यू–१८ साफ महिला फुटबलमा नेपालको दोस्रो हार

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । जमसेदपुरमा बिहीबार भएको खेलमा नेपाल दोस्रो खेलमा बंगलादेशसँग ४–२ गोल अन्तरले पराजित भएको हो । पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको नेपाल अब प्रतियोगिताबाट बाहिरिएको छ ।

डबल राउण्ड रोविन लिग अनुसार फेरि एक पटक भारत र बंगलादेशसँग खेल्न बाँकी भने रहेको छ । पहिलो हाफमै ५ गोल भएको खेलमा ४ गोल नेपालले ब्यहोरेको थियो भने १ गोल मात्रै फर्काउन सफल भयो । नेपालभन्दा उत्कृष्ट देखिएको बंगलादेशका लागि अफिदा खानडकर, अक्लिमा खातुन, इटि खातुन र शहादा अख्तरले रिपाले १–१ गोल गर्दा नेपालका लागि दीपा शाही र अमिसाले १–१ गोल फर्काएका थिए ।

पहिलो हाफको तुलनामा नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई गोल गर्नबाट रोकेको थियो । अन्तिमसम्म गरेको प्रयासलाई नेपालले बिफल बनायो । अन्तिम समयमा नेपालले दोस्रो गोल फर्काएको थियो । नेपालका लागि अमिसाले गोल गरेकी थिइन् । नेपालले अब तेस्रो खेलमा मार्च २१ तारिखमा भारत र २३ तारिखमा बंगलादेशसँग खेल्ने छ ।

प्रतिक्रिया