एमसीसीमा नेपालमाथि अमेरिकाको 'जबरजस्तीपूर्ण कूटनीति'को विरोध गर्छौंः चीन

काठमाडौं । चीनले नेपालमा अमेरिकी सहायता परियोजना (एमसीसी)बारे “जबरजस्तीपूर्ण कूटनीति“को आफूहरूले विरोध गर्ने बताएको छ । शुक्रवार बेइजिङ आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले कुनै राजनीतिक शर्तहरूविना नेपाली जनताको इच्छामा सहयोग आधारित हुनुपर्ने बताएका हुन् ।

प्रवक्ता वाङलाई उदृत गर्दै सरकारी मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ, ‘अन्तर्राष्ट्रिय समुदायले नेपालसँग सहकार्य गर्न, उसको अर्थतन्त्रको विकासमा योगदान पुर्याउने र जीवनस्तर उकास्ने कुराको चीन स्वागत गर्छ। तर यी कुराहरू कुनै राजनीतिक शर्तहरूविना नेपाली जनताको इच्छामा आधारित हुनुपर्ने वाङले बताउनुभएको छ।’

प्रवक्ता वाङले मित्रवत् छिमेकी र विकास साझेदारको रूपमा आफ्नो विकासको बाटो आफैँ रोज्ने दिशामा र देशको स्वार्थ एवं जनताको चाहना अनुरूप निर्णय लिने कुरामा चीनले समर्थन गर्ने बताएका छन् । उनले नेपालको विकासका लागि चीनले सहयोग जारी राख्ने पनि बताएका छन् । दुई दिनअघि ग्लोबल टाइम्सले नै अमेरिकाले आफ्नो देशविरुद्ध नेपाललाई प्रयोग गर्न खोजिरहेको आरोप लगाएको थियो ।

यसै साता अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा एमसीसीविरुद्ध मिथ्या सूचना फैलनुमा चीनको हात रहेको आरोप लगाएका थिए । दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन गरी एमसीसी पारित गर्न दबाब दिएको खबर सार्वजनिकसमेत भएको थियो ।

५५ अर्ब नेपाली रुपैयाँ बराबरको उक्त अनुदान सम्झौतालाई संसद्बाट अनुमोदन गरी कार्यान्वयन गर्ने विषयमा नेपालका राजनीतिक दल विभाजित भएका छन् । नेपाली कांग्रेस एमसीसीको पारित गर्नुपर्ने पक्षमा छ भने सत्ता गठबन्धनका माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा विपक्षमा छन् । नेकपा एमाले भने यस विषयमा अहिले मौन बसेको छ ।

प्रतिक्रिया