काठमाडौं। अमेरिका र इरानबीच भैरहेको शान्ति वार्ता बिनानिष्कर्ष टुंगिएको छ। २१ घण्टासम्म भएको प्रत्यक्ष वार्ताले दुबै पक्षको अडान परिवर्तन नहुँदा गति लिन नसकेको बताईएको छ। त्यसपछि अमेरिकी वार्ता टोलीले इस्लामावाद छाडेको छ भने इरानी टोली पनि तेहरान फर्किने तर्खरमा रहेको समाचारहरुमा जनाईएको छ।
अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि स्वदेश प्रस्थान गरेका छन्। उनीहरू आफ्नो एयर फोर्स टु विमानमार्फत प्रस्थान गरेका हुन् र अमेरिका फर्किएका छन्।
पाकिस्तानी गृह मन्त्रालयको स्रोतलाई उदृत गर्दै अमेरिकी प्रतिनिधिमण्डल त्यहाँबाट प्रस्थान गरेको समाचारहरुमा जनाईएको छ।
इस्लामावादबाट उडान भर्नुअघि जेडी भान्सले करिब २१ घण्टा चलेको वार्तापछि पनि अमेरिका र इरान कुनै सम्झौतामा पुग्न नसकेको सम्वाददाताहरुसँग बताए।
यस वार्तालाई लिएर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिका आफ्नो ‘अत्यधिक मागहरू’ बाट पछि हट्नुपर्ने बताएका छन्। इरानी प्रतिनिधिमण्डलका अनुसार अमेरिका वार्ताको टेबल छोड्ने बहाना खोजिरहेको थियो।
‘अमेरिकीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा गुमेको आफ्नो साख जोगाउन यो वार्ता चाहिएको थियो र इरानसँगको युद्धमा हार र गतिरोधका बावजुद उनीहरू आफ्ना अपेक्षाहरू घटाउन तयार थिएनन्,’ अलजजिराले स्रोतको हवाला दिंदै भनेको छ ।
इरानको अर्को चरणको वार्ताका लागि अहिले कुनै योजना नरहेको पनि स्रोतहरुले जनाएका छन्।
इस्लामावादमा अमेरिका र इरानबीच भएको २१ घण्टा लामो ऐतिहासिक र प्रत्यक्ष वार्ता कुनै ठोस सहमति बिना टुंगिनु पक्कै पनि निराशाजनक खबर हो। सन् १९७९ को इस्लामिक क्रान्तिपछि यी दुई देशबीच भएको यो नै सबैभन्दा उच्च तहको प्रत्यक्ष संवाद थियो।
वर्तमान स्थिति र यसले पार्न सक्ने सम्भावित असरहरूलाई यसरी बुझ्न सकिन्छ।
तत्कालको युद्धविराममा असर
अप्रिल ७ मा पाकिस्तानको मध्यस्थतामा भएको दुई हप्ताको अस्थायी युद्धविराम अझै लागू छ। वार्ता असफल भए पनि तत्कालै युद्ध सुरु भइहाल्ने संकेत देखिएको छैन।
अमेरिकी उप-राष्ट्रपति जेडी भान्सले इरानले आणविक हतियार नबनाउने प्रतिबद्धता नदिएको कारण वार्ता निष्कर्षमा पुग्न नसकेको बताएका छन्। यदि युद्धविरामको बाँकी अवधिमा पुनस् संवाद नभएमा तनाव फेरि बढ्न सक्छ।
इरानको दाबी
इरानी विदेश मन्त्रालयले एकै पटकको बैठकमा सबै कुरा मिल्छ भन्ने अपेक्षा राख्नु नै गलत हुने बताएको छ। उनीहरूले यसलाई संवादको अन्त्य भन्दा पनि प्रक्रियाको सुरुवातका रूपमा लिएका छन्।
मध्यस्थकर्ताको भूमिका
झण्डै आधा शताब्दिपछि आमनेसामने वार्तामा बसेका अमेरिका र इरानलाई पाकिस्तानले समन्वय गरेको थियो। उसले दुवै पक्षलाई युद्धविराम कायम राख्न र पुनस् वार्तामा बस्न आग्रह गरिरहेको छ।
अब के होला?
अब अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने वा 'अन्तिम प्रस्ताव' स्वीकार गर्न दबाब दिने सम्भावना छ। यदि संवाद अघि बढेन भने 'स्ट्रेट अफ हर्मुज'को जलमार्ग खुला राख्ने विषयलाई लिएर फेरि सैन्य तनाव बढ्न सक्छ।
यो वार्ताको नतिजाले इजरायल र मध्यपूर्वका अन्य देशहरूको सुरक्षा स्थितिमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ। वार्ता बिना परिणाम टुंगिनुले तत्कालका लागि शान्तिको आशामा धक्का लागेको छ, तर युद्धविराम अझै बाँकी रहेकोले कूटनीतिक ढोका पूरै बन्द भइसकेको छैन। अबको केही दिन पाकिस्तान र अन्य क्षेत्रीय शक्तिहरूले गर्ने मध्यस्थता निकै महत्त्वपूर्ण हुनेछ।
- तस्बिर: सोसल मिडिया
प्रतिक्रिया