भारतीय कुस्ती खेलाडी विनेश फोगटद्वारा कुस्ती महासंघका पूर्व अध्यक्ष सिंहमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौं। भारतकी चर्चित कुस्ती खेलाडी विनेश फोगटले आफू भारतीय कुस्ती महासंघका पूर्व अध्यक्ष बृजभूषण शरण सिंहद्वारा यौन दुर्व्यवहारमा परेका पीडितहरूमध्ये एक भएको र उनीविरुद्ध उजुरी दिने ६ जना कुस्ती खेलाडीमध्ये आफू पनि रहेको दाबी गरेकी छिन्। उनले आइतबार यो कुरा खुलासा गरेकी हुन्।

करिब २० महिनापछि कुस्तीको मैदानमा फर्कने तयारीमा रहेकी यी खेलाडीले अदालतमा मुद्दा चलिरहेकै बेला यो कुरा स्वीकार गर्न आफू बाध्य भएको बताइन्। उनका अनुसार, डब्लुएफआईले बृजभूषणको गढ मानिने उत्तर प्रदेशको गोन्डामा एक महत्त्वपूर्ण र्‍याङ्किङ प्रतियोगिता आयोजना गर्ने निर्णय गरेपछि उनले यो मुख खोल्नुपरेको हो। विनेशले त्यहाँ प्रतिस्पर्धा गर्न धेरै मानसिक दबाब हुने बताउँदै सरकार केवल दर्शक बनेको आरोप लगाइन्। उनले प्रतियोगिताका क्रममा आफूलाई केही भएमा सरकार जिम्मेवार हुने चेतावनी समेत दिइन्।

आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा विनेशले भनिन्- 'खेलाडीहरूलाई मद्दत गर्न कोही अगाडि आइरहेका छैनन्। सरकारले बृजभूषणलाई खुल्ला छोडिदिएको जस्तो देखिन्छ- तिमी जे मन लाग्छ त्यही गर, चाहे महिला खेलाडीहरूसँग होस् वा कुस्ती जगतसँग, हामी तिम्रो साथमा छौँ भन्ने सन्देश दिइएको छ।'

विनेशको भनाइको जवाफ दिँदै डब्लुएफआईका अध्यक्ष सञ्जय सिंहले उनको सुरक्षाको व्यक्तिगत ग्यारेन्टी दिने बताएका छन्। तर उनले थपे कि कांग्रेस विधायक समेत रहेकी विनेशले यस मुद्दालाई राजनीतिकरण गर्नु हुँदैन। 'म विनेशको सुरक्षाको व्यक्तिगत ग्यारेन्टी दिइरहेको छु। डब्लुएफआई अध्यक्षको हैसियतमा, म उनलाई र उनको टोलीलाई गोन्डामा पूर्ण रूपमा सुरक्षित रहने वाचा गर्दछु। कृपया आउनुहोस् र मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुहोस्,' उनले भने। 'अर्कोतर्फ, यदि उनी राजनीति गर्न चाहन्छिन् भने त्यो उनको रोजाइ हो। साथै, मुद्दा अदालतमा छ, त्यसैले म त्यसमा टिप्पणी गर्दिनँ।'

पेरिस ओलम्पिकको पीडापछि खेलबाट टाढिएकी विनेशले 'नेशनल ओपन र्‍याङ्किङ' प्रतियोगितामार्फत पुनरागमनको तयारी गरिरहेकी थिइन्। यो प्रतियोगिता कुस्ती खेलाडीहरूका लागि एसियाली खेलकुदको छनोट ट्रायलमा सहभागी हुने अन्तिम अवसर हो।
 
प्रतियोगिता र विवादको पृष्ठभूमि

यो र्‍याङ्किङ प्रतियोगिता मे १० देखि १२ सम्म उत्तर प्रदेशको गोन्डास्थित नन्दिनीनगर महाविद्यालयमा हुँदैछ। बृजभूषण यस महाविद्यालयका संस्थापक हुन् र गोन्डाका पूर्व सांसद पनि हुन्। सन् २०२३ मा देशका शीर्ष महिला कुस्ती खेलाडीहरूले उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि उनी दिल्लीको एक अदालतमा सुनुवाइको सामना गरिरहेका छन्। विनेश, ओलम्पिक पदक विजेता बजरंग पुनिया र साक्षी मलिकसँगै ती आन्दोलनहरूको अग्रपङ्क्तिमा थिइन्।

विनेशले गोन्डामा निष्पक्ष प्रतिस्पर्धा हुनु 'असम्भव' रहेको बताउँदै तौल लिने प्रक्रिया र खेलको नतिजामा चलखेल हुन सक्ने चिन्ता व्यक्त गरिन्। उनले भनिन्, 'जहाँ बृजभूषणको घर छ र उनको निजी कलेज छ, त्यहाँ कडा परिश्रम गर्ने खेलाडीले न्याय पाउने सम्भावना छैन। कुन रेफ्रीले कुन खेल खेलाउने, कसलाई कति अंक दिने र कसलाई जिताउने भन्ने सबै कुरा बृजभूषण र उनका मान्छेहरूको नियन्त्रणमा हुनेछ।'

यस आरोपको खण्डन गर्दै सञ्जाल सिंहले भने, 'प्रतियोगिताका लागि करिब १२०० प्रवेश दर्ता भएका छन्, जसमध्ये ८०० हरियाणाका हुन्। अरु कसैलाई आपत्ति छैन। यदि विनेशलाई रेफ्रीप्रति शंका छ भने, म आश्वस्त पार्न चाहन्छु कि सबै रेफ्रीहरू डब्लुएफआई र भारतीय ओलम्पिक संघको प्यानलबाट छानिनेछन्।'

'हामीले न्यायका लागि आवाज उठायौ'

विनेशले भनिन्, 'तीन वर्षअघि हामीले यौन दुर्व्यवहार विरुद्ध आवाज उठाएका थियौँ। ६ जना महिला खेलाडीले उजुरी दिएका थियौँ र अहिले त्यसको सुनुवाइ भइरहेको छ। सर्वोच्च अदालतको निर्देशिका अनुसार पीडितको पहिचान खुलाउनु हुँदैन, तर आज म यो कुरा साझा गर्न बाध्य महसुस गर्दैछु-म ती ६ पीडितमध्ये एक हुँ।'

उनले थपिन्, 'उसकै गृह नगरमा, उसकै कलेजमा गएर खेल्नु मेरो लागि कति गाह्रो छ, तपाईँ कल्पना गर्न सक्नुहुन्छ। जहाँ सबैजना उसैसँग जोडिएका छन्। म देशका लागि फेरि पदक जित्न चाहन्छु र हाम्रो झण्डाको सम्मान कायम राख्न चाहन्छु।'

विनेशले भिडियोको अन्त्यमा भनिन् कि यदि उनलाई वा उनको टोलीलाई केही चोट पुर्याइयो भने त्यसको जिम्मेवार सरकार हुनेछ। 'बृजभूषण अझै पनि कुस्ती संघमा आफ्नो पकड रहेको दाबी गर्छन्। उनका मान्छेहरूले संघ चलाइरहेका छन्। तैपनि खेलकुद मन्त्रालय वा सरकारले कुनै कदम चालेको छैन। म कुनै विशेष सुविधा चाहन्न, मात्र यति चाहन्छु कि खेलको निर्णय खेलाडीको मेहनतको आधारमा होस्, कुनै गुण्डाको इसारामा होइन।' (इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारबाट)

प्रतिक्रिया