देशमा निर्वाचनको वातावरण छैन भन्नु निर्वाचन भाँड्ने षड्यन्त्र मात्रै हो : गणेश पराजुली

काठमाडौं । मुलुक यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारीमा छ । विभिन्न दलहरुले आ–आफ्नै किसिमले तयारी गरिरहेका छन् । यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको तयारीबारे गणेश पराजुलीसँग गरिएको संवाद ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अगामी निर्वाचनको लागि कस्तो तयारी गरिरहेको छ ?

फागुन २१ मा हुने निर्वाचनमा न्यूनतम बहुमत ल्याउने नभए दुई तिहाइ ल्याउने गरी तयारी गरिराखेका छौं । यही बीचमा बालेन्द्र शाहजीसँग समायोजन गरेका छौं । त्यसपछि कुलमान घिसिङसँग पनि समायोजन गरेका थियौं, त्यसमा थोरै समस्या आयो । उहाँहरूका केही आफ्ना मागहरू, आकांक्षाहरू पूरा हुन नसकेको अथवा फरक सोच भएका कारण समस्या आएको पाइन्छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले के गर्नुपर्छ र कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा स्पष्ट छ । जसले नेपाली जनताको सपना टुक्राउने कोशिस गर्छन्, उनीहरूले नेपाली जनतालाई जवाफ दिने हो । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्छ, गरेको छ र गर्नेछ ।

उज्यालो नेपाल पार्टीसँग के कारण समस्या आयो ?

उहाँहरूले दल त बनाउनुभयो तर उहाँहरूबीचमै ठूलो विवाद आएको पायौं । एकजनाले नाम राख्नुहुन्छ र अर्कोले आएर उहाँहरूकै नाम काट्ने गर्नुभयो । उहाँहरू बीचको आन्तरिक असहमति, पदप्रतिको एक किसिमको आशक्तिले समस्या निम्त्यायो । अनि एक किसिमको भ्रम पनि सिर्जना भयो । यतिबेलाको सर्वेसर्वा मै हुँ, सबै कुरा मलाई नै हुनुपर्छ अथवा म नै प्रमुख हुनुपर्छ भन्ने अहमता पनि देखियो । एक किसिमको अहंकार पनि बढेको हो कि भन्ने लाग्यो । नेपाली जनताको आकांक्षा, चाहनालाई पुरा गर्नको लागि सबै वैकल्पिकहरू एक ठाउँमा उभिनुपर्छ भन्ने हिसाबले कुलमान दाजुहरूसँगको सहकार्य अगाडि बढेको हो । त्यसलाई टुंगोमा पुग्न नदिनको लागि, यसलाई निष्कर्षमा पुग्न नदिनको अन्य राजनीतिक शक्तिहरूले षडयन्त्र पनि गरेको हो कि भन्ने लागिरहेको छ ।

बालेन शाहसँगको सहकार्य कुन रुपमा अगाडि बढिरहेको छ ?

उहाँहरूको तर्फबाट केन्द्रीय समितिमा आउनुपर्ने साथीहरूलाई समायोजित गरिसकेका छौं । समानुपातिकको नाम पनि राखिसकेर अब प्रत्यक्ष तर्फको प्रक्रियामा अगाडि बढेका छौं । बालेन्द्रजीसँगको त कुनै समस्या हुने कुरै भएन ।

पुराना दलहरुको दबदबा कायमै रहेको बेला रास्वपाले जनतालाई आकर्षित गर्न कस्तो योजना बनाएको छ ?

आज जनताले विशेष किसिमको योजना खोजेका छैनन् । पूराना राजनीतिक दलहरूको दबदबा कम गर्नुभन्दा पनि उहाँहरुले देशमा व्यवस्था परिवर्तनको लागि खेलेको भूमिकाप्रति हामी कृतज्ञ हुनुपर्छ । तर अवस्था सुधार गर्नको लागि उहाँहरूले काम गर्न सक्नु भएन । हामी उहाँहरुप्रति कुनै बैरभाव राख्दैनौं । उहाँहरूले गरेका त्याग, बलिदानलाई सम्मान गर्नेछौं । सबै आन्दोलनबाट प्राप्त भएको व्यवस्थाभित्र अवस्था सुधार गर्नको लागि काम गर्नुपर्ने भएकाले उहाँहरू आफ्नो अस्तित्वको लडाइँमा हुनुहुन्छ । त्यसकारण उहाँहरूको दबदबाको विषयमा मैले चर्चा गरिराख्नै पर्दैन ।

यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जनताको विश्वास र भरोसालाई टुंगोमा पु¥याउनको लागि आफूले गर्नुपर्ने सबै त्याग गरेर बालेन्द्र शाहजीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा रूपमा प्रस्तुत गर्नु, त्यसपछि कुलमान दाजुहरूलाई समाहित गर्ने प्रयास गर्नु सामान्य कुरो पनि होइन् । चौथो ठूलो राजनीतिक दलबाट पहिलो ठूलो राजनीतिक दल बनाउने प्रयासमा भूमिका खेलेका कैयौं साथीहरूले त्यागलाई पनि सम्मान गर्नुपर्ने छ । त्यसैले कुनै विशेष किसिमको योजना भन्दा पनि समृद्धिको यात्रालाई टुंगोमा पु¥याउनको लागि गर्नुपर्ने सबै काम गर्नुपर्ने अवस्था छ ।

हालको व्यवस्थाभित्र अवस्था सुधार गर्नुपर्नेछ र अवस्था सुधार गर्नुपर्नेछ । आजको मुख्य समस्या भनेको बेथितिपूर्ण अवस्था र भ्रष्टाचारको कहालीलाग्दो अवस्था हो । त्यसलाई अन्त्य गरेर सुशासन कायम गर्दै समृद्धिको यात्रा तय गर्नको लागि सिर्फ भाषणले पुग्दैन । त्यसका लागि क्षमता भएका व्यक्तिहरूलाई जिम्मेवारीमा पु¥याउनुपर्छ । धेरैजसो सिस्टमहरू, पद्धतिहरू नै रिफर्म गरेर सशक्त रूपमा योगदान दिनेबेला भएको हो । हामीले देखेको सपना पुरा गर्छौं भनेर भनिरहनु पनि पर्दैन् । यतिबेला समग्र शासन प्रणालीको रिफर्म, शासकीय स्वरुप परिवर्तन गर्ने भन्ने कुरामा संशोधन गर्नुपर्नेछ । संविधान संशोधन गरेपछि मात्र सम्भव छ । जनतामाझ म्यान्डेट लिएर जाने हो तर यही व्यवस्थाभित्र पनि सुधार गर्नुपर्ने कैयौं ठाउँहरू छन् । त्यसका लागि पद्धति बसाल्नुपर्छ । अनि मात्र सुधार गर्न सकिन्छ भन्ने कुरा हामीले व्यवहारमार्फत प्रस्तुत गरिरहेका छौं । त्यसले नेपाली जनतामा विश्वास सिर्जना गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत नेतृत्व सम्हालेका सबै नेताहरूले आ–आफ्नो ठाउँबाट त्यो प्रमाणित पनि गरेका छन् ।

जेनजी आन्दोलनपछि निर्वाचनको अवस्था बन्दै गएको छ । यस्तो अवस्थामा रास्वपाले जेनजी पुस्तालाई कसरी सम्बोधन गरेको छ ?

भदौ २३ र २४ गतेको जुन घटना घट्यो, त्योभन्दा अगाडि जेनजी पुस्ताले सडक आन्दोलन गर्नुपर्ने अवस्था कसरी आयो भन्ने कोणबाट हेर्नुपर्छ । सामाजिक सञ्जालविरुद्ध सरकारलाई खबरदारी गर्ने र त् भ्रष्टाचार विरुद्धको एक किसिमको आन्दोलन छेड्दैगर्दा नैतिक समर्थनदेखि लिएर सचेत हुनुपर्ने कुरामा उहाँहरूलाई साथ दिएको कुरा सबैलाई थाहा छ । तर यसो भन्दैगर्दा सबै विध्वंसमा रास्वपा साथमा थियो भन्नु मुर्खता हुने छ । रास्वपाले कुनैपनि विध्वंसलाई आत्मसात गर्दैन, कुनैपनि हिंशालाई आत्मसात गर्दैन, शान्तिपूर्ण प्रक्रियाबाट मत परिवर्तन गराएर अवस्था सुधार गर्ने पाटोमा काम गर्न चाहन्छ । ७६ जना हाम्रा भाइबहिनीहरूले रगत बगाउनुपर्ने अवस्था नआइदियोस् भनेर कामना गरेका पनि थियौं । तर दुइ तिहाइको दम्भ बोकेकाहरूले आफ्नै नागरिकलाई, छोराछोरीलाई छातीमा, निधारमा ताकी ताकी गोली हाने र शहीद बनाए ।

