गढवालका अजयसिंह बिष्ट कसरी बने योगी आदित्यनाथ?

 

 

लखनउ, एजेन्सी: जागिर खाने बहाना बनाउँदै गढवाल पौडी निवासी २१ वर्षीय एक युवा सन् १९९३ मा घरबाट बाहिर निस्कियो। एक्कासी उ उत्तर प्रदेश (युपी) को गोरखपुर धाममा प्रवेश गर्यो। उसको मिहिनेत र प्रतिभा देखेर गोरखपुर धामका महन्त अवैधनाथ साह्रै प्रभावित भए। अर्को एक वर्ष नै उनले त्यो युवालाई दीक्षा दिए। दीक्षा लिनुअघि गढवालबाट गोरखपुर झरेको त्यो युवाको नाम थियो, अजयसिंह बिष्ट। जो अहिले भारतीय राजनीतिमा योगी आदित्यनाथको नामले चर्चित छन्। 

योगी भारतीय राजनीतिमा चर्चित हुनुको थुप्रै कारण छन्। जोगीको पहिरनमा भारतको सबैभन्दा ठूलो प्रदेश हाँकेका यिनै योगीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) ले युपी चुनावमा पुनः बहुमत प्राप्त गरेको छ। योगी युपीमा लगातार दोस्रो कार्यकाल बहुमत प्राप्त गर्दै मुख्यमन्त्री बन्दैछन्। 

उनको चर्चा देशभित्र मात्र होइन, विदेशमा पनि चुलिएको छ। कानमा बढेमानको कुण्डल लगाउँदै जोगीको वस्त्रमा युपी जस्तो ठूलो प्रदेश हाक्नु चानचुने कुरा पक्कै होइन। गढवालको विकट गाउँमा बिष्ट परिवारमा जन्मिएका अजयसिंह कसरी योगीको रूपमा भारतीय राजनीतिमा उदाए? यसको कथा रोचक छ। 

गोरखपुर धामका महन्त अवैधनाथबाट दीक्षा प्राप्त गरेपछि योगीलाई १९९८ मा मठ तथा राजनीतिक उत्तराधिकारी घोषित गरिएको थियो। उनी यही वर्ष लोकसभा चुनावमा गोरखपुरबाट चुनाव जितेर युवा सांसदको रूपमा दिल्ली पुगेका थिए। यतिबेला उनको उमेर २६ वर्ष मात्र थियो। सन् २०१४ सम्म उनी पाँच पल्ट गोरखपुर चुनावी क्षेत्रबाट सांसद नियुक्त थिए। 

योगीको जन्म ५ जुन, १९७२ मा भएको हो। उनी गढवालमा ट्रान्सपोर्ट व्यवसाय गरेर बसेका आनन्दसिंह बिष्ट र आमा सावित्री देवीको पाँचौ सन्तानको रूपमा जन्मिएका हुन्। योगीको ७ भाई–बहिनी छन्। उनका पिता आनन्दसिंह बिष्ट अध्ययन पुरा गरेपछि आफ्नो छोरालाई ट्रान्सपोर्ट व्यवसायमा लगाउन चाहन्थे। तर, योगीलाई व्यापार–व्यसायमा रुची थिएन। १० कक्षाको अध्ययन पुरा गरेपछि उनले भरतमन्दिर इन्टर कलेज हुँदै हेमवती नन्दन बुहुगुणा गढवाल विश्वविधालयबाट गणित विषयमा स्नातक गरे। 

कलेजमा अध्ययनरत रहँदा योगीलाई उनको भिनाजु कम्युनिस्ट बनाउन चाहन्थे। उनका भिनाजु जयप्रकाश पहिलेदेखि वामपन्थीहरूको विधार्थी संगठन ‘एसएफए’ मा सक्रिय थिए। तर, उनको भेट भाजपाको विधार्थी संगठनका अग्रज प्रमोद रावतसँग भयो। यतिबेला देशभरी लखनउमा राम मन्दिर बनाउने आन्दोलन चर्किरहेको थियो। लालकृष्ण आडवाणी देशभरी रथ यात्रा गरिरहेका थिए। उनलाई यी कुराले आकर्षित गर्यो र उनी भाजपाको विधार्थी संगठनसँग जोडिए। 

वास्तवमा योगीले घर छोड्नुको मुख्य कारण जागिर नभएर राम मन्दिर बनाउने अभियानमा जोडिने थियो। गढवालबाट आन्दोलनका लागि गोरखपुर आउँदा उनको भेट एउटा कार्यक्रममा महन्त अवैधनाथसँग भएको थियो। यही भेट नै योगीको जीवनको सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ मानिन्छ।  
अवैधनाथसँगको पहिलो भेटमै योगी प्रभावित भएका थिए। सन् १९९३ मा घर छोडेर गोरखपुर पुगेका योगीको विषयमा एक वर्षसम्म उनको परिवार बेखबर थियो। उनले आफ्ना पितालाई कैयौं चिट्ठी लेखे तर त्यसलाई एक पल्ट पनि पोस्ट गरेनन्। 

