असाद भालाले ५५ बलमा ११ चौकासहित ६०, नोरमान भानुले २८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७, टोनी उराले ३८, राइली हेकुरेले ३१ तथा जासन किलले १३ रन बनाए ।

बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिए । पपुवा न्युगिनी सन् १९९८ मा एसिसी ट्रफी खेल्न नेपाल आएको थियो । त्यतिबेला नेपालसँग भने उसले खेलेन । त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीले पहिलो पटक नेपालसँग खेलेको हो ।
 

प्रतिक्रिया