यस्तो अवस्था सिर्जना हुनु हुँदैन थियो, तर दुइ तिहाइको दम्भ गर्नेहरूले अझै पनि नचेतेको अवस्था छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट, आगामी निर्वाचनमै सम्बोधन गर्नेगरी जेनजी पुस्ताका साथीहरुलाई अवसर प्रदान गरिरहेका छौं । २७ प्रतिशत त हामीले कोटामा नै छुट्याएको पनि हो । त्यसकारण जेनजीहरूलाई सबैभन्दा बढी स्थान हामीले दिइरहेका छौं । रास्वपा आफैँ जेन्जी हो । त्यस कारण जेनजीका लागि विशेष र छुट्टै किसिमको विभाग बनाउनुपर्दैन । रास्वपाको समग्र संरचना नै जेनजी हो ।

जेनजीमा पनि केही पक्षहरु निर्वाचनदेखि असन्तुष्ट छन्, उहाँहरुलाई के भन्न चाहनुहुन्छ ?

जेनजी एउटा जेनेरेसन हो, एउटा पुस्ता हो र यो पुस्ताका सबै भाइबहिनीहरूले एउटै बुझाइ हुन्छ भन्ने हुन सक्दैन । त्यसमाथि पनि २४ गतेको घटनाक्रमपछि त आजसम्म आइपुग्दा सबै राजनीतिक दलले आ–आफ्ना जेनजी समूह पनि बनाएका छन् । उउहाँहरूलाई सिकाइरहेका छन् । यसले अवसर यही देशमा उपयोग गर्न पाऊँ, अथवा भएको ज्ञान, सीप उपयोग गर्न पाऔं, यही देशभित्र अवसर सिर्जना भइदियोस् र यो देश बनाउने प्रक्रियामा काम गर्न पाऔं भन्ने उद्देश्यका साथ जेनजी साथीहरुपनि सक्रिय हुनुभएको छ ।

देशमा सुशासन कायम गर्न पाऔं, भ्रष्टाचारको उन्मूलन भएको देख्न पाऔं र संसारका विकसित देशजस्तै, नेपाल पनि बनाउन पाऔं भनेर माग गरेको नेपाली जनताको माग हो । त्यो जेनजी पुस्ताको पनि माग हो । यसलाई सम्बोधन गर्नका लागि रास्वपासँग आत्मसात गर्नुभएकाहरु, आवाजलाई आत्मसात गर्ने जति पनि हुनुहुन्छ, उहाँहरूलाई एकदमै स्वागत गर्न चाहन्छौँ । बाँकी अरू जति जेनजी समूह, भाइबहिनीहरू हुनुहुन्छ र जुनसुकै राजनीतिक दलसँग एसोसिएट हुनुहुन्छ उहाँहरुले भुल्न नहुने कुरा धेरै नै छन् । पूराना राजनीतिक दलहरूले तपाईँ–हामीले देखेको सपना पुरा गर्थे भने दुईतिहाइ त थियो नि तर उनीहरूले ७६ जनाको रगत बगाउने काम गरे । फेरि पनि उहाँहरूले निर्वाचनविरुद्ध, निर्वाचन भाँड्ने र त्यसपछि पुरानै राजनीतिक दलको वैशाखी बनेर हिँडिदिनुभयो भने नेपाली जनतामाथि अन्याय हुनेछ । र त्यो कलंकको टीका तपाईंहरू बोक्नुहुन्न भन्ने हामीले बुझेका छौँ । किनकि यो देश तपाईं–हाम्रो लागि हो, यो पुस्ताको लागि हो र भावी पुस्ताका लागि हो । त्यसकारण सबैले परिवर्तनकारी सोचलाई आत्मसात गरेर यो देश बनाउने प्रक्रियामा कुनै पनि राजनीतिक दलको झण्डा बोक्नुभन्दा अगाडि सोच्नुपर्ने बेला आएको छ । विचलित नभइदिन अनुरोध गर्न चाहन्छु ।

देशको हालको अवस्था हेरेर निर्वाचन सम्भव छ जस्तो लाग्छ कि केही समस्या आउछ जस्तो लाग्छ ?

