झापा गोल्डकप फुटबलको तयारी पूरा

झापा । झापा गोल्डकप फुटबलको तयारी पूरा भएको छ । शनिबार सुरु हुने गोल्डकपका लागि टिम व्यवस्थापन, मैदान, प्यारापिट निर्माणलगायतका काम सम्पन्न भएको आयोजक झापा गोल्डकप समितिले जनाएको छ ।

पाँचौं संस्करणको गोल्डकप फागुन ३० सम्म चल्नेछ । गोल्डकपका लागि करिब दुई महिना लगाएर मैदान बनाइएको छ । मैदानमा खेलाडीलाई सहयोग पुग्नेगरी घाँस उमारिएको छ ।

करिब १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट निर्माण गरिएको छ ।  गोल्डकपमा यस वर्ष घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, थ्रीस्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी हुनेछन्  ।

गोल्डकपमा दुई विदेश टिम एम. एफसी दार्जिलिङ र आरपी एफसी सिक्किमसहित १० टिम सहभागी हुने गोल्डकपका संरक्षक जलकुमार गुरुङले जानकारी दिए । शनिबार उद्घाटन खेल सातदोबाटो र जावलाखेल युथबीच हुनेछ  । गोल्डकप विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्  ।

गोल्डकपका सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले बताए । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई जनही २१ हजार तथा सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचले ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गर्नेछन् । 
 

प्रतिक्रिया