गगन र विश्वलाई सीके प्रसाई पुत्रको खुला पत्र

प्रिय गगन थापा र विश्वप्रकाश शर्मा ज्यू,

सबैभन्दा पहिले एउटा कुरा स्पष्ट गर्न चाहन्छु- म कुनै पार्टीको कार्यकर्ता होइन । म कुनै गुट, पद, टिकट वा राजनीतिक स्वार्थसँग बाँधिएको मान्छे पनि होइन । म त केवल तपाईंहरूको पार्टीलाई माया गर्ने एक नागरिक हुँ ।

GT BPSइतिहास जोगियोस्, संस्था नटुटोस् र राजनीति अझै सभ्य र जिम्मेवार रहोस् भन्ने चाहना राख्ने एउटा साधारण मान्छे । त्यही हैसियतले यो चिट्ठी लेख्दैछु । 

आज तपाईंहरू नेपाली कांग्रेसका सबैभन्दा आशा गरिएका, सबैभन्दा चर्चित र सबैभन्दा बढी अपेक्षा बोकेका नेता हुनुहुन्छ । यो संयोग होइन- यो तपाईंहरूले कमाउनुभएको राजनीतिक पूँजी हो ।

तपाईंहरूको असहमति गलत थिएन । प्रश्न उठाउनु सही थियो । पार्टी सुधारको माग जायज थियो । तर आज परिस्थिति बदलिएको छ । आज प्रश्न यस्तो छ- के हामी सही साबित हुन पार्टी नै कमजोर बनाउने ? कि अलिकति झुक्दै पार्टीलाई बलियो बनाउने ?

आजको यथार्थ यही हो- शेर बहादुर देउवा बिना नेपाली कांग्रेसको वर्तमान कल्पना गर्न सकिँदैन । उहाँसँग असहमति हुन सक्छ, आलोचना जायज हुन सक्छ तर उहाँलाई पूर्ण रूपमा अस्वीकार गरेर पार्टी जोगिन्छ भन्ने विश्वास आजको अवस्थामा यथार्थ देखिँदैन ।

राजनीतिमा कहिलेकाहीँ एक कदम पछि हट्नु हार होइन, दूरदृष्टि हो । आज देखाइने लचकता कमजोरी होइन, नेतृत्वको पराकाष्ठा हो । तपाईंहरू कांग्रेसको भविष्य हुनुहुन्छ तर भविष्यले वर्तमानलाई जलाएर जन्म लिँदैन । वर्तमानसँग संवाद गरेर भोलिलाई सुरक्षित बनाउँछ ।

म कसैको पक्षमा छैन । मेरो आवाज समर्थनको होइन, चिन्ताको हो । मेरो आग्रह स्वार्थको होइन, नागरिकीय जिम्मेवारीको हो । पार्टी तपाईंहरूको हो तर यसको पीडा हाम्रो पनि हो । यदि आज तपाईंहरूले देउवासँग संवाद र सहकार्यको बाटो रोज्नु भयो भने, इतिहासले तपाईंहरूलाई 'टक्कर दिने नेता' भनेर होइन, 'पार्टी जोगाउने नेता' भनेर सम्झिनेछ ।

अझै ढिलो भएको छैन । पार्टीभन्दा माथि कुनै पनि अहंकार हुँदैन । कांग्रेस बचाऔं । संस्था जोगाऔं । इतिहासको जिम्मेवारी पूरा गरौं ।

अन्त्यमा, एउटा व्यक्तिगत पीडा

यदि मेरा बुवा सीके प्रसाईं (भरत बाबू) ले आज आफ्नो जीवनभर विश्वास गरेको पार्टीको यो अवस्था देख्नुपरेको भए, सायद उहाँ मौन बस्नुहुन्थ्यो । तर त्यो मौन गर्वको होइन, गहिरो पीडाको मौन हुन्थ्यो । उहाँहरूजस्ता पुस्ताले न देउवालाई शत्रु ठाने, न नयाँ पुस्तालाई खतरा । उहाँहरूले पार्टीलाई व्यक्ति होइन, आन्दोलन ठाने । आज जब त्यो आन्दोलन आपसी जिद्दी, अहंकार र अविश्वासको बीचमा थकित देखिन्छ, त्यो केवल राजनीतिक समस्या होइन- पुस्तामाथिको अन्याय हो ।

यो चिट्ठी कुनै गुटको समर्थन होइन, पुस्ताको आँसु हो । यो आग्रह रणनीतिक सम्झौता होइन, नैतिक ऋणको सम्झना हो । कृपया यस्तो निर्णय लिनुहोस् जसले भोलि हाम्रा छोराछोरीले सोध्दा - त्यति बेला तपाईंहरूले के गर्नुभयो ? हामीले टाउको ठाडो राखेर भन्न सकौं-हामीले पार्टी बचाउने पक्ष रोज्यौं।'

जय नेपाल ।

एक नागरिक,
विवेक केशरी प्रसाईं 

(कुनै पार्टीको होइन, तर तपाईंहरूको पार्टीलाई माया गर्ने)

प्रतिक्रिया