विशेष सम्पादकीय

ओलीको हातबाट उम्किएको समय

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्नेगरि सर्वदलीय बैठक बोलाएका छन् । 

सोमबार जेनजीको प्रदर्शनमा भएको हिंसा र त्यसपछि उत्पन्न अनियन्त्रित तनावग्रस्त अवस्था अवलोकनपछि ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका हुन् । 

उनले उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संवद्ध पक्षसँग संवादमा रहेको पनि दाबी गरेका छन् । कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने भन्दै शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने ओलीको भनाई छ ।

प्रधानमन्त्रत्रीको यो तयारी भैरहँदा उनको राजीनामा देशभरबाट र विदेशमा रहेका नेपालीले समेत मागिएको छ । यतिमात्र होइन उनको निजी निवास बालकोट दरबारमा आन्दोलनकारीले आगो झोसीसकेका छन्, घर आक्रमणबाट जीर्ण भैसकेको छ ।

यसैगरी प्रमुख राजनीतिक दलका अध्यक्ष, पदाधिकारी, भ्रष्ट कहलिएका नेता, मन्त्री र पार्टी कार्यालयहरुमा पनि आगो लागिसकेको  छ । राष्ट्रपति रामचन्द्र पौडेलको काठमााडौं बोहराटारस्थित निजी निवासमा पनि आगजनी भएको छ भने आन्दोलनकारी सिंहदरबार पस्ने प्रयाशमा छन् ।

यस्तो अवस्थामा प्रधानमन्त्री ओलीको सर्वदलीय बैठकको के अर्थ होला र ? आगो लागिसकेपछि दमकल खरिद गर्ने सल्लाह जस्तो मात्र हुने देखिन्छ प्रस्तावित सर्वदलीय वैठक । किनभने प्रधानमन्त्री स्वयं निसानामा परेका छन् । 

सत्तारुढ दलका नेताहरुमात्र होइन प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालका निवासमा समेत ढुंगा वर्षिसकेको छ भने  त्यहाँ आगो लाउने प्रयाश जारी देखिन्छ । सेनाको हेलिकोप्टरले भैंसेपाटी निवासबाट मन्त्रीको सुरक्षा उध्दार गरिरहेको छ भने स्वयं प्रधानमन्त्री देश छाडेर विदेशिँदैछन् भन्ने चर्चा चलिरहेको छ । यो कुरा सत्यअसत्य के हो त्यो त यसै भन्न सकिने अवस्था नै छैन, कसैले यसको जवाफ दिनसक्ने परिस्थिति नै रहेन अहिले ।

यस स्थितिमा सर्वदलीय वैठक भन्दा सहज निकास प्रधानमन्त्रीको राजीनामा नै हुने देखिन्छ । केवल प्रधानमन्त्री मात्र होइन सिँगो मन्त्रीपरिषदले नै सरकारको राजनीतिक पद खाली गरेर विकल्पका लागि  मार्ग प्रशस्त गर्दा नै देशमा अशान्ति रोक्न र आन्दोलनकारीका माग सम्वोधन गर्न सहयोग पुग्छ ।

तसर्थ हाम्रो सुझाव छ कि प्रधानमन्त्री ओलीले तत्काल कुनै आनाकानी र बहानाबाजी नगरी पदबाट आफू पनि राजीनामा गरुन् र सिँगो टिमलाई नै राजीनामा गराउन् । यही नै उनको बचेखुचेको विश्वास बचाउने उपाय पनि हो । यसमा विलम्ब नगरियोस् ।

देश पुरै तनावमा छ । राजधानीको आकाशमा धुँवाको मुस्लो मडारिईरहेको छ । हवाई र स्थलगत यातायात ठप्प छ । राज्यका सबै सन्यन्त्रहरु शिथिल देखिन्छन् । एककिसिमले देश नेता र नेतृत्वविहीन स्थितिमा रहेको छ । यो अवस्था भनेको कुनैपनि देशको जीवनमा गम्भीर स्थिति हो । यसलाई प्रधानमन्त्री पदमा यतिञ्जेल आसिन ओलीले हलुका रुपमा नलिनु नै थप क्षति रोक्ने कदम हुनेछ । र यो सर्वदलीय वैठक बसेर सरसल्लाह गर्ने समय होइन, त्यो समय ओली र उनको मतियार गुटको हातबाट उम्किसक्यो ।

(तस्बिर- सिंहदरबार मुख्य प्रवेशद्वारमा आन्दोलनकारी)

प्रतिक्रिया