सम्पादकीय

'शेरबहादुर बिनाको कांग्रेस' स्वीकार देउवा

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन नलड्ने घोषणा गरेका छन्। यो घोषणाले ताली पाउनु पर्ने कि राहतको सास ? उत्तर सरल छैन। तर एउटा युग सकिएको सत्य अब लुकाउन मिल्दैन।

चार दशकभन्दा बढी समय नेपाली राजनीतिमा केन्द्रमै बसेका देउवा अब सम्भवत सदाका लागि मैदानबाट बाहिरिँदैछन्। तर प्रश्न उठ्छ, उनी थाकेर हटेका हुन् कि समयले उनलाई हटाएको हो। देउवाका नाममा सत्ता, सम्झौता र अवसरवादको लामो अध्यायको अगुवाई गरेको इतिहास दर्ज भएको छ। त्यसैले देउवाको राजनीति कुनै दर्शनले होइन, सत्तासँगको सम्बन्धले परिभाषित भयो। उनी आन्दोलनका नायक कहिल्यै बनेनन्, तर सत्ता संकटका बेला “उपयुक्त विकल्प” भने सधैं बने। यही कारणले उनी चारपटक प्रधानमन्त्री भए, विशेष योग्यताले होइन, परिस्थिति र अंकगणितले। उनको शासनकालमा देशले न त स्पष्ट दिशा पायो, न त दीर्घकालीन सुधार। भ्रष्टाचार नियन्त्रण भाषणमै सीमित रह्यो। सुशासन नारा बन्यो, अभ्यास बनेन। पार्टी सुधार कहिल्यै प्राथमिकता बनेन। देउवाको राजनीति सधैं “आज कसरी टिक्ने?” भन्ने प्रश्नमा सीमित रह्यो, “भोलि देश कहाँ पुग्ने?” भन्ने प्रश्नमा होइन।
 
कांग्रेस: जोगियो कि जकडियो?

देउवाका समर्थकहरू भन्छन्, “उनले कांग्रेस फुट्न दिएनन्।” तर आलोचकहरूको प्रश्न अझ गम्भीर छ, कांग्रेस जोगियो कि देउवाको पकडमा जकडियोरु युवाहरूलाई सधैं ‘भोलि’ मा धकेलियो। उत्तराधिकारी योजनाबद्ध रूपमा कमजोर राखियो। आन्तरिक लोकतन्त्र नारामै सीमित रह्यो देउवाले कांग्रेसलाई संस्थाभन्दा सन्तुलनको खेल मैदान बनाए। जहाँ नीति होइन, गुट निर्णायक भयो।
 
निर्णायक क्षणमा सधैं मौन नेता बने देउवा। इतिहासले उनीसँग निर्दय भएर सोध्नेछ, संघीयता कार्यान्वयनमा किन यति सुस्ततारु सुशासनका ठूला काण्डमा किन मौन? पार्टी रूपान्तरणको बेला किन सधैं टालटुल? देउवा संकट समाधानकर्ता होइनन्, संकट व्यवस्थापक मात्रै रहे। देशले चाहेको बेला निर्णयकर्ता, तर पाएको सधैं सम्झौतावादी प्रधानमन्त्री।
 
अब के गर्छन् देउवा?  

निर्वाचन नलड्ने उनको निर्णय सकारात्मक हो तर पर्याप्त होइन। अब देउवाले यदि पर्दा पछाडिबाट सत्ता चलाउन खोजे, उत्तराधिकारीमाथि छायाँ हालिरहे, “अन्तिम शब्द” बोल्ने बानी छोडेनन भने इतिहासले उनलाई सम्मान होइन, बोझका रूपमा सम्झिनेछ। अब उनको भूमिका यही हुनुपर्छ— बोल्ने होइन, सुन्ने। निर्देशन दिने होइन, अनुभव बाँड्ने र शक्ति खोज्ने होइन, दूरी कायम गर्ने।

देउवाको अन्तिम परीक्षा 

भूतपूर्व प्रधानमन्त्री देउवाको राजनीतिक जीवनको सबैभन्दा कठिन परीक्षा अहिले सुरु भएको छ। सत्तामा रहँदा असफलता लुकाउन सकिन्थ्यो, तर सत्ता बाहिर व्यवहारले मात्रै मूल्यांकन हुन्छ। यदि उनी मौन बस्न सके, उनी सम्मानित पूर्वनेता बन्न सक्छन्। यदि सकेनन् भने, उनी नेपाली राजनीतिमा निन्दाको पात्रका रुपमा उदाहरण बन्नेछन्। 
 
देउवाको पछिल्लो निर्णय केही अघि अझ विशेष महाधिवेशनको पूर्व सन्ध्यामा आएको भए उनी पार्टीको सर्वमान्य र राष्ट्रिय राजनीतिको चरित्र नेताका रुपमा स्थापित हुनसक्थे, पाउँथे। उनलाई के ले त्यसो गर्नबाट रोक्यो त्यो उनैले मात्र भन्न सक्छन्। हस्तिनापुरका महाराज धृतराष्ट्रले जस्तै अड्डि लिएर बसेको फल देउवाका हातमा पनि पर्न गयो, यो उनकै कर्मको फल हो।

देउवालाई यस्तो अवस्थामा पुग्न केवल उनी एक्लैको मात्र योगदान छैन भन्ने कुरा दुनियाँले राम्रैसँग बुझेको छ। तर जिम्मेवार भने उनी एक्लै हुनुपर्यो, यही हो देउवाको जीवनको उत्तराध्र्दको विडम्बना। त्यसैले देउवाको बहिर्गमन न त उत्सव हो, न त शोक।  र, यो हो नेपाली कांग्रेस र समग्र राजनीतिका लागि आत्ममूल्यांकनको मौका। अब कांग्रेसले देउवाविहीन राजनीति सिक्नुपर्छ र देउवाले पनि आफूविहीन कांग्रेस स्वीकार्नुपर्छ। 

गगन थापा र विश्वप्रकाश शर्माको "दुस्साहस" मा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनको परिणामलाई नजरअन्दाज गर्दाको परिणतिले देउवालाई र राजनीतिमा रहेका सबैलाई एउटा सन्देश दिएको छ- इतिहास धेरै उदार हुँदैन!
 
 

प्रतिक्रिया