खर्च थेग्न नसकेपछि गुल्मीमा कोरोना परीक्षण प्रयोगशाला बन्द

तम्घास । गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ । सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द भएको हो । कोरोना माहामारीको सुरुवातमा नै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला सञ्चालन गरेका थिए ।

खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पच्याले जानकारी दिए । विसं २०७७ असोज ७ गतेदेखि सुरु गरिएको प्रयोगशाला एक वर्षमात्रै सञ्चालन भयो । उक्त अवधिमा ७१ लाख खर्च भएको थियो । सङ्घीय सरकारले १५ लाख तथा जिल्लाका स्थानीय तहले ५६ लाख प्रदान गरेका थिए ।

प्रयोगशालाको भौतिक र प्राविधिक व्यवस्थापनमा एक करोड ९७ हजार खर्च भएको अस्पतालले जनाएको छ । प्रयोगशाला बन्द भएसँगै स्वाब भैरहवा पठाउनुपर्ने र रिपोर्ट ढिला आउने हुँदा जिल्लामा पिसिआर परीक्षण गर्न सकिएको छैन ।

कोभिड–१९ का सम्भावित बिरामीको जिल्ला अस्पतालमै एन्टिजेन परीक्षण गरिँदै आएको छ । ४० लाख जुटाउनसके प्रयोगशाला नियमितरुपमा प्रयोगमा ल्याउन सकिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया