नयाँ दिल्ली । आईपीएल २०२६ को एलिमिनेटर खेलमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स आमनेसामने हुँदैछन्। खेल नयाँ चण्डीगढको महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। यस खेलको हार्ने टोली सिजनबाट बाहिरिनेछ भने विजेताले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।
प्लेअफमा सनराइजर्स हैदराबादको इतिहास मिश्रित रहेको छ। यो टोली आठौं पटक अन्तिम चारमा पुगेको हो। अहिलेसम्म एसआरएचले १४ प्लेअफ खेल खेलेकोमा ६ जित र ८ हार बेहोरेको छ। टोली अन्तिम पटक २०२४ मा फाइनलसम्म पुगे पनि उपाधि जित्न असफल भएको थियो। सनराइजर्ससँग आईपीएलमा एउटा विशेष रेकर्ड पनि छ। एलिमिनेटर खेल्दै उपाधि जित्ने टोली केवल एक पटक बनेको छ, जुन उपलब्धि २०१६ मा डेभिड वार्नरको कप्तानीमा हैदराबादले हासिल गरेको थियो। त्यस सिजनमा एसआरएचले लगातार तीन प्लेअफ खेल जित्दै ट्रफी उचालेको थियो।
यता राजस्थान रोयल्स सातौं पटक प्लेअफमा पुगेको छ। पहिलो आईपीएल सिजनको च्याम्पियन आरआरले हालसम्म ११ प्लेअफ खेल खेलेकोमा ५ जित र ६ हार बेहोरेको छ। टोली २०२४ मा दोस्रो क्वालिफायरसम्म पुगेको थियो, जहाँ हैदराबादसँग पराजित भएको थियो। यी दुई टोलीबीचको प्लेअफ इतिहास पनि रोचक छ। २०१३ को एलिमिनेटरमा राजस्थानले जित निकालेको थियो भने २०२४ को दोस्रो क्वालिफायरमा हैदराबाद विजयी बनेको थियो। आजको खेलमा दुवै टोली पुराना हिसाब बराबरी गर्ने लक्ष्यसहित मैदान उत्रिनेछन्। एजेन्सी
प्रतिक्रिया