नेपाल–पाकिस्तान टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासको आयोजनामा फागुन १८ गतेदेखि सातौं संस्करणको नेपाल–पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पाकिस्तान दूतावासले सोमबार पत्रकार सम्मेलन गरी १२ टोलीलाई समावेश गर्दै प्रतियोगिता यही फागुन १८ देखि २६ गतेसम्म संचालन गर्ने जानकारी गराएको हो ।

नकआउटका आधारमा खेलाइने प्रतियोगितामा आयोजकले सहभागी १२ टोलीलाई चार समूह विभाजन गरि सञ्चालन गर्ने जनाएको छ । जसअन्तर्गत समूह ए मा पाकिस्तान दूतावास क्रिकेट क्लब, एचके क्रिकेट क्लब र लायन क्रिकेट क्लब रहेका छन् भने समूह बी मा स्टार क्रिकेट एकेडेमी, बाल पार्क एकेडेमी तथा जीएचसीए समावेश छन् ।

यस्तै समूह सी मा आरएस विद्यापीठ एकेडेमी, एन्जल्स हार्ट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर तथा समूह डी मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब तथा नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।

चार समूहका विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिता दुई मुलुकबीचको सम्बन्ध तथा दुई देशका खेलप्रेमीबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने उद्देश्यका साथ सो खेल प्रतियोगिता आयोजना गरिएको नेपालका लागि पाकिस्तानी राजदूत सयद हैदर शाहले बताए ।

यस्तै नेपालको तर्फबाट एकेडेमीको प्रतिनिधित्व गरेको नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले प्रतियोगितामा युवा क्रिकेटले अनुभव संगाल्ने मौका भएको बताए । धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा हुने प्रतियोगिताका विजेताले प्राप्त गर्ने ट्रफी पनि पत्रकार सम्मेलनमा सार्वजनिक पनि गरिएको थियो । नौं दिन सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल पाकिस्तान दूताबासले एचके क्रिकेट क्लबविरुद्ध खेल्ने तालिका रहेको छ ।
 

प्रतिक्रिया