अफगानिस्तानका पूर्वअर्थमन्त्री अमेरिकामा ट्याक्सी चलाउँदै

वासिङ्टन, एजेन्सी। कुनै बेला उनी देशको सम्पूर्ण अर्थतन्त्र चलाउँथे। पैसा उनको लागि कागजको खोस्टो जस्तै थियो। तर, अहिले उनी गाडी चलाएर जिविकोपार्जन गरिरहेका छन्।

खालिद पयान्दा, अफगानिस्तानका पूर्वअर्थमन्त्री । जसको जीवन ३६० डिग्री ‘यूटर्न’ भएको छ। गत वर्ष अगस्टमा उनले देशको ६ अर्ब डलरको वार्षिक सम्पत्ति सञ्चालन गरेका थिए। आज उनी अमेरिकामा पेट पाल्न क्याब चलाइरहेका छन्।

khalid 1

अफगानिस्तान अहिले तालिबान सरकारको कब्जामा छ। अमेरिकी सेनाले अफगानिस्तान छोडेपछि राष्ट्रपति असरफ गनी तथा उनको मन्त्रीमण्डल विदेश पलायन भएको थियो। विदेश पलायन हुने मन्त्रीमा खालिद पनि एक थिए। तर, उनको अवस्था राष्ट्रपति गनीको जस्तै छैन। उनी अमेरिकाको राजधानी वासिङ्टन डिसीमा क्याब चलाउने गर्छन।

वासिङ्टन पोस्टसँग कुराकानी गर्दै खालिद भन्छन्, ‘अबको दुई दिनमा मलाई ५० ट्रिप्स पुरा गर्नुछ। यो पुरा गरेको खण्डमा मलाई ९५ डलर बोनस प्राप्त हुनेछ।’

उनले कुराकानी कै क्रममा घरमा श्रीमती र चार केटाकेटी रहेको बताए। ‘केही पैसा बचाएको थिए। यसले घर खर्च चलिरहेको छ। मेरो देश अफगानिस्तानको अवस्था निकै खराब छ। महामारी थियो नै, अब सुख्खा पनि हुन थालेको छ’, खालिदले भने, ‘विश्वले सबै प्रतिबन्ध लगाएको छ। अर्थतन्त्र चौपट भइसकेको छ। तालिबानका कारण महिलाको अवस्था दयनीय बनेको छ।’

अमेरिकाको जो वाइडन सरकारले अफगानिस्तानको अहिलेको अवस्थाको जिम्मेवारी तालिबान सरकारको टाउकोमा हालेको छ। वाइडनले भनेका छन्, ‘हामीले अफगान सरकारलाई सबै कुरा उपलब्ध गरायौं। उनीहरूको भविष्य राम्रो बनाउन मौका पनि दियौं।’

खालिद भन्छन्– मेरो जीवनको धेरै समय अफगानिस्तानमा बित्यो। अहिले अमेरिकामा छु। साच्चै भन्नुपर्दा म असमञ्जसमा छु। आफ्नो देश फर्किन सक्दिन। यहाँ बसोबास गर्ने स्थायी ठेगाना पनि छैन। आज मैले ४ डलरको टिप्स पाए।’

तालिबानले अफगानिस्तानमा कब्जा जमाउनुभन्दा अघि खालिद अर्थमन्त्री थिए। तर, लफ्डा सुरु भएको केही दिनपछि उनले राजीनामा गर्नुपर्यो। उनी भन्छन्, ‘लेबनानको एउटा कम्पनीलाई पैसा नदिएको कारण राष्ट्रपति गनी मसँग रिसाएका थिए। उनले तथानाम गाली गरे।’

खालिदको परिवार अगस्टको पहिलो साता अफगानिस्तान छोडेर अमेरिका पुगेको थियो। उनी १५ अगस्टमा वासिङ्टन पुगे। खालिद भन्छन्, ‘विश्वले हामीलाई २० वर्ष दियो। सबै सहयोग उपलब्ध गरायो। दूर्भाग्य हामी सफल भएनौं। भ्रष्टाचारका कारण सारा सिस्टम तहसनहस भयो। साँचो कुरा, हामीले आफ्नै जनतालाई धोका दियौं। मन्त्रीहरूलाई थाहा थियो, तालिबानले देश कब्जा गर्छ। उनीहरू वाट्सऐपमा देश छोड्ने म्यासेज साटासाट गर्थे।’

अन्त्यमा अफगानिस्तानमा के भएको थियो? यो प्रश्नमा खालिद भन्छन्, ‘यो घाउँ कोट्याउनु जस्तै हुनेछ।’

अहिले तालिबानी सरकारमा जसले अर्थमन्त्रालयको जिम्मा बोकेका छन्, मोहम्मद उमर, उनी खालिदको बच्चादेखिका साथी हुन्। कुनै बेला पाकिस्तानमा आफ्नो जीवनको केही वर्ष बिताएका खालिद अफगानिस्तानमा पहिलो निजी विश्वविधालय स्थापना गर्ने व्यक्ति पनि हुन्। उनको विश्वास छ, अमेरिकाले अफगानिस्तानमा लोकतन्त्र, महिला अधिकार र मानवअधिकार स्थापना गर्न लामो लडाई लड्यो।

२००८ मा खालिद पहिलो पल्ट अमेरिका आएका थिए। अमेरिकाकै दबाबमा असरफ गनीले २०१६ मा उनलाई सहायक अर्थमन्त्री बनाएका थिए। काबुलमा उनको आमाले कोरोनाका कारण ज्यान गुमाउनु पर्यो। उनको साथी र श्रीमती चाहँदैन्थे, खालिद अर्थमन्त्री बनुन्, किनभने यतिबेला अफगानिस्तानमा तालिबानको प्रभाव बढ्दै गइरहेको थियो। 
 

प्रतिक्रिया