१५ फेब्रुअरी १९९४ मा महन्त अवैधनाथले उनलाई दीक्षा दिएका थिए। योगीले सन् १९९२ मा राम मन्दिर आन्दोलनमा भाग लिएर हिन्दु नेताको पहिचान बनाएका थिए। योगीको बढ्दो लोकप्रियता तथा क्षमता बुझेर अवैधनाथले १९९८ मा उनलाई आफ्नो उत्तराधिकारी घोषित गरे। 

योगी आदित्यनाथलाई राजनीतिक रूपमा स्थापित गर्ने एउटा घटना १९९९ मा भएको थियो। यतिबेला युपीको महाराजगञ्जको पञ्चरुखियामा एउटा गोली काण्ड भयो। जसमा समाजवादी पार्टीका नेता तलत अजीजका ‘सार्प–सुटर’ सत्यप्रकाश यादवको मृत्यु भएको थियो। यो मुद्धामा मुख्य आरोपी योगीलाई बनाइयो। युपीमा त्यतिबेला भाजपाकै सरकार थियो। मुख्यमन्त्री कल्याण सिंहले घटनाको छानवीन केन्द्रिय सरकारअन्तर्गत ‘सीआइडी’ विभागलाई सुम्पिए। छानवीनका क्रममा योगी निर्दोष सावित भए र उनले ‘क्लिन चिट’ पाए। 

सन् २००२ मा अर्को घटनाको रूपमा ‘मोहन मुंडेरा’ काण्ड भयो। एउटी युवतीलाई कथित रूपमा बलात्कार गरेको आरोप लगाउँदै गाउँका ४७ अल्पसंख्यकको घरमा आगो लगाइयो। घटनाको आरोप फेरि योगी माथि नै लगाइयो। तर, योगीले डटेर यसको सामना गरे। 

विभिन्न बहानामा आफू र पार्टीमाथि आरोपको सिलसिला बढ्न थालेपछि उनले सन् २००२ मा ‘हिन्दु युवा वाहिनी’ को नाममा एउटा संगठन खडा गरे। जसको पहिलो सभाले ‘एक विकेटको बदला दस विकेट ढाल्ने’ रणनीतिअन्तर्गत हिन्दुहरूको घरमा ‘केसरिया झण्डा’ फहराउने कुरा उठायो। यसको तीब्र आलोचना भयो। तर, राजनीतिक रूपमा उनलाई यसलले लाभ पुर्यायो। 
‘हिन्दु युवा वाहिनी’ को गठनले योगी गोरखपुरमा मात्र नभई, पूर्वाञ्चलको सबै जिल्लामा चर्चित बन्दै गए। उनले संगठन पनि विस्तार गरे। योगी आदित्यनाथले ‘हिन्दु युवा वाहिनी’ गठन गर्नुको कारण हिन्दु विरोधी र राष्ट्र विरोधी गतिविधिलाई नियन्त्रण गर्नु रहेको दावी गर्दै आइरहेका छन्।  

सन् २००२ को चुनावमा भाजपाले स्थानीय लोकप्रिय नेता राधामोहन दास अग्रवाललाई टिकट उपलब्ध गराएन। उनी हिन्दु महासभाको सिटबाट गोरखपुरको शहरी सिटमा चुनाव लडे। यतिबेला योगीले राधा मोहनको समर्थन गरे। जसका कारण भाजपाका तत्कालीन मन्त्री शिवप्रताप शुक्ला भारी मतअन्तरले पराजित भए। यसले गोरखपुरमा योगीको बढ्दो लोकप्रियतालाई प्रमाणित गर्यो।  
कलेजकाल देखि नै योगी राजनीतिमा सक्रिय थिए। भाजपाको विधार्थी संगठन (एबीभीपी) सँग जोडिए पनि उनलाई सुरुमा चुनावका लागि टिकट उपलब्ध गराइएको थिएन। तर, उनले गढवाल विश्वविधालयमा अध्ययनरत रहँदा निर्दलीय उम्मेदवारको रूपमा उम्मेदवारी दिएका थिए। यतिबेला पराजित भए। यसपछि उनले कुनै पनि चुनावमा हारको सामना गर्नुपरेको छैन। २६ वर्षको उमेरमा पहिलो पल्ट १९९८ मा गोरखपुर संसदीय क्षेत्रबाट निर्वाचन लड्दा उनी २६ हजार मतले विजयी भएका थिए। 

