पञ्जाबमा यसरी स्थापित भयो आम आदमी पार्टी

पञ्जाब, एजेन्सी। भारतमा आम आदमी पार्टी (आप) वैकल्पिक राजनीतिक दलको रूपमा अगाडि बढेको छ। सामाजिक रूपान्तरणको मुद्दा बोकेर मैदानमा उत्रिएको यो पार्टीले पञ्जाब चुनावमा पनि उत्कृष्ट नतिजा निकालेको छ। 

सामाजिक कार्यकर्ता अन्ना हजारेको भ्रष्टाचार विरोधी अभियानबाट चर्चामा आएका अरबिन्द केजरीवालले गठन गरेको आप पार्टी विगत ७ वर्षदेखि राजधानी दिल्लीको सत्तामा आसिन छ। यसपालि पञ्जाब चुनावमा उसले अभूतपूर्व नतिजा निकाल्दै १ सय १७ सिटमध्ये ९२ मा जित हासिल गरेको छ। 

पञ्जाब मात्र होइन, भारतको राजनीतिक इतिहासमा यसलाई ठूलो जितको रूपमा हेरिएको छ। सन् १९६६ मा हरियाणाबाट छुट्टिएर पञ्जाब बनेयता ५६ वर्ष लामो इतिहासमा यसलाई सबैभन्दा ठूलो जितको रूपमा अथ्र्याइएको छ। सन् १९९२ मा छुट्टै खालिस्तान राज्यको माग उठेको बेला कांग्रेसले एक्लै ८७ सिट जितेको थियो। यतिबेला शिरोमणि अकाली दलले चुनाव बहिस्कार गरेको थियो। सन् १९९७ मा अकाली दल र भारतीय जनता पार्टी (भाजपा) मिलेर संयुक्त रूपमा उठेको चुनावमा ९३ सिट प्राप्त गरेका थिए। तर, अकाली दल एक्लैले ७५ सिट मात्र प्राप्त गरेको थियो। भाजपाले १८ सिट जितेको थियो। 

कुनै बेला अन्य राजनीतिक दलका नेताहरूको खिसी उठाउँदै हिँड्ने भगवन्त मान पञ्जाबको नयाँ मुख्यमन्त्री बन्ने छन्। उनी पेशाले कमेडियन हुन्। भगवन्तले विपक्षी भारतीय कांग्रेस पार्टीका दलबीर गोल्डीलाई ४५ हजारभन्दा बढी मतले पराजित गरेका थिए। 

आप पार्टीको अभूतपूर्व विजयलाई लिएर अहिले भारतमा विभिन्न कोणले विश्लेषण हुन थालेको छ– आखिर यो पार्टीले स्थापनाको छोटो अवधिमा आफूलाई वैकल्पिक राजनीतिक धारको रूपमा कसरी स्थापित गर्यो? 

पञ्जाबको चुनावी अभियानमा पार्टीले विभिन्न चरणमा रणनीति तयार पारेको थियो। जुन अहिले सफल भएको पार्टी अध्यक्ष केजरीवालले बताएका छन्। 

चुनाव सुरु हुनभन्दा अगाडि नै आप पार्टीले पञ्जाबमा आक्रामक प्रचार–प्रसार सुरु गरिसकेको थियो। उसले स्थानीय मतदातालाई राम्रो सरकारी स्कुल र सुविधाजनक अस्पताल उपलब्ध गराउने बाचा गरेको थियो। यस्तै, ४ सय युनिट बिजुली सित्तैमा दिने र १८ वर्ष माथिका सबै महिलालाई प्रति महिना एक हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो। यसका लागि पार्टीले घर–घरमा पुगेर ‘ग्यारेन्टी कार्ड’ नै उपलब्ध गराएको थियो। 

चुनाव अगाडि पार्टीका कार्यकर्ता आपसी भाइचाराका लागि गरिब र दलित बस्ती पुगेका थिए। विवादित अनुहारले चुनावमा ठूलो असर पर्ने निस्कर्षका बीच पार्टीले सावधानीपूर्वक टिकट वितरण गरेको थियो। गाउँमा टिकट उपलब्ध गराउन खासै समस्या नभए पनि शहरी क्षेत्रमा केही गाह्रो पर्ने देखिन्थ्यो। तर, अन्य दलमा राम्रो मानिएका करिब ५० नेतालाई आफ्नो पार्टीमा समावेश गरेर आम पार्टी चुनावमा होम्मियो।  

पञ्जाबमा आप पार्टी सुरुदेखि नै स्थानीय मुद्धामा अडिग देखियो। गाउँमा नेतृत्व परिवर्तनको मुद्दा उठ्न थालेपछि अरविन्द केजरीवालले आफ्नो चुनावी प्रचार अभियानको तरिका परिवर्तन गरेका थिए। उनले सबैसँग एउटा मौका मागेका थिए। यसको ठूलो प्रभाव मालवा क्षेत्रमा पर्यो, जहाँ ६९ सिटमध्ये ६५ मा आप पार्टीका उम्मेदवार विजयी भए।

