चर्चित पात्र

संसदका अब्बल सदस्य अर्जुन

काठमाडौं। निर्वाचन आयोगले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम सहित सबै विवरण राष्ट्रपति समक्ष प्रस्तुत गरिसकेको छ। अब ती विवरण संसद सचिवालयका हातमा परेपछि प्रतिनिधि सभाको बैठक आवहान गर्न बाटो खुल्छ। 

दलहरुले पनि आआफ्ना संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक सहित जिम्मेवारीहरु तोकेर संसदीय दल गठन गर्नेछन् भने बहुमत प्राप्त दल सरकार गठनको प्रक्रियामा सरिक हुनेछ। अबका केही दिनमा नयाँ सरकार गठन हुने निश्चित छ। निर्वाचनमा झण्डै दुइतिहाई नजिकको मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले एकल बहुमतको सरकार गठन गर्ने कुरा छर्लङ्गै छ।  

मतका आधार नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल हुने कुरा पनि प्रष्टै छ भने एमाले र नेपाली कम्युनिस्ट पार्टी सहितका दलहरु क्रमश विपक्षी बेञ्चमा रहने छन्।

यति नै बेला नेपाली कांग्रेसको संसदीय दलको नेता को हुने भन्ने बिषयलाई सामाजीक सञ्जाल सहित सञ्चारमाध्यमहरुमा उच्च महत्व दिएर चर्चा गरिएको देखिन्छ। सभापति गगन थापाले निर्वाचन परिणामको नैतिक जिम्मेवारी आफैंले लिएर पदबाट राजीनामा दिएका छन्। जसको छिनोफानो हुन बाँकी नै छ। सम्भवत भोलि चैत ६ मा बस्ने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले यसको टुंगो लगाउला।

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यहरुमा उमेर र अनुभवले ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी नै संसदीय दलको नेता चयन हुनेमा बाँकी सदस्यहरु एकमत जस्तै देखिएका छन्। नेता केसी विगतका संसदीय मामिलाहरुमा अब्बल सांसदका रुपमा स्थापित व्यक्तित्व हुन्। उनको स्पष्ट बौध्दिक, वैचारिक र सैध्दान्तिक अभिव्यक्तिले नयाँ सदस्यहरु लाभाविन्त हुने गरेका थिए।

यतिबेलाको प्रतिनिधि सभामा राजनीति र संसदीय मामिलाबारे अनुभव हासिल गर्न बाँकी नै रहेका नयाँ सदस्यहरुको बाहुल्य उपस्थिति रहेको छ। यस्तो अवस्थामा एकजना प्रखर वक्ता र संसदीय परम्पराका विश्व प्रसंगबारे जानकार नेता प्रमुख प्रतिपक्षको नेताका रुपमा प्रतिनिधि सभामा सक्रिय उपस्थित रहनु नयाँ सभामुख र सदस्यहरुका लागि समेत भरोसाका पात्र हुनेमा कुनै शंका छैन। केसी प्रमुख प्रतिपक्षी दलका नेताका रुपमा उपस्थित हुनु सिंगो प्रतिनिधि सभाका लागि एक परिपक्व सदस्य उपलव्ध हुनु हो।

उमेरका दृष्टिले सम्भवत ज्येष्ठ सदस्य केसीले नै अरु सदस्यहरुलाई सपथ दिलाउने छन्। तर निर्वाचन आयोगले राष्ट्रपति समक्ष प्रस्तुत गरेको विवरणमा प्रत्यक्ष र समानुपातिक सदस्यहरुको विवरण संसद सचिवालयका हात परेपछिमात्र उमेरको आधारमा ज्येष्ठ सदस्य को हो भन्ने स्पष्ट हुने संसद सचिवालयले जनाएको छ।

अर्जुननरसिंह केसी नेपाली राजनीतिमा यस्ता पात्र हुन्, जो सत्ताको केन्द्र र सडकको संघर्ष दुवैमा दशकौँदेखि अभ्यस्त छन्। उनी र गगन थापाबीचको पारिवारिक नातालाई लिएर हुने गरेका टिप्पणी केवल मनको तीतो पोख्ने बहानामात्र हो भन्ने प्रष्ट छ। यस्तो चर्चाले नेता केसीको व्यक्तिगत कद र राजनीतिक विरासतलाई छाँयामा पार्न सक्दैन।

