ताप्ली पोखरी जहाँ चराले पात टिपेर दिनहुँ सफा गर्छ

उदयपुर। ताप्लीको चौर राम्रो विचैमा पोखरी, डुलिरहुँ जस्तो लाग्छ कामै नगरी। यो गितमा भनेजस्तै साँच्चै नै रमाइलो छ ताप्ली पोखरी। वरिपरि घना जङ्गल घेरिएको माथि समथर डाँडाकाँडा र विचमा रहेको टुप्लुक्क ताप्ली पोखरीले गर्दा स्वर्गकै आभास दिलाउँछ। यो क्षेत्र उदयपुर जिल्लाको ताप्लीगाउँपालिका वडानम्बर–२ ताप्लीमा अवस्थित छ। उदयपुरको कटारीदेखि करिव ६५ किलोमिटर उतरपूर्वमा पर्दछ। यो पोखरी समुद्री सतहबाट करिब १,८०० मिटर देखि २,००० मिटर सम्मको उचाइमा रहेको अनुमान गरिन्छ। 

दुर्गम क्षेत्रमा भए पनि यो पोखरीकोे प्राकृतिक बनावट चित्ताकर्षक छ, ७५ मिटर चौडाइ र तीन सय मिटर लम्बाइ रहेका छ। पोखरी करिब पाँच कट्ठा क्षेत्रफलमा फैलिएको छ। ताप्लीपोखरीको इतिहास केहि ऐतिहासिक तथ्यहरू, धार्मिक विश्वास र किंवदन्तीहरूमा आधारित छ। यस पोखरीको उत्पत्तिका बारेमा स्थानीय स्तरमा विभिन्न रोचक कथाहरू प्रचलित छन्। सत्ययुगमा यहाँ पाँचवटा कुवा रहेको र पानी भर्न आएका पाँचवटी कन्या अलप भएपछि पोखरीमा परिणत भएको किंवदन्ती छ। 

यस पोखरीमा सफा मौसममा पुग्दा पोखरीको सङ्लो पानीमा नीलो आकाशको छाया ज्यादै लोभलाग्दो देखिन्छ। यस पोखरीमा माछा भने पाइँदैनन्। ताप्ली क्षेत्रमा विशेष गरी गिरी, बुढाथोकी, श्रेष्ठ, मगर, तामाङ, राई र अन्य जातजातिको बसोबास रहेको छ। यसक्षेत्रमा उदयपुरको सदरमुकाम गाईघाट वा पश्चिमी व्यापारिक केन्द्र कटारीबाट सडक मार्ग हुँदै ताप्ली पुग्न सकिन्छ।

ताप्ली पोखरी एक सुन्दर र धार्मिक महत्व बोकेको पर्यटकीय स्थल हो। यो स्थान प्राकृतिक सुन्दरता, शान्त वातावरण र महाभारत पर्वत शृङ्खलाको काखमा रहेकाले आन्तरिक पर्यटकहरूको रोजाइमा पर्ने गर्दछ। यस पोखरीको आफ्नै प्राकृतिक तथा भौगोलिक विशेषता। यो पोखरी पहाडी भेगमा अवस्थित छ, जसले गर्दा यहाँबाट वरपरका हरियाली डाँडाकाँडा र मौसम सफा भएको बेला उत्तरका हिमशृङ्खलाहरू समेत देख्न सकिन्छ। पोखरी क्षेत्रबाट विश्वको सर्वोच शिखर सगरमाथासमेत छर्लंग हेर्न सकिन्छ।

यहाँबाट उत्तरतर्फ सगरमाथा र ल्होत्से जस्ता हिमशृङ्खलाहरूको स्पष्ट दृश्य देख्न सकिन्छ। दक्षिणतर्फ उदयपुरका भित्री मधेस र तराईका केही भागहरूको अवलोकन गर्न सकिन्छ। यहाँको हावापानी शीतल र स्फूर्तिदायक हुन्छ। पोखरीको वरपर घना जङ्गल र चउर रहेकाले यहाँ वनभोज र पदयात्राका लागि उपयुक्त मानिन्छ।