चुनौति पक्कै हुन्छन्, तर हाम्रो देशमा यतिखेर शान्ति–सुरक्षाको चुनौति छैन । न त यहाँ गृहयुद्ध छ, न त विद्रोह छ । यदि शान्ति–सुरक्षालाई दख्खल पुग्नेगरी काम गर्न कसैले खोज्यो भने त्यो भनेको राजनीतिक दलहरू मात्र हुन् । अन्य त्यस्ता कुनै समूह छैनन् । त्यस्तो गृहयुद्ध नै सञ्चालन गरिरहेको त्यस्तै कुनै समूह छैन । त्यसकारण यो देशमा यतिखेर शान्ति–सुरक्षाको कारणले निर्वाचन गर्न सकिँदैन भनेर कसैले भन्छ भने त्यो निर्वाचन भाँड्न चाहनेहरूले गर्ने अभ्यास हो । त्यस्ता कुराको पछि नलाग्न अनुरोध पनि गर्दछु । नेपालको शान्ति–सुरक्षा कायम गर्ने निकायहरू सक्षम छन् । सक्षम बनाउनुपर्छ, सक्षम हुनुपर्छ । विशेषगरी राजनीतिक दलहरूको त अझ सशक्त रूपमा भूमिका भइरहेको हुँदा निर्वाचन भाँड्ने पाटोमा कसैले पनि भूमिका खेल्न सक्दैनन् । काम गर्न पाउँदैनन्, गर्नु हुँदैन, गर्न दिनुहुँदैन । त्यसकारण शान्ति–सुरक्षाको विषय देखाएर नेपालमा निर्वाचन गर्न सकिँदैन भन्ने कुराको भ्रम छर्नु भनेको निर्वाचन भाँड्नु हो । निर्वाचन भाँड्नु भनेको जनतालाई मताधिकारबाट वञ्चित गर्नु हो । त्यो अपराध कसैले पनि गर्न सक्छ जस्तो मलाई लाग्दैन ।

निर्वाचनपछि जेनजीले उठाएको सबै मागहरु सम्बोधन गर्न सम्भव छ, निर्वाचन पछि यस्तो समस्या आउदैन् भन्न सकिन्छ ?

हामीले यो जेनेरेसनले उठाएका कैयौँ मुद्दाहरूलाई आफ्नो म्यान्डेटमा राखेर, आफ्नो मुद्दा बनाएर लिएर आएका छौं । त्यसकारण धेरै मुद्दाहरू संविधान संशोधन नगरिकन गर्न सकिने छैनन् । संविधान संशोधन गरेपछि मात्र गर्न सकिने मुद्दाहरू धेरै छन् । त्यसका लागि दुई तिहाइ आवश्यक पर्छ । संविधान संशोधन गर्नका लागि जनताबाट म्यान्डेटमार्फत अनुमोदित भएर दुई तिहाइ चाहिन्छ । यदि जनतालाई यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले बोकेका मुद्दा र जेनजीले बोकेका मुद्दा अनुसार संविधान संशोधन गर्नुपर्छ भन्ने कुराको विश्वास लाग्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिनुपर्छ । त्यो मतमार्फत मात्रै दुई तिहाइ प्राप्त गरिसकेपछि मात्र हामी संविधान संशोधन गर्न सक्छौँ ।

तपाई कुन क्षेत्रबाट निर्वाचनमा जाँदै हुनुहुन्छ ?

म काठमाडौँ क्षेत्र नम्बर ७ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुँ र मेरो निर्वाचन क्षेत्र यही काठमाडौँ क्षेत्र नम्बर ७ हो ।

पार्टी सभापति कारागार मुक्त भएपछि केही सहज भएको छ ?

सम्मानित अदालतबाट रविजीलाई बाहिरै बसेर मुद्दा लड्न पाउने आदेश जारी भएको धेरै दिन भएको छैन । तर नेपाली जनतामा सशक्त रक्तसञ्चार, नयाँ किसिमको ऊर्जा प्राप्त भएको छ । नेपालको राजनीतिको नक्सा परिवर्तन भएको छ । त्यसकारण यसमा मैले धेरै चर्चा गर्नुपर्दैन । तमाम नेपाली जनतालाई के विश्वास जागेको छ भने, अब रास्वपालाई दुई तिहाइ ल्याउन केहीले रोक्दैन ।

जेनजीको मागमध्य एउटा भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हो, के यो सम्भव छ ?

सम्भव तब मात्र छ जब संविधान संशोधन गर्नेगरी जनताले म्यान्डेट दिएर पठाउनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले शासकीय स्वरूप सुधारमा विशेषगरी सरकारको स्थायीत्वको लागि शासकीय स्वरूप सुधारको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउनुपर्छ भनेर म्यान्डेट बोकेको छ । त्यो म्यान्डेट जनतामाझ लिएर जाँदैगर्दा जनताले दुई तिहाइ लिएर पठाउनुपर्छ । (नेपाल न्यूज बैंक)

प्रतिक्रिया