काठमाडौं । चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ सम्भावना देखाएको छ । चीनको हाङझाउ सहरमा विकास गरिएको यस एआई चस्माले दृष्टिविहीन व्यक्तिलाई बाटो पहिचान गर्न, अवरोध चिनाउन र गन्तव्यसम्म पुग्न सहयोग पु¥याउन थालेको छ ।
पूर्वी चीनको हाङझाउकी काइ क्योङहुईले सात वर्षको उमेरमै दृष्टि गुमाएकी थिइन् । हाल उनी एक कुशल पियानो ट्युनरका रूपमा काम गर्छिन् र अन्य दृष्टिविहीन संगीतकर्मीसँग मिलेर अर्केस्ट्रामा समेत प्रस्तुति दिन्छिन् । तर, एक्लै हिँडडुल गर्नु भने अझै चुनौतीपूर्ण रहेको उनी बताउँछिन् ।
उनका अनुसार हाल प्रयोगमा रहेका अधिकांश नेभिगेसन सफ्टवेयर तथा सहयोगी उपकरणले अन्तिम गन्तव्य नजिक पुगेपछि सही जानकारी दिन नसक्ने समस्या हुन्छ । “अधिकांश नेभिगेसन सफ्टवेयर अन्तिम १० मिटरमा असफल हुन्छन, जसले गर्दा म धेरै पटक बाटो हराउँछु र गन्तव्य भेट्टाउन सक्दिनँ,” उनले भनिन् । “दृष्टिविहीन मानिसहरू बाहिर निस्कन चाहन्छन् । तर यस्तो अवस्थाको डरले हिच्किचाउँछन् ।”
यही समस्यालाई समाधान गर्न हाङझाउस्थित एक प्रविधि कम्पनीले दृष्टिविहीनका लागि विशेष एआई चस्मा विकास गरेको हो । कम्पनीले सडक क्रसिङ, सिँढी र अन्य सम्भावित जोखिम पहिचान गर्न प्रणालीलाई तालिम दिन आधा वर्षभन्दा बढी समय लगाएर डाटा संकलन गरेको जनाएको छ । कम्पनीका अनुसार यस प्रणालीको प्रतिक्रिया समय ५०० मिलिसेकेन्डबाट घटाएर करिब ३०० मिलिसेकेन्डमा ल्याइएको छ, जसले प्रयोगकर्तालाई अझ सुरक्षित अनुभव प्रदान गर्छ ।
अलिबाबा क्लाउडको टोंगयी छियानवेन ठूलो भाषा मोडेल सेवाका महाप्रबन्धक स्यू डोङका अनुसार ठूलो एआई मोडेलले वातावरणसँग मानिसजस्तै अन्तक्र्रिया गर्न सक्ने भएकाले यसले दृष्टिविहीन व्यक्तिका लागि “आँखा, कान र मुख” जस्तै काम गर्न सक्छ र उनीहरूको जीवनस्तर सुधार गर्न सहयोग पु¥याउँछ ।
बजार अनुसन्धान कम्पनी ओम्डियाका अनुसार चीन एआई चस्माको बजारमा अमेरिकापछि दोस्रो ठूलो बजार बन्ने क्रममा छ । यस वर्ष मात्रै करिब १२ लाख युनिट एआई चस्मा निर्यात हुने अनुमान गरिएको छ । सीसीटीभी
प्रतिक्रिया