काठमाडौं। नेकपा एमालेले फेरि एउटा संकल्प गरेको छ- त्यो हो, पार्टीमा आवध्द नेता कार्यकर्ताहरुका छोराछोरीहरुको सम्मेलन गर्ने र खस्किँदै गएको संगठनलाई बलियो पार्ने।
एमालेले अघि सारेको छोराछोरी अभियान वा पार्टी आबद्ध परिवारका छोराछोरीहरूको सम्मेलन गर्ने योजनामाथि गम्भीर राजनीतिक र सामाजिक टिप्पणी हुनु एकदमै स्वाभाविक र आवश्यक देखिन्छ।
व्यक्तिगत स्वतन्त्रता भर्सेस पारिवारिक विरासत
आजका युवा पुस्ता विशेषगरी जेनजी र मिलेनियल्स वैचारिक रूपमा बढी स्वतन्त्र, प्रविधिमैत्री र परिणाममुखी छन्। बाबु-आमा कुनै दलमा लागेकै कारण उनीहरूका सन्तान पनि स्वतः त्यही दलका अनुयायी बन्नुपर्छ भन्ने मान्यता सामन्ती वा परम्परागत विरासतकालीन सोच जस्तो देखिन्छ।
जबरजस्ती कि छनोट?
लोकतन्त्रको सुन्दरता नै विचार र छनोटको स्वतन्त्रतामा हुन्छ। पार्टीले 'छोराछोरीलाई सम्झाउन नसक्दा मत अन्तै गयो' भन्नुको अर्थ उनीहरू युवाको स्वतन्त्र चेतनालाई स्वीकार गर्नुभन्दा पनि उनीहरूमाथि एउटा निश्चित विचार जबरजस्ती लाद्न चाहन्छन् भन्ने भान हुन्छ।
नयाँ पार्टीहरूको उदय र परम्परागत दलहरूको डर
गएको निर्वाचनमा युवा मत राष्ट्रिय स्वतन्त्र पार्टीमा गयो भन्ने वास्तविकताले प्रष्ट पार्छ, रास्वपा जस्ता नयाँ राजनीतिक शक्तिहरूको उदय र उनीहरूतिर युवाको आकर्षणले एमाले र अन्य ठूला दलहरू भित्र ठूलो मनोवैज्ञानिक डर पैदा गरेको छ।
त्यसैकारण युवाहरू पुराना दलका पुराना एजेन्डा, गुटबन्दी र काम गर्ने ढर्राबाट दिक्क छन्। दलहरूले आफ्नो डेलिभरी र कार्यशैली सुधारेर युवालाई आकर्षित गर्नुको साटो पारिवारिक घेराबन्दी गरेर सदस्यता संख्या जोगाउने रक्षात्मक रणनीति अपनाएको देखिन्छ।
वैचारिक प्रशिक्षण कि ब्रेनवास?
पार्टीले 'छोराछोरीले कम्युनिष्ट पार्टी के हो नबुझ्ने अवस्था नहोस्' भन्नु र उनीहरूका लागि सम्मेलन गर्नुलाई कतिपयले राजनीतिक चेतना जगाउने प्रयास भन्न सक्छन्। तर, यसको अर्को पाटो के हो भनेस् जब दलहरूले खुला बजारमा युवाहरूलाई आफ्नो नीति र कामले आकर्षित गर्न सक्दैनन्, तब उनीहरू पारिवारिक साइनोको सहारा लिएर सदस्यता टिकाउने बाटो रोज्छन्। यसले राजनीतिक दलहरू आधुनिक र खुल्ला हुनुको साटो झन् संकुचित र पारिवारिक क्लब जस्तो बन्ने खतरा रहन्छ।
परिणाम: कत्तिको प्रभावकारी होला?
