आरसीबीको ऐतिहासिक सफलता, लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

भारत । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले आईपीएल २०२६ को उपाधि जित्दै लगातार दोस्रो पटक च्याम्पियन बन्ने ऐतिहासिक सफलता हासिल गरेको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार सम्पन्न फाइनलमा आरसीबीले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै ट्रफी आफ्नो नाममा पार्यो। पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो। गुजरातका लागि वासिङ्टन सुन्दरले अविजित ५० रनको उत्कृष्ट पारी खेले भने निशान्त सिन्धुले २० र जोस बटलरले १९ रन जोडे। आरसीबीका बलरहरू मध्ये रसिख सलामले ३ विकेट लिएर चम्किए। यस्तै जोश हेजलउड र भुवनेश्वर कुमाले २–२ तथा क्रुनाल पाण्ड्याले १ विकेट लिए।

१५६ रनको लक्ष्य पछ्याएको आरसीबीले १८ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। जितका नायक बने विराट कोहली, जसले ४२ बलमा ९ चौका र ३ छक्कासहित अविजित ७५ रनको शानदार पारी खेले। भेङ्कटेश अय्यरले ३२ रनको महत्वपूर्ण योगदान दिए। गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कागिसो र बाडा र अर्शद खानले समान १–१ विकेट लिए। आरसीबीले यसअघि पहिलो क्वालिफायरमा पनि गुजरातलाई हराएको थियो। लिग चरणमा शीर्ष स्थानमा रहेर प्लेअफ पुगेको आरसीबीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई फाइनलसम्म निरन्तरता दियो।

गत संस्करणमा पन्जाब किङ्सलाई हराएर पहिलो पटक आईपीएल जितेको आरसीबीले यसपटक उपाधि रक्षा गर्दै इतिहास रचेको छ। लगातार दुई पटक आईपीएल उपाधि जित्ने आरसीबी तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किङ्स (२०१०–११) र मुम्बई इन्डियन्स (२०१९–२०) ले मात्र यस्तो उपलब्धि हासिल गरेका थिए।

आईपीएल इतिहासमा सर्वाधिक ५–५ पटक उपाधि जित्ने टोली भने चेन्नई र मुम्बई नै छन्। कोलकाता नाइट राइडर्सले ३ पटक तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरातले १–१ पटक उपाधि जितेका छन्। एजेन्सी

प्रतिक्रिया