हेटौंडा । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान प्रवेश गरेको छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो बृहत् खेलको कृषि तथा पर्यटन महोत्सवमा आज आइतबार बिहान भएको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा लुम्बिनी प्रदेशस्थित पाल्पा जिल्लाको स्टेप भलिबल क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै बाग्मती प्रदेशको केशवलाल श्रेष्ठ समिति केन्द्रीय प्रतिष्ठान फाइनलमा प्रवेश गरेको हो । अब आज आइतबार दिउँसो हुने फाइनल खेलमा केशव लाल स्मृति प्रतिष्ठानले काठमाडौंको न्यू डायमण्ड क्लबसँग सामना गर्नुपर्नेछ । दिउँसो १ बजेबाट सुरु हुने खेलमा दुबै टिम जितको लक्ष्य सहित मैदानमा उत्रिनेछन् । केशवलाल स्मृति प्रष्ठानले पाल्पाको स्टेप भलिबल क्लबलाई २५–१६,२५–७ र २५–२० को सेटले पराजित गरेको थियो । न्यू डाइमण्ड समूह ए बाट लिगको दुई खेल खेलेर दुबै खेलमा जित निकाल्दै विजेता बन्दै सेमीफाइनलको यात्रा पुरा गरेको थियो भने समूह ए बाटै लिगको दुई खेल खेलेको स्टेप भलिबल क्लब लिगको उपविजेता बन्दै सेमीफाइनलको यात्रा पूरा गरेको थियो ।
प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमीफाइनलमा पराजित हुने दुई टिमले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत तर्फका खेलाडीहरुलाई ट्रफि, मेडल, प्रमाण पत्र र नगद प्रदान गरिने छ । मकवानपुर जिल्ला भलिबल सङ्घ र केशव लाल श्रेष्ठ स्मृती प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमको सहभागिता रहेको थियो । बुधबारदेखि शुक्रबारसम्म भने पहिलो संस्करणको खुल्ला आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुनेछ । यस अघिको महोत्सवमा भएको राष्ट्रिय महिला भलिबलको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफले जितेको थियो । एपीएफले फाइनल खेलमा चन्द्रागिरीको न्यू डायमण्ड क्लबलाई ३–१ सेटले हराउँदै एपीएफले उपाधि जितेको थियो ।
प्रतिक्रिया