आज एनपीएल फाइनल: उपाधि जित्न सुदूरपश्चिम रोयल्स र लुम्बिनी लाइन्स खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको फाइनल खेल आज अपरान्ह सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३ः३० बजे सुरु हुने फाइनल खेलमा पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिष्पर्धा गर्दैछन् ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।

दिपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा भएको यी दुबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो ।

एनपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ ।

नेपाल क्रिकेट सङ्घ(क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ वटा टिम सहभागी थिए ।

प्रतिक्रिया