पाटन प्रिमियर लिगको उपाधि कैलपाललाई

बैतडी । बैतडीको पाटनमा सम्पन्न पहिलो संस्करणको पाटन प्रिमियर लिग(पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्गले हात पारेको छ । फाइनल खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई चार रनले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेको हो । कैलपालको यो लगातार पाचौँ उपाधि हो ।

यसअघि बैतडी र दार्चुलाका विभिन्न प्रतियोगितासमेत जितिसकेको छ । फाइनल भिडन्तमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपाल १८.३ ओभरमा १७० रनमा समेटियो । जसमा मुकेशचन्द र राजु भाटले सर्वाधिक २३/२३ रन बनाए । पाटनका दीपेन्द्र चन्दले ४ विकेट हात पारे ।

श्रीकृष्ण माविको खेलमैदानमा १७१ रनको लक्ष्य पन्छाएको पाटनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६६ रन मात्रै जोड्न सक्यो । पाटनका लागि पञ्कज चन्दले ५५ रनको योगदान गरेपनि हार टार्न नसक्दा उपविजेतामै चित्त बुझायो ।

कैलपालका मुकेश चन्दले ३ विकेट हात पारे । उनी म्यान अफ द फाइनलसमेत चुनिएका स्कोरर किरन चन्दले जानकारी दिए । उपाधिसँगै कैलपालले ५५ हजार ५५५ र पाटनले २२ हजार २२२ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । यस्तै सर्वोत्कृष्ट खेलाडी र बेस्ट ब्याट्सम्यान पाटनका विकास विष्ट भए ।

पाटनकै दीपेन्द्र चन्द बेस्ट बलर भए । सर्वोत्कृष्टले रु तीन हजार ३३३ तथा बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान एक हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र पाए । विजेता तथा उपविजेता टोलीलाई बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दलगायतले पुरस्कार वितरण गरे ।

पाटन क्रिकेट क्लबको आयोजनामा फागुन १३ गतेदेखि सुरु भएको प्रतियोगितामा १५ टोलीको सहभागिता रहेको थियो । आगामी वर्षमा पनि यो प्रतियोगितालाई निरन्तरता दिँदै थप भव्य र सभ्य बनाउने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष पारस विष्टले बताए ।

प्रतिक्रिया