देउवापछि प्रचण्ड, प्रचण्डपछि ओली, अनि फेरि देउवै - अरू हेरेको हेर्यै ?

-श्रीकृष्ण अनिरुद्ध गौतम 

आफ्नो वचनबाट यदि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली विचलित हुनुभएन भने, असार २०८३ मा यसअघि पाँच पटक प्रधानमन्त्री बनिसक्नुभएका शेरबहादुर देउवा छैटौं पटक नेपालका प्रधानमन्त्री बन्नुहुनेछ । उहाँले प्रधानमन्त्री बन्नेहरूमध्ये सबैभन्दा बढी पटक प्रधानमन्त्री बनेको रेकर्ड कायम गर्नु हुनेछ । 

अर्थात् यसरी उहाँले पाँच पटक प्रधानमन्त्री बन्नु भएका आफ्ना गुरु गिरिजाप्रसाद कोइरालालाई उछिन्नु हुनेछ । 

यो रेकर्ड सम्भवतः नेपालका लागि मात्र होइन, विश्वकै इतिहासमा अंकित हुनेछ । जम्माजम्मी लगभग १४ सय डलर प्रतिव्यक्ति आय भएको अल्पविकसित देश जहाँबाट उद्योगका उत्पादन होइन, मान्छे निर्यात हुन्छन्, निर्यातित मान्छेबाट आएको विप्रेषण (रेमिट्यान्स्) ले देशको खर्च धानिन्छ, त्यहाँ, उहाँ छैटौं पटक प्रधानमन्त्री बन्दा पनि देश अल्पविकसित र भ्रष्टाचारग्रस्त नै रहिरहेको हुनेछ । 

नेपालीहरू प्रतिदिन निकासी भइरहेकै हुने छन्, त्यो पनि पश्चिम एसिया अर्थात् अरब, इजरायलजस्ता निरन्तर युद्धग्रस्त क्षेत्रहरूमा कालसँग जोगिदै श्रम बेच्न । 

देउवा प्रधानमन्त्री भएको खुशीमा ब्रोडसिट अखबारहरूले फेरि एकपटक उहाँको जीवनी लेख्ने छन्, अनलाइन पोर्टलहरूले आफ्ना पहिलाका सामग्रीहरू अद्यावधिक गरेर प्रकाशित गर्ने छन् । टेलिभिजनहरूले पनि कुनै रिसर्च गर्नुपर्ने छैन, पुरानै सामग्रीको पुनरुक्ति गर्दै नयाँ मिति राखे पुगिहाल्ने छ । सामाजिक सञ्जाल त्यसदिन उहाँका विभन्न पोजका तस्बिरले रंगिने छन् । 

एउटा जाने र अर्को त्यो ठाउँमा आउने, अर्को भनेको पहिलाकै अनुहार फर्किने क्रमबाहेक उपलब्धिचाहिं के भन्ने प्रश्न न नेपाली कांग्रेसमा उठ्ने छ, न त एमाले र माओवादीमै । नयाँ ‘नो नट अगेन’ भनेर आएका दलहरू, निर्वाचन लगत्तैका सरकारमा सामेल भइसकेका हुँदा उनीहरूसित सबल रूपमा आलोचनात्मक रूपमा प्रस्तुत हुने मनोबल त्यसबेला पनि हुने छैन । किनभने त्यहाँ समेत तथ्यसंगत, तर्कसंगत विरोध गर्ने भन्दा पनि भावनात्मक लहडकै वर्चस्व रहेका कारण परिणाम खोज्ने उद्योग हुने गरेको पाइएको छैन । पाइएको छैन किनभने २०८१ साल असारमा ओलीको नेतृत्वमा सरकार बनाउनु पर्नाका पछाडिको तर्क थियो, संविधान संशोधन तर त्यस विषयमा न त सत्तापक्षमा बसेका सदस्यहरूले सशक्त आवाज उठाए, न त प्रतिपक्ष त्यसमा पनि नयाँ आएका झर्झराउँदाले नै संशोधनबारे कुनै जिज्ञासा राखे, प्रश्न गरे । 

यहाँ मेरो जिज्ञासाचाहिं के छ भने छैटौं पटक प्रधानमन्त्री हुँदा उहाँ पछिल्ला पाँच पटकभन्दा कुन अर्थमा भिन्न हुनुहुनेछ ? निश्चय नै उहाँ उमेरले चौरासीतिर लम्किदै हुनुहुनेछ । यहाँ मेरो चासो उहाँको उमेर होइन, मेरो जिज्ञासाचाहिं उहाँसँग देशसमक्ष प्रस्ताव गर्ने के कस्ता योजना हुने छन् भन्ने हो ?   

