सन् २०२६ को पहिलो चन्द्रग्रहण: गर्भवती महिलाका लागि विशेष सावधानी

सन् २०२६ को पहिलो चन्द्रग्रहण फागु पूर्णिमा (होली) का दिन आज लाग्दैछ। यो ग्रहण नेपाल र भारत लगायतका क्षेत्रबाट देखिने भएकाले यसको सूतक काल पनि मान्य हुनेछ। शास्त्र अनुसार ग्रहणको नियम पालना गर्नु आवश्यक मानिन्छ, जसमा गर्भवती महिलाहरूले विशेष सावधानी अपनाउनु पर्छ। 
 
गर्भवती महिलाले के नगर्ने ?

ज्योतिषशास्त्र र पौराणिक मान्यता अनुसार ग्रहणको समयमा गर्भवती महिलाले निम्न कार्यहरू गर्नु हुँदैन-

-तिखा अर्थात् धारिला वस्तुको प्रयोग नगर्ने: सियो, चक्कु, कैंची वा अन्य कुनै पनि धारिलो वस्तुको प्रयोग नगर्ने र यसलाई नछुने।
-भोजन र पकाउने कार्य: ग्रहणको समयमा भोजन पकाउनु वा खानु हुँदैन। यस्तो मान्यता रहेको छ, ग्रहणको नकारात्मक किरणले खानालाई दूषित बनाउँछ, जसले गर्भमा रहेको शिशुलाई असर गर्न सक्छ।
-सिलाई/बुनाई: ग्रहण अवधिमा सिलाई वा बुनाई जस्ता कामहरू वर्जित मानिन्छ।
-ग्रहण नहेर्ने: गर्भवती महिलाले सिधै चन्द्रग्रहण हेर्नु हुँदैन। यसको दुष्प्रभाव शिशुको विकासमा पर्न सक्ने विश्वास गरिन्छ।
-सुत्ने कार्य: मान्यता अनुसार ग्रहणको समयमा गर्भवती महिलाहरू सुत्नु हुँदैन।
 
गर्भवती महिलाले के गर्ने ?

ग्रहणको नकारात्मक प्रभावबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छ-
-गेरूको प्रयोग: पेटमा 'गेरू' (रातो माटो जस्तो पदार्थ) लगाउनु शुभ मानिन्छ।
-तुलसीको पात: घरमा पहिले नै पकाएको खानेकुरा छ भने त्यसमा तुलसीको पात राख्नुपर्छ, जसले गर्दा खाना अशुद्ध हुँदैन।
-मन्त्र र पाठ: ग्रहणको समयमा भगवानको मन्त्र जप गर्ने, हनुमान चालिसा पढ्ने वा रामायण र भगवद्गीता जस्ता धार्मिक ग्रन्थको पाठ गर्नु निकै राम्रो मानिन्छ।
 
ग्रहण समाप्त भएपछि के गर्ने ?

-स्नान: ग्रहण सकिएपछि पानीमा गङ्गाजल मिसाएर स्नान गर्नुपर्छ। यदि सम्भव छैन भने गङ्गाजल शरीरमा छर्कनु पर्छ।
-दान: ग्रहणपछि आफ्नो गच्छे अनुसार असहाय वा ब्राह्मणलाई दान गर्नाले शुभ फल प्राप्त हुने र दोष निवारण हुने विश्वास गरिन्छ। (विभिन्न स्रोतहरुबाट)

प्रतिक्रिया