आईपीएल २०२६ फाइनल : अहमदाबादमा आज महाभिडन्त, उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

अहमदाबाद । विश्व क्रिकेटकै सबैभन्दा चर्चित र प्रतिष्ठित फ्रेन्चाइज लिग आईपीएल २०२६ को फाइनल खेल आज हुँदैछ। अहमदाबादको भव्य नरेन्द्र मोदी स्टेडियममा हुने यस सिजनको अन्तिम तथा सबैभन्दा ठूलो खेलमा साविक विजेता (डिफेन्डिङ च्याम्पियन) रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र घरेलु टोली गुजरात टाइटन्स (जीटी) बीच ऐतिहासिक उपाधि भिडन्त हुन लागेको हो। यस महाभिडन्तलाई लिएर विश्वभरका क्रिकेट प्रशंसकहरूको प्रतीक्षा र उत्साह उत्कर्षमा पुगेको छ।

हेड–टू–हेड रेकर्ड : आरसीबीको झिनो अग्रता

आईपीएलको इतिहासमा यी दुई टोलीहरू बीचको प्रतिस्पर्धा सधैँ निकै घनिष्ठ र रोमान्चक हुने गरेको छ। हालसम्म यी दुई टोली ९ पटक आमनेसामने भएका छन्, जसमा आरसीबीले ५ खेल जितेको छ भने गुजरात टाइटन्सले ४ खेलमा बाजी मारेको छ। ५–४ को यो तथ्याङ्कले दुवै टोली कति बलिया छन् भन्ने प्रस्ट पार्छ। आज हुने १० औँ खेलले सिधै आईपीएल २०२६ को ट्रफी कसको हातमा जान्छ भन्ने फैसला गर्नेछ।

एउटै सिजनमा चौथो पटक टक्कर : यसअघिका ३ खेल कस्ता थिए ?

यस सिजनमा दुवै टोली चौथो पटक मैदान उत्रिँदै छन्। यसअघि भएका तीन भेटमा दुवै टोलीले एकअर्कालाई कडा टक्कर दिएका छन् । पहिलो खेल (बेंगलुरु) : गुजरातले साई सुदर्शनको उत्कृष्ट शतकको मद्दतले २०५ रनको विशाल योगफल खडा गरे पनि आरसीबीले विराट कोहलीको ८१ र देवदत्त पडिकलको ५५ रनको योगदानमा ७ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो।

दोस्रो खेल (अहमदाबाद)  : गुजरातले सानदार पुनरागमन गर्दै आरसीबीलाई १५५ रनमै अलआउट गर्‍यो र १५.५ ओभरमा मात्र ४ विकेट गुमाएर खेल सहजै जित्यो।

तेस्रो खेल – (क्वालिफायर १ –धर्मशाला) : आरसीबीका कप्तान रजत पाटीदारले ३३ बलमा ९३ रनको विष्फोटक इनिङ खेलेपछि आरसीबीले २५४ रनको ऐतिहासिक स्कोर बनायो। जवाफमा गुजरात १६२ रनमा समेटिएपछि आरसीबी ९२ रनको विशाल अन्तरले विजयी हुँदै सिधै फाइनल पुगेको थियो।

आजको फाइनल खेलमा दुवै टोलीका यी चार दिग्गज खेलाडीहरूमाथि सबैको नजर रहनेछ :

विराट कोहली – गुजरात टाइटन्स विरुद्ध सधैँ आक्रामक देखिने कोहलीले उनीहरू विरुद्ध ६० भन्दा बढीको औसतमा कुल ४६० रन बनाइसकेका छन्, जुन कुनै पनि आईपीएल टोली विरुद्ध उनको उत्कृष्ट प्रदर्शन हो।

रजत पाटीदार – आरसीबीका कप्तान पाटीदार हाल अविश्वसनीय फर्ममा छन्। क्वालिफायर १ मा खेलिएको ९३ रनको ऐतिहासिक इनिङपछि उनी आजको खेलमा पनि मुख्य आकर्षण हुनेछन्।

शुभमन गिल – गुजरातका कप्तान तथा रन–मेसिन गिलले यस सिजनका १५ खेलमा ७२२ रन बनाउँदै आफ्नो टोलीको ब्याटिङलाई बलियो नेतृत्व दिइरहेका छन्।

मोहम्मद सिराज – गुजरातका यी तीव्र गतिका बलर आज आरसीबीका लागि सबैभन्दा ठूलो चुनौती बन्न सक्छन्। यस सिजन १८ विकेट लिइसकेका सिराज लामो समय आरसीबीकै हिस्सा रहेकाले विपक्षी ब्याटिङ लाइन–अपको कमजोरीसँग राम्ररी परिचित छन्।

एकातिर आरसीबी लगातार दोस्रो पटक उपाधि जितेर आफ्नो साम्राज्य कायम राख्न चाहन्छ भने, अर्कोतिर गुजरात टाइटन्स क्वालिफायर–१ को बदला लिँदै आफ्नै घरेलु मैदान र दर्शकमाझ ट्रफी उचाल्ने दाउमा छ। अहमदाबादको पिच र दर्शकको उपस्थितिले खेललाई अझ बढी रोमाञ्चक बनाउने निश्चित छ। एजेन्सी

प्रतिक्रिया