एन्फा अध्यक्षका उम्मेदवार दीर्घ केसीले निर्वाचन बहिष्कार गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको शुक्रबार झापामा हुने निर्वाचनमा भाग नलिने अध्यक्षका प्रत्यासी दीर्घबहादुर केसी कुमारले घोषणा गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषदले आफ्नो निर्देशन विपरित निर्वाचन गर्न लागेको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको भोलिपल्ट बिहीबार केसीले पत्रकार सम्मेलन गर्दै निर्वाचन बहिष्कार गरेका हुन् । उनले भने, ‘खेलकुद परिषदले निलम्बन गरेर यो निर्वाचन बैध छैन भनेको अवस्थामा हामी निर्वाचनमा भाग लिन जादैनौं भनेर साथीहरूले सल्लाह गर्यौं ।

यो निर्वाचन व्यक्तिगत स्वार्थका लागि भएको जस्तो देखिन्छ । निर्वाचन आउँदै गरेको एएफसी र फिफाको निर्वाचनका लागि नेपालबाट प्रतिनिधि जानका लागि मात्र गरेको जस्तो लाग्छ । त्यही कारण पनि हामी निर्वाचनमा भाग लिँदैनौं ।’ साथै उनले आजको दिनसम्म पनि आफू उम्मेदवार भएर पनि निर्वाचन हुने स्थान थाहा नभएको बताए । उनले भने, ‘आजको दिनसम्म पनि हामी उम्मेदवार हो तर निर्वाचन हुने स्थान कहाँ हो हामीलाई थाहा छैन ।’

वर्तमान अध्यक्ष पंकजबिक्रम नेम्बाङसँग उनले अध्यक्षमा प्रतिस्पर्धा गर्ने तय थियो । यस्तै वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सुन्दर नरसिंह जोशीले पनि निर्वाचनमा भाग नलिने भएका छन् । उपाध्यक्षका उम्मेदवार सरस्वती क्लबका उत्तम भण्डारी पनि सहभागी नहुने भएका छन् । निर्वाचनमा हिमालयन शेर्पा क्लवका अध्यक्ष तथा एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले पनि भाग नलिने पत्रकार सम्मेलनमा बताए । फ्रेण्ड्स क्लब र मनाङ मस्र्याङ्दी क्लबका प्रतिनिधि पनि निर्वाचन बहिष्कार गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित थिए ।

यसअघि बुधबार नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले अवैधानिक रुपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना नगरेको भन्दै एन्फालाई तीन महिनासम्मका लागि निलम्बन गरेको थियो ।

प्रतिक्रिया