'एमसीसी पास गर्न हामीलाई कुनै दबाब आएको छैन'

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन हुने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् । डा.महतले एमसीसीको सन्दर्भमा झुटको पर्दाफास भएको र सदनमा पास हुने बताए । उनले राजनीतिक स्वार्थका आधारमा अमेरिकी सेना आउँछ भनेर एमसीसीको गलत प्रचार गरिएको बताए ।

कांग्रेस सबैलाई एक साथ लिएर संसदबाट एमसीसी अनुमोदन गराउन केन्द्रित रहेको पनि बताए । उनले भने,‘ढिलो भए पनि दलहरूको सहमतिमा एमसीसी सदनमा टेबल भयो । अनुमोदनका लागि सबैले सहयोग गर्नुहुन्छ भन्ने प्रधानमन्त्रीको विश्वास छ ।’ महतले चीनले भनेजस्तो कतैबाट एमसीसी परियोजनाका लागि दबाब नआएको बताए ।

उनले, ‘चीनले भनेको जस्तो हामीलाई कुनै दबाब आएको छैन । हामी कसैको दबाबमा पर्दैनौं । हामीलाई कसैको दबाब आएको छैन। अमेरिकी सरकारबाट तपाईंहरूले नै मागेको परियोजना हो, हामीले त्यहीअनुसार सहयोग गर्न खोजेका हौं भन्ने भएको हो। त्यो अस्वाभाविक हैन। यसलाई दबाब भन्न मिल्दैन ।’


 

प्रतिक्रिया