दक्षिण-पश्चिम चीनमा भूकम्प: हजारौँ विस्थापित, भवनहरू भत्किए

बेइजिङ। चीनको दक्षिण-पश्चिम क्षेत्र ग्वाङ्सीमा आज सोमबार बिहान गएको ५.२ म्याग्निच्युडको भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ भने लिउझाउ सहरका ७ हजार भन्दा बढी मानिसहरू सुरक्षित स्थानमा विस्थापित हुन बाध्य भएका छन्। हाल त्यहाँ खोजी तथा उद्धार कार्य जारी छ र अधिकारीहरूले यातायात सेवामा अवरोध आउन सक्ने चेतावनी दिएका छन्।

भूकम्पमा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता छन्। चार जनालाई अस्पताल पठाइएको छ, यद्यपि उनीहरू कसैको पनि अवस्था ज्यान जाने खालको गम्भीर नरहेको सरकारी सञ्चारमाध्यम सिसिटीभी र राज्य समाचार एजेन्सी सिन्ह्वाले जनाएका छन्।

सरकारी प्रसारक सिसिटीभीले मृतकहरू एक दम्पती (६३ वर्षीय पुरुष र ५३ वर्षीया महिला) भएको पहिचान गरेको छ र बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको बताएको छ।

सोमबार बिहानै १३ वटा भवनहरू भत्किएको सरकारी प्रसारक सिसिटीभीले रिपोर्ट गरेको छ।

सिसिटीभीद्वारा सार्वजनिक गरिएका भिडियोहरूमा मानिसहरू गगनचुम्बी भवनहरूबाट भागिरहेको र भत्किएका घरहरू नजिकै भग्नावशेषको थुप्रो लागेको देखाइएको थियो।

उद्धारकर्मीहरू भग्नावशेषको बीचबाट अघि बढिरहेको र उनीहरूका कुकुरहरूले जीवित मानिसहरूको सुइँको पाउने प्रयास गरिरहेको देखिएका थिए।

हेलमेट लगाएका आपत्कालीन कार्यकर्ताहरूले भग्नावशेष हटाउन अर्थमुभर (डोजर जस्ता उपकरण) प्रयोग गरिरहेको पनि देखिएको थियो।

रेलवे अधिकारीहरूले रेल मार्गको पूर्वाधारको अवस्था जाँच गर्ने क्रममा यातायात सेवामा अवरोध हुन सक्ने संकेत गरेका छन्।

प्रभावित क्षेत्रमा सञ्चार र विद्युत लाइन, पानी र ग्याँस आपूर्ति, तथा यातायात सामान्य रूपमा सञ्चालन भइरहेको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

प्रतिक्रिया