काठमाडौं। बङ्गलादेश र चीनका हालैका गतिविधि तथा अभिव्यक्तिहरूलाई मध्यनजर गर्दै भारतले आफ्नो चिकननेक (सिलिगुडी कोरिडोर) को सुरक्षाका लागि धेरै ठूला परियोजनाहरूलाई अनुमति दिएको छ। यस अन्तर्गत देशको पहिलो अन्डरवाटर ट्विन ट्यूब रोड-कम-रेल टनल (पानीमुनिको सडक र रेल सुरुङ) निर्माण गरिँदैछ। यसअघि चिकननेकसम्म भूमिगत रेल मार्ग बिछ्याउने योजनालाई पनि स्वीकृति मिलिसकेको छ। यसका साथै अरुणाचल प्रदेश, मिजोरम र असममा पनि सैन्य सुदृढीकरणका योजनाहरू पारित भएका छन्।
भारतका लागि चिकननेक किन महत्त्वपूर्ण छ?
रणनीतिक अवस्थिति: २२ किलोमिटर चौडाइ भएको यो कोरिडोर नेपाल, भुटान र बङ्गलादेशले घेरिएको छ। यो चीनको तिब्बती क्षेत्रको चुम्बी उपत्यका नजिकै अवस्थित छ।
उत्तर-पूर्वको ढोका: यो इलाका पश्चिम बंगालमा पर्छ, जसले बाँकी भारतलाई उत्तर-पूर्वी राज्यहरू (असम, अरुणाचल प्रदेश, मणिपुर, मेघालय, नागाल्याण्ड, मिजोरम, त्रिपुरा र सिक्किम) सँग जोड्ने एकमात्र माध्यम हो।
के हो अन्डरवाटर ट्विन ट्यूब रोड?
यो देशकै पहिलो यस्तो परियोजना हो जुन असमको ब्रह्मपुत्र नदी मुनि निर्माण गरिनेछ। यसको लम्बाई ३३.७ किलोमिटर हुनेछ जसमा १५.७ (किलोमिटर लामो जुम्ल्याहा सुरुङ नदीमुनि रहनेछ।) यसले नदीको उत्तरी किनारमा रहेको गोहपुर र दक्षिणी किनारमा रहेको नुमालीगढ लाई जोड्नेछ।
फाइदा: यसले सामान ढुवानी क्षमता बढाउनेछ, लागत घटाउनेछ र रणनीतिक रूपमा औद्योगिक तथा व्यापारिक विकासका नयाँ ढोका खोल्नेछ।
अन्य प्रमुख सैन्य तथा पूर्वाधार परियोजनाहरू
भूमिगत रेल मार्ग: भारतीय रेलवेले चिकननेक क्षेत्रमा ३५।७६ किलोमिटर लामो भूमिगत रेल लाइन बनाउनेछ, जसले डुमडाँगी र बागडोगरालाई जोड्नेछ। यो बागडोगरा एयरफोर्स स्टेशन र बेगडुबी आर्मी क्यान्टोनमेन्ट नजिकै पर्छ।
सैन्य स्टेशन र बेस: भारतले बङ्गलादेश सीमा नजिक असमको धुब्रीमा 'लाचित बोरफुकान' नयाँ सैन्य स्टेशन बनाएको छ। साथै, मिजोरममा बङ्गलादेशको चटगाउँ हिल्स नजिक अर्को सैन्य आधार (बेस) निर्माण गरिनेछ।
अरुणाचलमा स्वदेशी मोनो रेल: चिनियाँ सीमासम्म सैन्य सामग्री सजिलै पुर्याउन १६,००० फिटको उचाइमा स्वदेशी मोनो रेल प्रणाली बनाउने योजना छ।
इमर्जेन्सी ल्यान्डिङ सुविधा: असमको डिब्रुगढमा ४.२ किलोमिटर लामो हाइवे बनाइएको छ, जहाँ आपतकालीन अवस्थामा सैन्य विमानहरू अवतरण गर्न सकिनेछ।
बङ्गलादेश र चीनको गतिविधि
हालैका वर्षहरूमा डोकलाम विवाद (२०१७) र बङ्गलादेशको राजनीतिक परिवर्तनपछि भारत थप सतर्क भएको छ। अगस्ट २०२४ मा बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको चीन र पाकिस्तानतर्फको झुकाव तथा भारत विरोधी बयानपछि सुरक्षा चुनौती बढेको छ।
बङ्गलादेशले चिकननेक नजिकैको लालमोनिरहाटमा आफ्नो पुरानो एयरफिल्ड पुनरुत्थान गर्न थालेपछि भारतले यस क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै यी परियोजनाहरूलाई तीव्रता दिएको हो। (एजेन्सीहरुबाट)
प्रतिक्रिया