सन् २०१७ को युपी चुनावअघि मुख्यमन्त्री पदका लागि भाजपामा थुप्रै स्टार अनुहार समावेश थिए। तर, ती सबैलाई योगीले पछाडि पारे। 

सन् २०२२ को फेब्रुअरीको तथ्यांकलाई आधार मान्ने हो भने योगीको कूल सम्पत्ति १ करोड ५४ लाख रुपैयाँ छ। हाल योगीमाथि अदालतमा कुनै मुद्धा छैन। २०१४ मा उनीमाथि सद्भाव बिगार्न खोजेको, हत्याको प्रयास, धम्कीलगायत ६ वटा मुद्धा थियो। 

योगी युपीमा ५ वर्षको पूर्ण कार्यकाल पुरा गर्ने भाजपाका पहिलो मुख्यमन्त्री हुन्। २००७ मा मुलायम सिंहपछि मुख्यमन्त्री हुँदै चुनाव लड्ने उनी दोस्रो नेता पनि हुन्। उनी लगातार दोस्रो पल्ट जित हात पार्ने पाँचौं मुख्यमन्त्री पनि हुन्। यसअघि १९५७ मा सम्पूर्णानन्द, १९६२ मा चन्द्रभानु गुप्ता १९७४ मा हेमवती नन्दन बहुगुणा र १९८५ मा एनडी तिवारीले चुनाव जितेका थिए। 

वास्तवमा योगी ‘एग्री यङम्यान’ को छवीसँगै युपीको राजनीतिमा उदाएका हुन्। सन् १९९४ को मार्च महिनामा गोरखपुरको गोलघर बजारमा इन्टर कलेजका केही विधार्थीहरू कपडा किन्न गएका थिए। तर, पैसाको विषयलाई लिएर विवाद भएपछि पसलेहरूले ती विधार्थीलाई बन्दुक तेर्साएर भगाएका थिए। पछि यी विधार्थीले ५० भन्दा बढी युवा सन्न्यासीको साथ लिएर गोरखपुरको एसएसपीको घरलगायत पुरैै जिल्लामा प्रदर्शन गरे। यो घटनाले योगीको छवी ‘एग्री यङम्यान’ को रुपमा गोरखपुर विश्वविधालयका विधार्थी नेताहरूको माझ स्थापित भयो। 

स्थानीयहरूले योगीको तुलना हिन्दु महासभाका अध्यक्ष महन्त दग्विजयनाथसँग गर्न थाले। सन् २०१६ मा एउटा भारतीय च्यानलले गरेको सर्भेमा योगीको लोकप्रियता राज्यमा ४८ प्रतिशतले बढेको देखाइएको थियो। तर,२०१७ को युपी चुनावमा पार्टीको संकल्प–पत्र तयार पार्दा योगीको फोटो ‘मेनिफेस्टो’ मा अटाएन। २५ फेब्रुअरीमा तत्कालीन विदेशमन्त्री सुषमा स्वराजले योगीलाई संसदहरूको एउटा टिममा रहेर विदेश जान पासपोर्ट मागेकी थिइन। उनी विदेश जान ८ मार्चमा दिल्ली पनि पुगेका थिए। तर, १० मार्चमा पार्टीले उनको पासपोर्ट फिर्ता गर्दै भन्यो– अव तिमीलाई विदेश जानुपर्ने आवश्यकता छैन।’ यतिबेला योगी अचम्म परेका थिए। विदेश जाने टिममा अचानक आफ्नो नाम किन काटियो भन्ने लागेको थियो। 

तर, ११ मार्चमा विधानसभा चुनावको नतिजा बाहिर आउँदा भाजपाले युपीमा ३ सय १२ सिट जितेको थियो। जितका लागि केशव प्रसाद मौर्य, राजनाथ सिंह र मनोज सिन्हाले निकै खुसी मनाए। उनीहरूलाई आफूमध्ये कोही मुख्यमन्त्री बन्ने आशा थियो। तर, यी सबैलाई पछि छोड्दै योगी आदित्यनाथ मुख्यमन्त्री घोषित भए। 

युपीमा उनको आगमनसँगै ‘गुण्डाराज’ समाप्त भएको दावी गरिएको छ। अवैध बिल्डिङमाथि बुल्डोजर चलाएका योगी अहिले युपीमा ‘बुल्डोजर बाबा’ को नामले पनि चर्चित छन्। उनको कार्यकालमै लखनउमा राम मन्दिर निर्माण प्रक्रिया अगाडि बढेको छ। ‘डन’ हरूको भागाभाग भएको छ। विकाश निर्माण कार्य तथा महिला सुरक्षाका कारण उनी युपीमा ‘हाई–हाई’ भएका छन्।  
 

प्रतिक्रिया