स्थानीय बासिन्दाहरूले यस पोखरीलाई पवित्र मान्छन् र यहाँ विशेष गरी नयाँ वर्ष र तिजमा ठूलो मेला लाग्ने गर्दछ। गाउँको जनजीवन र पहाडी बाटोको अनुभव लिँदै यहाँसम्म पुग्नु आफैमा एक रोमाञ्चक यात्रा हो। यहाँको प्राकृतिक दृश्य र पोखरीको मनोरम दृश्य क्यामेरामा कैद गर्न पर्यटकहरू लालयित हुन्छन्।

स्थानीय बासिन्दाहरू ताप्ली पोखरीलाई पञ्चकन्यामाई देवीको पवित्र निवास मान्दछन्। पोखरीको किनारमा देवीको मन्दिर रहेको छ। यहाँ पूजाआजा गर्दा शक्ति प्राप्त हुने र दैवीय कृपा रहने जनविश्वास छ। ताप्लीपोखरीसँग जोडिएको एउटा निकै चर्चामा रहने धार्मिक किंवदन्ती छ। भनिन्छ, पोखरीको वरपर प्रशस्त रुखहरू भए पनि पोखरीको पानीमा एउटा पनि पात भेटिँदैन। यदि रुखबाट पात पोखरीमा झरिहालेमा चराहरूले आफ्नो ठुँगोले टिपेर बाहिर फाल्छन् र पोखरीलाई सधैं सफा राख्छन् भन्ने जनविश्वास छ। 

यसलाई देवीको चमत्कारको रूपमा हेरिन्छ। पहाडी क्षेत्र भएकाले पहिले–पहिले लामो समयसम्म खडेरी पर्दा स्थानीय मानिसहरू ताप्ली पोखरीमा आएर 'सिमे–भूमे' र देवीको विशेष पूजा गर्ने गर्थे। यसो गर्दा तत्कालै वर्षा हुन्छ भन्ने पुरानो धार्मिक अनुभव र विश्वास अझै पनि कायमै छ। यहाँ विशेष गरी हिन्दु धर्मावलम्बीहरूले पूजा गर्छन्। रोचक प्रसँग त के छ भने यहाँ बलिदिन मिल्दैन।

यहाँ विशेष पूजाआजा मात्र गरिन्छ। यहाँ जसले बलिदिन्छ उसकै मृत्यु हुन्छ भन्ने धार्मिक विश्वास छ। पोखरीलाई अत्यन्तै पवित्र मानिने भएकाले यहाँ जाँदा जुत्ता–चप्पल बाहिरै खोल्ने, पोखरीभित्र फोहोर नगर्ने र मदिरा सेवन नगर्ने जस्ता कडा नियमहरू स्थानीय स्तरमा पालना गरिन्छ।

ताप्ली पोखरी कुनै बेसी वा उपत्यकामा नभई पहाडको चुचुरो नजिकैको समथर भू–भागमा रहेको छ। यस्तो उचाइमा प्राकृतिक पोखरी हुनु यसको मुख्य भौगोलिक विशेषता हो। पोखरीको वरपरको क्षेत्र वनजङ्गलले ढाकिएको छ, जसले गर्दा पोखरीमा पानीको स्रोत कायमै रहन मद्दत पुग्छ। यहाँको हावापानी समशीतोष्ण प्रकारको छ। गर्मी महिनामा मौसम निकै शीतल र सुखद हुन्छ भने हिउँदमा निकै चिसो हुन्छ। यहाँको उचाइ र माटोको प्रकार अनुसार परम्परागत र नगदे दुवै प्रकारका बालीहरू फल्ने गर्दछन्।