गाली होइन र आलोचना पनि होइन, प्रश्न हो ।

जहाँ अर्थतन्त्रलाई थेग्ने नाममात्रका उद्योग छन् र अझै पनि विद्वत्जनहरू जलविद्युत र पर्यटनले नै अर्थतन्त्र उँभो लाग्छ भनिररहेका छन्, त्यहाँ स्कूल पास गरेका, मध्यम वर्गका सन्तानहरू राहदानी बनाउन वडाबाट सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय र परराष्ट्र मन्त्रालयको राहदानी विभागमा पालो पर्खिरहेका भेटिन्छन् । घर घरमा देश बस्न लायक छैन भन्नेहरूको बोलबाला रहिरहेको छ । साक्षरता बढेको छ तर साक्षर जनसंख्या गाउँमा उन्नत कृषि र पशुपालन, नगदे बाली र कृषिजन्य उद्योगतर्फ आकर्षित हुन सकिरहेको छैन । उद्यममा लाग्न चाहने तन्नेरीहरूलाई राज्यप्रशासनले सहजीकरणभन्दा बढी अनावश्यक झन्झट दिइरहको छ । 

यहाँनेर प्रशासनलाई मात्र दोष लगाएर पन्छिन किन पाइन्न भने प्रशासन मन्त्रालय मातहत नै हुन्छ र हरेक मन्त्रालयका मन्त्री हुन्छन्, सबै मन्त्रीहरूका प्रमुख प्रधानमन्त्री हुन् । त्यसैले देशमा जेजति राम्रा काम भएका छन् तिनको जश प्रधानमन्त्रीलाई जान्छ भने अपजश पनि प्रधानमन्त्री कै हुन्छ । मन्त्रीले, मन्त्री मातहतका मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयहरूले यदि यथोचित कार्यप्रदर्शन गरिरहेका छैनन् भने त्यसको जबाफदेहिता प्रधानमन्त्रीको हुने भएपछि जनतासमक्ष आफू पाँच पटक प्रधानमन्त्री हुँदाका बेलाका कार्यप्रदर्शनको रिपोर्टकार्ड प्रस्तुत गरेरमात्र छैटौं पटक प्रधानमन्त्री बन्नु जायज हुन्छ । तर तपाईंलाई मलाई राम्ररी थाहा छ त्यो रिपोर्टकार्ड माग्ने सोच उहाँका प्रतिस्पर्धीमै छैन । अझैसम्म देखिएको छैन ।

२०४८ सालमा महानिर्वाचनपछि बनेको नेपाली कांग्रेसको बहुमत सरकारमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो, कोइराला मन्त्रिपरिषद्मा देउवा गृहमन्त्री हुनुहुन्थ्यो । सरकार बहुमतको थियो तर पार्टीभित्रको कलह उत्कर्षमा पुगेका कारण २०५१ सालमा देश मध्यावधिमा गयो र त्यो कलहकै परिणामस्वरूप कांग्रेसलाई नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी, अर्थात् एमालेले उछिन्यो तर बहुमत भने हासिल गर्न सकेन । एमालेले अल्पमतको सरकार बनायो । कांग्रेसले देउवालाई संसदीय दलको नेता बनायो, सटिक शब्दमा भन्नुपर्दा कोइरालाले मार्गप्रशस्त गरिदिनु भयो, त्यसैकारण उहाँ दलको नेता बन्न सम्भव भएको थियो ।

तर एमालेको सरकार बनेको केही महिनापछि सरकारलाई समर्थन दिएका घटक दलहरूले समर्थन फिर्ता लिए, तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधिसभा विघटन गर्नु भयो तर त्यो विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएर प्रतिनिधिसभाको पुनःस्थापना गरिदियो । अविश्वासको प्रस्ताव पारित भएर एमालेको सरकार हटेपछि कांग्रेस संसदीय दलका नेता देउवाको नेतृत्वमा, राप्रपा र सद्भावना पार्टी सहितको सहभागितामा संयुक्त सरकार बन्यो । त्यो सरकारले भारतसित महाकाली सन्धि ग¥यो र अनौठोचाहिं के भयो भने त्यो सन्धिको अनुमोदन गर्न जोडबल लगाउने प्रमुख पात्रमध्येमा तत्कालीन प्रतिपक्ष एमालेका एक मुख्य स्तम्भ, हालका प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । 

स्मृतिलोकमा फर्किदा देउवा र ओलीको सहकार्य भर्खरै यही सरकार बनाउदामात्रै भएको होइन उहाँहरू धेरै पहिलैदेखि राजनीतिक लेनदेन गरिआउनु भएको हो भन्ने प्रस्टिन्छ । प्रसंगात् यहाँ के पनि सम्झाउँ भने अहिले पारस्परिक तिरष्कार गरिरहनुभएका ओली र माधवकुमार नेपाल उतिखेरचाहिं एक मन मुटु हुनुहुन्थ्यो । नेपाल एमाले महासचिव हुनुहुन्थ्यो र ओली उहाँका प्रमुख आधार । 

