काठमाडौं। संविधान दिवसको अवसरमा फेरि उही अनुहारहरू काँचका पर्दामा देखिए— यिनै अनुहार जसबाट जनता थाकिसकेका छन्। कोही भव्य पार्टी भवन निर्माणको सपना देखाउँदै निस्किए, कोही नक्कली आँसु चुहाउँदै, भने कोही आफ्नै तालमा डम्फु बजाउँदै। तर, देशले भोगेको ताजा विनाशकारी घटनाले उनीहरूको शैली, बोलीचाली र चालढालमा कुनै असर पार्न सकेन, पारेको देखिएन।
जनताले चाहेको थियो— नेताहरूले गल्ती स्वीकारून् र क्षमाशीलताको भाव देखाउन्। तर, उल्टै उनीहरू अहंकार, आत्मश्लाघा र अभिमानको बोझमा झन् डुबेका देखिए। दायित्ववोध गर्नु त कता दोष छ भने अरुकै छ, त्यो पनि अज्ञात शत्रुको भन्ने पुरानै ध्वाँस दोहोर्याउँदै जनताको विश्वासमाथि धोका दिन उनीहरू पछि परेनन्। ‘भदौ पर्व’ पछि कम्तीमा नेताहरू सचेत भए होलान् भन्ने सर्वसाधारणको अपेक्षा पनि निराशामा टुंगिएको छ।
नेपालको इतिहासमा २३ र २४ भदौ विशेषरूपमा दर्ज हुनेछन्। यी दुई दिनमा राष्ट्रको मुटुमा प्रहार भएको छ । हिंसाहत्या, आगजनी र लुटपाटलाई सतही घटना ठानेर सामान्यीकरण गर्ने प्रयास खतरनाक हुनेछ। सिंहदरबार जलेर उडेको खरानीभन्दा लामो समयसम्म पोल्ने धुँवा यिनै घटनाले उत्पादन गरेको छ। यसको पृष्ठभूमिमा फर्कँदा प्रमुख दलका शीर्ष नेताहरुको निधारमा कोइलाको टीका देखिन्छ । किनभने जनताको भावना र आवाजलाई भुवा जस्तै हलुका सम्झिँदाको खेलाँचीको परिणाम पनि हो यो ।
यसलाई केवल आकस्मिक दंगामात्र ठान्नु पनि भूल हुनेछ। प्रतिशोधले ग्रस्त, बदलाको चेतावनीले भरिएको र राज्य संयन्त्रको क्षमतामाथि प्रत्यक्ष आक्रमण थियो यो। जेन–जी पुस्ताबाट सुरु भएको सुशासन, पारदर्शिता र भ्रष्टाचारविरोधी अभियानलाई दबाउन, युवाको उत्साहलाई तोड्न र स्वार्थी तत्वहरूको राजनीतिक एजेण्डा अगाडि सार्न गरिएको योजनाबद्ध प्रयास पनि थियो ‘भदौ पर्व’ भनेर सर्वसाधारबीच पनि चर्चा भैरहेको छ। अझ राजनीतिक विश्लेषकहरु त यसले नेपालको राजनीतिक स्थायित्वप्रति गम्भीर प्रश्न खडा गरिदिएको ठान्दछन्।
यस्तो गम्भीर अवस्थामा संविधान दिवस मनाईरहँदा नेताहरुले कम्तिमा जनता समक्ष क्षमायाचना गर्न हिच्किचाउनु हुँदैनथियो । यसले उनीहरुकै अनुहारको मैलो सफा गर्न मद्दत पुग्नेथियो । तर भएन त्यसो । बरु संविधान दिवसको दिन नेताहरूले भाषण र शुभकामनाका खोक्रो सन्देश छरे । ती शन्देशमा न जनताको पीडा सम्बोधन गर्ने तागत थियो, न भविष्यप्रतिको आशा जगाउने सामर्थ्य। बरु ती सन्देशहरूले केही दिनअघि मात्र भएको हिंसा, हत्या र विभत्स विनाशलाई शब्दको पहाडले ढाकछोप गर्ने असफल प्रयास गरेजस्तो ठानियो ।
संविधान दिवसले राष्ट्रिय एकता, आशा र भविष्यप्रतिको भरोसा जगाउने अवसर दिनुपर्ने थियो। तर यसपटक, नेताहरूको उपस्थिति र शुभकामना सन्देशले जनतामा निराशा मात्र थपिदियो। ‘भदौ पर्व’ ले देखाएको विभत्स यथार्थलाई ढाकछोप गर्नेभन्दा पनि त्यसको आत्मालोचना गर्ने साहस देखिएको भए, शायद संविधान दिवस केही अर्थपूर्ण बन्थ्यो।
यस अवसरमा आफ्नै अकर्मण्यताले निराश बनाईएका जनताको व्यथित ह्रदयमा थोरै भएपनि सम्मानको शीतलता छर्न तर्फ नेताहरुको पटक्कै ध्यान गएको देखिएन । सत्ताको घुम्नेमेचमा आलोपालो फन्को मार्दै आएका शीर्ष नेताहरुले संविधान दिवसका दिन एउटा सन्देश मनन् गर्नुपर्छ कि जनता काँचका पर्दामा उनीहरुलाई हेरिरहन अभिशप्त छैनन् ।
(फायल तस्बिर: २०७२ मा संविधानसभाले निर्माण गरेको संविधान जारी गर्दै प्रथम राष्ट्रपति रामबरण यादव र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग)
प्रतिक्रिया