केसी नेपाली कांग्रेसका ती सीमित नेताहरूमध्ये पर्छन्, जसले पञ्चायतकालको कठोर समयदेखि गणतन्त्रको स्थापनासम्म सक्रिय भूमिका निर्वाह गरेका छन्। उनको बौद्धिक अभ्यास राजनीतिमा प्रवेश गरेपछि मात्र सुरु भएको कतिपयलाई लाग्न सक्ला। तर राजनीतिमा आउनुअघि उनी त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन पेशामा थिए भन्ने कुरा नयाँ पुस्ताको जानकारीमा नहुन पनि सक्छ। उनको तार्किक क्षमता र वाकपटुताको जग त्यहीँबाट निर्माण भएको मानिन्छ।

सुरुवाती चरणमा पञ्चायतभित्रै रहेर सुधारवादी धारको नेतृत्व गरेका केसी पछि नेपाली कांग्रेसको मूलधारमा समाहित भए। विद्यार्थी जीवनदेखि नै प्रजातन्त्रको पक्षमा काम गरेका उनले पार्टीको सह-महामन्त्री र प्रवक्ता जस्तो जिम्मेवारी कुशलतापूर्वक सम्हालेका छन्।

नेता केसीको संसदीय अनुभवबारे उनको पार्टी मात्र होइन विपक्षी दलका नेताहरु समेत अवगत छन्। उनी पटक-पटक सांसद र स्वास्थ्य, शिक्षा तथा सहरी विकास जस्ता महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका अनुभवी मन्त्री हुन्। सभापति गगन थापा र नेता अर्जुननरसिंह केसीको नातालाई लिएर हुने आलोचनामा 'नैतिकता' र 'शक्ति केन्द्रिकरण' का कुरा उठ्ने गर्छन्। तर, यसका दुईवटा पक्ष छन्। 

गगन थापा आफ्नै संघर्ष र लोकप्रियताले स्थापित भएका नेता हुन् भने केसीको राजनीतिक उचाइ गगनको उदय हुनुभन्दा धेरै अघि नै बनिसकेको थियो। नाता हुनु आफैँमा अयोग्यता होइन। यदि प्रक्रिया र चुनावबाट केसी संसदीय दलको नेता बन्छन् भने त्यसलाई 'नातावाद' भन्दा पनि 'अनुभवको कदर' का रूपमा हेर्न सकिन्छ।

योग्यताको कसीमा केसीलाई कमजोर मान्न सकिने ठाउँ छैन। कांग्रेसभित्र अहिले युवा जोस र पुरानाको अनुभवबीच द्वन्द्व छ। यस्तोमा केसी जत्तिको 'मध्यमार्गी' र सन्तुलन मिलाउन सक्ने क्षमता भएका नेताले पार्टीलाई एकढिक्का राख्न सक्छन्। मनमा तिक्तता बोकेका कतिपय कांग्रेसी नेता कार्यकर्ताहरुलाई पार्टीको मुलप्रवाहमा जोड्न केसीको अनुभवले रसायनको काम गर्न सक्छ भनेर कांग्रेसजन नै चर्चा गरिरहेका पाईन्छ।

प्रतिपक्षी र सत्तापक्ष दुवैसँग संवाद गर्न सक्ने र संसदीय प्रक्रिया बुझेका नेताका रूपमा केसी खारिएका नेतामा पर्छन्। गुटबन्दीले जर्जर बनेको कांग्रेसमा सबैलाई समेट्न सक्ने 'पाको अभिभावक' को भूमिकामा उनी महत्वपूर्ण पात्र देखिन्छन्।
 
यसरी हेर्दा अर्जुननरसिंह केसीलाई गगन थापाको 'ससुरा' को रूपमा मात्र हेर्नु उनको ६ दशक लामो राजनीतिक लगानीप्रतिको अन्याय हो। गगन थापा 'भविष्य' हुन् भने केसी 'वर्तमान' का परिपक्व खेलाडी।

संसदीय दलको नेता हुनु वा नहुनु अर्कै कुरा हो, तर उनको राजनीतिक इतिहास, राजकीय अनुभव र सांगठनिक पकडले उनलाई उक्त पदका लागि एक सशक्त र स्वाभाविक दाबेदार बनाउँछ। नाताको लेपन लगाएर उनको योग्यतालाई ओझेलमा पार्नु सान्दर्भिक देखिँदैन। 

प्रतिक्रिया