'आपसी समझदारीमा सीमा समस्या समाधान गर्न भारत सधैं तयार छ'

काठमाडौं । भारतले द्वीपक्षीय सम्बन्धको भावनाका आधारमा सीमा सम्बन्धी विषय सम्बोधन गर्न सकिने बताएको छ । शनिबार नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरी भारत–नेपाल सीमाका सम्बन्धमा भारत सरकारको अडान सर्वविदित, यथावत र स्पष्ट रहेको बताएको हो । दूतावासले यस बिषयमा नेपाल सरकारलाई जानकारी गराइसकेकोसमेत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘आपसी संवादका लागि स्थापित अन्तर सरकारी संयन्त्रहरु नै उपयुक्त छन् भन्ने हाम्रो धारणा छ । पारस्परिक रूपमा सहमति भएका सीमा समस्याहरू जुन बाँकी छन् त्यसलाई आपसी समझदारीमा समाधान गर्न भारत आफ्नो पुरानो र हितैषी सम्बन्ध भएको नेपालका लागि सधै तयार छ ।’

लिपुलेक, कालापनी क्षेत्रमा भारतले बाटो बनाइरहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाईपछि नेपालमा विरोध भएपछि भारतीय दूतावासले यस्तो बताएको हो । नेपाली भूमिमा सडक विस्तारलाई निरन्तरता दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका राजनीतिक दल तथा विभिन्न संघ संगठनले भारतलाई नेपालको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गर्दै बलमिच्याइँ नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया