यूएईसँग नेपाल ४८ रनले पराजित

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट श्रृङ्खलामा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग ४८ रनले पराजित भएको छ ।

यूएईले दिएको एक सय ६९ रन पछ्याएको नेपाल ३५ ओभर १ बलमा एक सय २० बलमा समेटियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २८, कुशल भुर्तेलले ११, आसिफ शेख र सन्दीप लामिछानेले ७, करण केसी र सोमपाल कामीले ६, दीपेन्द्रसिंह ऐरी ४, आरिफ शेख र कमल ऐरी शून्य रनमा आउट भए ।

बलिङतर्फ यूएईका लागि बसिल हमीदले चार र जुनैद सिद्दिकीले तीन विकेट लिए । यस्तै जहोर खान र रोहन मुस्तफाले एक–एक विकेट हात पारे । यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै एक सय ६८ रन बनायो ।

यूएईका लागि रोहन मुस्तफा र चुन्दनग्यापोएल रिजवानले समान ४०/४० रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले चार विकेट लिए । यस्तै करण केसीले तीन विकेट लिँदा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एक÷एक विकेट लिए । अङ्क तालिकामा नेपाल १० खेलमा पाँचमा जित र पाँचमा हारसहित १० अङ्कका साथ पाँचौँ स्थानमा छ ।

यूएई १६ खेलमा नौमा जित र पाँचमा हारसहित २० अङ्कका साथ दोस्रो स्थानमा छ । ओमान २७ खेलमा १७ मा जित र आठमा हार सहित ३६ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ । अब नेपालले अर्को खेल चैत ७ मा यूएईसँग र चैत ८ मा पपुवा न्युगिनी (पीएनजी) सँग खेल्ने तालिका छ ।

प्रतिक्रिया