एमालेले विगत २०८० सालमा पनि यो अभियान सुरु गरेको तर प्रभावकारी हुन नसकेको इतिहास छ। आजको इन्टरनेट र सामाजिक सञ्जालको युगमा हुर्किएको पुस्तालाई केवल एउटा 'घोषणा' वा 'पारिवारिक दबाब' का भरमा कम्युनिस्ट वा कुनै पनि दलको कार्यकर्ता बनाउन असम्भव प्रायः छ। युवाहरू राजनीतिमा कार्यसम्पादन, सुशासन र रोजगारीको अवसर चाहन्छन्, केवल सिद्धान्तका कुरा होइन।
एमालेको यो संकल्प यसै पनि सोचनिय देखिन्छ। कुनै पनि दलले नेता-कार्यकर्ताका छोराछोरीलाई 'हाम्रो पेवा' वा 'सुरक्षित भोट बैंक' ठानेर अभियान चलाउनु युवा पुस्ताको राजनीतिक स्वतन्त्रतामाथिको प्रहार हो। दलहरूले सम्मेलन छोराछोरीको होइन, आफ्ना पुराना एजेन्डा र व्यवहारको परिमार्जनका लागि गर्नुपर्ने देखिन्छ। युवाहरूलाई पार्टीमा जोड्ने आधार 'नाता वा परिवार' होइन, देश विकासको स्पष्ट 'एजेन्डा र भिजन' हुनुपर्छ।
संगठनको आधार गुमेपछिको भय
यो कुनै नयाँ भिजन वा रचनात्मक कार्ययोजना होइन, बरु 'संगठनको जग हल्लिएपछि उत्पन्न भएको भयभित अवस्था' नै हो।
विगतमा पार्टीहरूका निश्चित 'क्याडर बेस' वा सुरक्षित भोट बैंक हुन्थे। तर अहिले विचार, सिद्धान्त वा पुराना आन्दोलनको ब्याज खाएर मात्रै पुग्दैन भन्ने कुरा गत निर्वाचनहरू र नयाँ दलहरूको उदयले प्रमाणित गरिसकेको छ।
बाहिरबाट नयाँ र स्वतन्त्र युवाहरू आकर्षित गर्न नसकेपछि, आफ्नै कार्यकर्ताका घरभित्र रहेका छोराछोरीलाई सम्हाल्न खोज्नु दलहरूको चरम रक्षात्मक र कमजोर अवस्थाको सूचक हो।
दलहरूमा देखासिकीको रोग
नेपाली राजनीतिमा एउटा दलले चालेको कदमको सिको अरू दलले पनि गर्ने खराब प्रवृत्ति छ। एमालेको यो संकल्प भोलि अरु पार्टीलाई पनि मन पर्न सक्छ। भोलि नेपाली कांग्रेस, माओवादी केन्द्र वा अन्य दलहरूले पनि आफ्ना कार्यकर्ता जोगाउन 'पारिवारिक सम्मेलन' वा 'भ्रातृ संगठन' को नयाँ स्वरूप भन्दै यस्तै अभियान ल्याउन बेर लाउँदैनन्। यसले राजनीतिलाई विचारको प्रतिस्पर्धाभन्दा पनि 'पारिवारिक समूह' को प्रतिस्पर्धामा परिणत गर्ने जोखिम बढाउँछ।
सुशिक्षित युवा र 'करकाप' को असम्भव समीकरण
आजको सुशिक्षित, सूचना प्रविधिको पहुँचमा भएको र विश्व परिवेश बुझेको युवा पुस्तालाई कसैले करकाप वा भावनात्मक ब्ल्याकमेल गरेर पार्टीको झण्डा बोकाउन सक्दैन। आजका युवा 'बाबु-आमाले भोट हालेकै ठाउँमा हाल्नुपर्छ' भन्ने परम्परागत पारिवारिक अनुशासन मान्न तयार छैनन्।
उनीहरू राजनीतिक दललाई 'पवित्र संस्था' होइन, एउटा 'डेलिभरी एजेन्सी' का रूपमा हेर्छन्। जसले देश विकास, रोजगारी, गुणस्तरीय शिक्षा र सुशासन दिन्छ, युवाको समर्थन उसैलाई जान्छ।
कठोर कम्युनिस्ट शासन र खुला समाजको भिन्नता
'छोराछोरी अभियान' वा राज्य र पार्टी नियन्त्रित पारिवारिक प्रशिक्षण केवल २०औं शताब्दीका कठोर, एकदलीय कम्युनिस्ट शासन वा अधिनायकवादी व्यवस्था (जस्तै विगतको सोभियत संघ वा सांस्कृतिक क्रान्तिकालीन चीन) मा मात्र सम्भव हुन्थ्यो, जहाँ सूचना र विचारमा राज्यको पूर्ण एकाधिकार हुन्थ्यो।
आजको खुला, लोकतान्त्रिक र भूमण्डलीकृत नेपालमा यस्तो अवधारणा आफैंमा एउटा विरोधाभास हो। जबसम्म दलहरूले आफ्नो डेलिभरी र नेतृत्व परिवर्तनको एजेन्डा सुधार्दैनन्, तबसम्म यस्ता 'कृत्रिम अक्सिजन' ले संगठनलाई लामो समयसम्म जीवित राख्न सक्दैन।
पार्टीहरूले आफ्नो संगठन बचाउन यस्ता अप्राकृतिक बाटो रोज्नुले उनीहरू समयको गतिभन्दा कति पछि छन् भन्ने कुरा स्पष्ट पार्छ। युवाहरू पार्टीका कार्यक्रममा नभएर देश छोडेर विदेशिने लाइनमा बस्न बाध्य भएको यो समयमा, यस्ता सम्मेलनहरू कति 'क्रूर मजाक' जस्ता देखिन्छन् भन्ने कुरा दलहरूले कहिले बुझ्लान?
प्रतिक्रिया