ए डिभिजन लिगमा एपिएफले मनाङलाई हरायो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गगशालामा भएको खेलमा एपिएफले मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफलाई जित दिलाउन आशिष लामा, मनिकुमार लामा र नवीन लामाले एक/एक गोल गरे ।

यता मनाङका लागि भने अन्जन विष्टले एक गोल फर्काए । सुरुवाती एक गोलको अग्रता उल्टाएर एपिएफले जित निकालेको हो । खेलको ३७ औँ मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । मनाङको एक शून्यको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ४०औँ मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई १–१ को बराबरीमा ल्याए ।

खेलको ८१औँ मिनेटमा मनिले गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ८६औँ मिनेटमा कप्तान नवीनले गोल गर्दै एपिएफलाई ३–१ को जित दिलाए । यस जितसँगै एपिएफले ११ खेलमा १४ अङ्क जोडेको छ । एपिएफ अङ्क तालिकाको आठौँ स्थानमा उक्लिएको छ । हारसँगै मनाङले ११ खेलमा २० अङ्क जोडेको छ । मनाङ अङ्क तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।

प्रतिक्रिया