‘बी’ डिभिजन लिगमा आरसिटी विजयी

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन फुटबल लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा आरसिटीले सामाजिक युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

आरसिटीको जितमा प्रज्ज्वल गुरुङले दुई तथा विश्वास थापा मगरले एक गोल गरे । विश्वासले खेलको पाँचौँ मिनेटमा गोल गर्दै आरसिटीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको २०औँ र २४औँ मिनेटमा प्रज्ज्वलले व्यक्तिगत दुई गोल गरे ।

जितसँगै आरसिटीले आठ खेलबाट १२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजित सामाजिक युथ क्लब भने आठ खेलबाट सात अङ्क जोड्दै अङ्कतालिकाको नवौँ स्थानमा यथावत रहेको छ ।


 

प्रतिक्रिया