कांग्रेसले आप पार्टीलाई ‘टुरिष्ट’ भन्दै मानमर्दन गर्न खोजेको थियो। यसले चुनावमा प्रभाव पार्ने निस्कर्ष निकाल्दै केजरीवालले जाट समूदायका भगवन्त मानलाई तुरुन्त मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरे। र, एक मौका भगवन्तलाई दिन स्थानीय मतदातासँग अपील गरे। 

आपको अगाडि सबैभन्दा ठूलो चुनौती पञ्जाबमा चुनाव लडिरहेका २२ किसान संगठनको संयुक्त समाजको मोर्चा थियो। किसान नेता बलबीर राजेवाल अन्तिम समयसम्म आप पार्टीसँग आफ्नो मोर्चाको गठबन्धन नभएको बताइरहेका थिए। केजरीवालले ९० सिटको घोषणा गरिसकेको अवस्थामा बाँकी सिट राजेवालका लागि छोड्ने बताउँदै आइरहेका थिए। यस्तो अवस्थामा किसान नेता बलबीर राजेवालको बयानबाजी पार्टीका लागि घातक सावित हुन सक्थ्यो। तर, गाउँले मतदाताले राजेवालको बयानलाई सत्तालोलुपताको रूपमा हेरे, जसले आप पार्टीको जितमा ठूलो भूमिका निर्वाह गर्याे।  

यसअघि पञ्जाब चुनावमा सबैभन्दा ठूलो जितको ‘फ्याक्टर’ डेरा सच्चा सौदालाई मानिन्थ्यो। धर्मको नाममा यहाँ ठूलो भोट ब्यांक रहेको छ। डेरा सच्चा सौदाले अकाली दल र भाजपालाई समर्थन गरेको थियो। तर, यो ‘फ्याक्टर’ यसपालि काम लागेन। 

यस्तै, दलित ‘फ्याक्टर’ पनि ठूलो मानिन्थ्यो। पञ्जाबमा ३२ प्रतिशत दलित मतदाता छन्। कांग्रेसले यसै कारण चरणजीत चन्नीलाई मुख्यमन्त्रीको अनुहार बनाएको थियो। तर, कांग्रेसको ‘दलित कार्ड’ लाई चुनाव अगाडि नै दलितहरूको बस्तीमा छिरेर आप पार्टीले ध्वस्त पारिसकेको थियो। 

यसपालि जाट–शिख ‘फ्याक्टर’ ले भने राम्रो काम गर्याे। पञ्जाबमा १९ प्रतिशत जाट–शिख समूदाय रहेका छन्। मतदानका क्रममा यसको खासै प्रभाव नदेखिए पनि सत्तामा यसले ठूलो प्रभाव पार्ने गरेको छ। यो कुरा राम्रोसँग बुझेका केजरीवालले भगवन्त मानको रूपमा जुवा खेलेका थिए। 

यसको उल्टो कांग्रेसले जाट–शिख समूदायका नवजोत सिद्धु र सुखजिन्दर रन्धवालाई अविश्वास गर्दै चन्नीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो। जसको लाभ आप पार्टीलाई भयो।
 
पञ्जाबमा ३८ प्रतिशत मत हिन्दहरूको मानिन्छ। केजरीवालले यो कुरालाई राम्रोसँग बुझेका थिए। त्यसैले चुनावअघि प्रधानमन्त्री नरेन्द्र मोदीको पञ्जाब भ्रमणमा भएको कमजोर सुरक्षा व्यवस्थालाई उनले हिन्दुहरूको डरमा लगेर जोडेका थिए। मुख्यमन्त्री चन्नीले यसको उल्टो पञ्जाब र पञ्जाबीसँग जोडेका थिए। भाजपा भने यस मुद्दामा चुपचाप बस्यो। 

चुनावको सबैभन्दा ठूलो ‘टर्निङ प्वाइन्ट’ कांग्रेसले क्याप्टेन अमरिन्दर सिंहलाई अविश्वास गर्दै नवजोत सिद्धुलाई विश्वास गर्नु पनि रह्यो। सिद्धुको सुझावअनुसार कांग्रेसले क्याप्टेन अमरिन्दर सिंहलाई चुनावभन्दा साढे ३ महिनाअघि मुख्यमन्त्रीको पदबाट हटाउनु नै सबैभन्दा ठूलो भूल थियो। उनको स्थानमा चन्नीलाई मुख्यमन्त्री बनाइएको थियो। चुनावको मुखमा कांग्रेसको मुख्यमन्त्री परिवर्तन गर्ने निर्णयले दलित समूदाय खुसी देखिए पनि त्यो मतमा राम्रोसँग रुपान्तरण हुन सकेन। 

प्रतिक्रिया