‘दृश्य टिभी डटकम’ शुभारम्भ 

काठमाडौं । फरक शैलीका श्रव्य दृश्य, आकर्षक तस्वीर र अर्थपूर्ण पठनीय सामग्रीका साथ ‘दृश्य टिभी डटकम’ बुधबार, मंसीर १ बाट प्रारम्भ भएको छ । संचार माध्यमहरुको भिडमा भिडियो, फोटो र पठन सामग्रीको त्रिआयामिक माध्यमका रुपमा ‘दृश्य टिभी डटकम’ भिन्न परिचयका साथ प्रस्तुत भएको हो ।

उपासना मिडिया ग्रुप प्रालिद्वारा प्रकाशित ‘दृश्य टिभी डटकम’ तीन दशकदेखि छापा, टेलिभिजन र अनलाइन माध्यमका विभिन्न आयाममा पत्रकारिताको अनुभव हासिल गरिसकेका पत्रकारहरुको नयाँ पहल हो ।

दृश्य टिभी डटकममा प्रवन्ध सम्पादक चन्द्रशेखर कार्की, प्रधान सम्पादक विष्णु निष्ठुरी, सल्लाहकार सम्पादक भरत कोइराला, कार्यकारी सम्पादक कुसुम भट्टराई र प्रमुख क्यामरा प्रवोध मल्लसहितको टिमले काठमाडौं, ठूलो खरिबोटस्थित कार्यालयबाट कार्य प्रारम्भ गरेको छ ।

शुभारम्भका अवसरमा प्रबन्ध सम्पादक चन्द्रशेखर कार्कीले विश्वसनीय, तथ्यपरक र वस्तुपरक सूचना सामग्रीको  भिडियो, तस्बीर र समाचार सामग्री एउटै माध्यममा उपलव्ध गराउँदै दृश्य टिभी डटकमलाई पाठकहरुको तीनपुस्ताले रुचाउने बनाउन आफुहरु प्रयत्नरत रहने बताए ।

‘अनेक आयामका संचार माध्यमहरुको बजारमा हामी सार्थक, रचनात्मक र सकारात्मक सूचना, विचार, तस्वीर र श्रव्यदृश्य सामग्रीमा जोड दिनेछौं’, प्रवन्ध सम्पादक कार्कीले भने । 

प्रधान सम्पादक विष्णु निष्ठुरीले पंचायतकालको मिसन पत्रकारितादेखि अहिलेको व्यवसायिक पत्रकारितासम्मका आरोह अवरोहका साक्षी पत्रकार र शुभचिन्तकहरुबाट फरक शैली र सोचका साथ प्रारम्भ गरिएको दृश्य टिभी डटकमको टिम लोकतन्त्र र विधिको शासनमा प्रतिवध्द रहने स्पष्ट पारे ।

‘छापा माध्यमबाट पत्रकारिता सुरु गरेर साढे तीनदशक लामो अनुभव सँगालेको छरितो टिम हामीसँग छ । जनताको अधिकारको प्रवध्र्दन, रक्षा र हितमा काम गर्नु हाम्रो कर्तव्य हुनेछ  जनतासँग सिधा सम्बन्ध नभएको पत्रकारिता रहर मात्र हुने भएकाले हामी जनताको सेरोफेरोबाट समाचार सामग्री खोज्ने छौं र जनताकै सामु प्रस्तुत गर्ने भरमग्दूर प्रयाश गर्नेछौं’, प्रधान सम्पादक निष्ठुरीले भने ।

दलीय प्रभावबाट अलग रहेर स्वतन्त्र ढंगले समाचार लेख्नसक्ने खुबीको उपयोग गर्दै तथ्यपरक, वस्तुपरक र खोजमूलक समाचार सामग्री पस्कन सके पाठक वर्गमाथि न्याय हुनसक्छ भन्ने विश्वासका साथ क्रियाशील भएको निष्ठुरीले बताए ।

‘दृश्य टिभी डटकम’ मा राजनीतिक खबर र विश्लेषण, विविध क्षेत्रका ताजा खबर, समसामयिक सन्दर्भमा कटाक्ष, मानवीय अभिरुचीका फिचर, आर्थिक, खेलकूद, स्वास्थ्य, रसरंग, साहित्य, सिनेमा, रंगमंच, अद्भूत, प्रवास, आयाम, पर्यावरण, अपराध, कानेखुशीलगायतका स्तम्भमा श्रव्यदृश्य र पठन सामग्री प्रस्तुत गरिनेछ । यसैगरी फोटो कथा र फोटो ग्यालरीमा विभिन्न आकर्षक र अर्थपूर्ण फोटोहरु पाठकले हेर्न पाउनेछन् । 
 

प्रतिक्रिया