ताप्ली क्षेत्रमा मुख्य रूपमा मकै यहाँको मुख्य खाद्यान्न बाली हो। पहाडी ढिस्को र बारीहरूमा मकैको खेती व्यापक रूपमा गरिन्छ। कोदो यहाँको दोस्रो महत्वपूर्ण बाली हो। पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले र सुख्खा ठाउँमा पनि फल्ने हुनाले यहाँ कोदो प्रशस्त उत्पादन हुन्छ।

पोखरीभन्दा केही तल्लो भागमा रहेका बेसी र सिँचाइ सुविधा पुगेका फाँटहरूमा धान खेती गरिन्छ। यद्यपि, ताप्लीपोखरीको लेकाली भागमा भने धान कमै फल्छ। हिउँदको समयमा यहाँ गहुँ र जौको खेती गरिन्छ। यहाँको माटो सिमी र भटमासका लागि निकै उपयुक्त मानिन्छ। हिउँदमा तेलका लागि तोरीको खेती गर्ने गरिन्छ।

ताप्ली पोखरीको आकार प्रायः गोलाकार छ, जसले यसलाई निकै आकर्षक देखाउँछ। यो क्षेत्र कोलाहलबाट मुक्त र अत्यन्तै शान्त छ। यहाँको हावापानी स्वास्थ्यका लागि लाभदायक मानिन्छ। पोखरीको आसपासमा विभिन्न प्रजातिका चराचुरुङ्गी, गुराँस र जडीबुटीहरू पाइन्छ। पोखरीको किनारमा रहेको धुपी र काभ्राले यहाँको सुन्दरतामा थप निखार ल्याउँछ। यहाँ सल्ला, कटुस, र चिलाउने जस्ता रुखहरूका साथै बसन्त ऋतुमा लालीगुराँस फुलेर वातावरण थप रंगीन बन्छ। चराचुरुङ्गीस् मानवीय कोलाहल कम भएकाले यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको चिरबिर आवाज सुन्न सकिन्छ, जसले प्रकृति प्रेमीहरूलाई आनन्द प्रदान गर्छ। 

मनसुनको समयमा यहाँ बादल र कुहिरोको लुकामारी चल्छ, जसले गर्दा पोखरीको वातावरण रहस्यमयी र सुन्दर देखिन्छ। ताप्लीपोखरीको वातावरण प्रकृति र अध्यात्मको यस्तो संगम हो, जहाँ पुग्ने जोकोहीले पनि आधुनिक जीवनको तनाव बिर्सेर ताजापन महसुस गर्दछ।

ताप्लीपोखरीको विकासका लागि हालका वर्षहरूमा पर्यटन पूर्वाधार जस्तै– घेराबेरा र रेलिङ निर्माणका कामहरू पनि भइरहेका छन्, जसले यसलाई अझ व्यवस्थित र सुरक्षित बनाउँदै लगेको छ। यसक्षेत्रमा खानेपानीको चरम अभाव छ। सुख्खा समयमा यो क्षेत्रको खानेपानीको मुहान नै सुक्नेसम्मको समस्या छ। पछिल्लो समय खानेपानी क्षेत्रमा पनि केहि गतिविधि त भैराखेको छ तर समयमै सम्पन्न हुने वा नहुने भन्ने कुराले स्थानीयलाई निकै चिन्तित बनाएको छ। यहाँको अर्को प्रमुख समस्या भनेको सडक हो।

हिउँदको समयमा धुलाम्मे र वर्षा लागेसँगै हिलो र पहिरो जाने समस्याले गर्दा स्थानीयहरुले निकै दुखित बन्ने गरेका छन्। त्यसैले गर्दा यो क्षेत्रमा विशेष गरि सङ्घिय सरकारको नै विशेष ध्यानजान जरुरी छ। त्यस्तै यसक्षेत्रबाट खानेपानीको समस्या, स्वास्थ्यको पहुँच र शिक्षाको लागि मानिसहरु दिनानुदिन बसाइसराईमा वृद्धि हुँदै गएको छ।

प्रतिक्रिया