आईपीएल प्लेअफमा आजको महासंग्राम : फाइनल पुग्ने पहिलो टोली को ?

भारत । आईपीएल २०२६ को सबैभन्दा रोमाञ्चक नकआउट हप्ता आज मंगलबारदेखि सुरु हुँदैछ। अंक तालिकाका शीर्ष दुई टोली रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट संघ रंगशालामा क्वालिफायर–१ अन्तर्गत आमनेसामने हुँदैछन्।

यस खेलको समीकरण निकै स्पष्ट छ – आजको विजेताले सिधै आईपीएल २०२६ को फाइनलमा स्थान सुरक्षित गर्नेछ। हार्ने टोली भने प्रतियोगिताबाट बाहिरिने छैन, बरु मे २९ मा हुने क्वालिफायर–२ मा अर्को अवसर पाउनेछ। त्यहाँ उसले सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीच हुने एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

डिफेन्डिङ च्याम्पियन आरसीबीका लागि भने चोटपटक ठूलो चिन्ताको विषय बनेको छ। इङ्ग्ल्यान्डका अलराउन्डर जैकब बेथेल औंलाको चोटका कारण सम्पूर्ण प्रतियोगिताबाट बाहिरिएका छन्। उनी फिल साल्टको विकल्पका रूपमा टोलीमा थिए। अर्का खेलाडी जर्ज सालाजार पनि चोटकै कारण मैदान बाहिर छन्। यस्तै, विकेटकिपर ब्याटरफिल साल्ट आजको महत्वपूर्ण खेलमा खेल्ने वा नखेल्ने विषय अझै अनिश्चित छ।

यता गुजरात टाइटन्सको अवस्था भने निकै सन्तुलित देखिएको छ। कप्तान शुभमन गिलसँग पूर्ण रूपमा फिट टोली उपलब्ध छ। सबै प्रमुख खेलाडी फिट रहेकाले टाइटन्स आजको निर्णायक खेलमा आफ्नो बलियो संयोजनसहित मैदान उत्रने तयारीमा छ, जसले टोलीको आत्मविश्वास अझ बढाएको छ। एजेन्सी

प्रतिक्रिया