देउवा नेतृत्वको संयुक्त सरकार १८ महिना चल्यो, त्यसपछि एमालेले राप्रपा नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनायो, त्यसको केही महिनापछि कांग्रेसले राप्रपाकै सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनायो र फेरि कांग्रेसले नै थापालाई हटाएर एमालेबाट फुटेर बनेको मालेलाई साथ लिएर गिरिजाप्रसाद कोइराला स्वयं प्रधानमन्त्री बन्नुभयो । केही समयपछि कोइराला सरकारमा एमाले सामेल भयो, मालेलाई पाखा पारियो । 

सत्ताको त्यो म्युजिकल चेयर चलिरहेकै क्रममा २०५६ सालमा तेस्रो पटक प्रतिनिधिसभाको चुनाव भयो, चुनाव हुनुअघि कोइरालाले भावी प्रधानमन्त्रीका रूपमा कृष्णप्रसाद भट्टराईको नाम प्रस्ताव गर्नुभएको थियो, फलस्वरूप कांग्रेसले बहुमत हासिल ग¥यो । भट्टराई प्रधानमन्त्री बन्नु त भयो तर केही महिनापछि नै कोइरालामा सत्ता लालसा यति तीब्र देखियो कि भट्टराईलाई हटाएर उहाँ आफैं प्रधानमन्त्री बन्नुभयो । यसले नेपाली राजनीतिको स्तर कतिसम्म गिर्न सक्दो रहेछ भन्ने त देखायो नै साथसाथै लोकतान्त्रिक राजनीतिक प्राधिकार अर्थात् डेमोक्रेटिक पलिटिकल अथोरिटी नै धेरै नराम्रो गरी खस्किन पुग्यो । अर्कोतिर थियो, माओवादीको हिंसात्मक विद्रोह र त्यसको विस्तार । यता लोकतान्त्रिक प्राधिकार खस्किदो, हिंसात्मक विद्रोह विस्तारित भइरहेकै बेला २०५८, जेठ १९ मा दरबार हत्याकाण्ड भयो । 

त्यो हत्याकाण्डका कारण मुलुकको राजनीतिक परिदृश्य अर्थात् पलिटिकल ल्याण्डस्केप नै बदलियो । 

बदलिएको परिस्थितिमा कोइरालाले प्रधानमन्त्रित्व त्याग्नुभयो र कांग्रेसको बहुमत सरकारको नेताका रूपमा फेरि देशको प्रधानमन्त्री बन्न आउनुभयो शेरबहादुर देउवा । त्यसपछि उहाँले माओवादीसँग राजनीतिक संवाद शुरु गर्नुभयो तर त्यसले सार्थक परिणाम ल्याउन सकेन, हिंसात्मक द्वन्द्व चर्किदै गएर देशमा संकटकाल नै लगाउनुपर्ने अवस्था आयो । पार्टी र सरकाबीच फेरि मतभेद चुलियो, उहाँले प्रतिनिधिसभा विघटन गर्नुभयो । यहाँ के स्मरण गर्नैपर्छ भने राजनीतिक व्यवस्थापन गर्न नसक्दा नेपालमा बारम्बार प्रतिनिधिसभामाथि प्रहार हुने गरेको र प्रधानमन्त्रीको संसदीय दलमा बहुमत हुँदाहुँदै पनि पार्टीले नाहक अनेक हस्तक्षेप गर्ने गरेको छ । 

२०५१ सालमा कोइरालामाथि जे भयो, २०५९ सालमा देउवामाथि त्यही भयो । त्यसैको परिणति थियो, असोज १८, २०५९ र त्यसपछि, जगजाहेर छ, देशको राजनीतिको दशा र दिशा अर्कैतिर मोडियो । हुन त त्यसपछि माघ १९, २०६१ अघि उहाँ एक पटक फेरि प्रधानमन्त्री बन्नुभएको थियो, तर त्यो सम्मानजनक थिएन, मनोनीत थियो । अर्थात् देश गणतन्त्र नहुँदै दुई पटक निर्वाचित र एक पटक मनोनीत गरी तीन पटक तथा देश गणतन्त्र भइपछि २०७४ सालको निर्वाचन अघि र २०७९ को निर्वाचन अघि गरी दुई पटक उहाँ प्रधानमन्त्री बनिसक्नु भएको छ । 

देउवा दुई कार्यकाल १३ औं र १४ औं महाधिवेशनद्वारा निर्वाचित  कांग्रेस केन्द्रीय सभापति हुनुहुन्छ । यही सामथ्र्यका साथ उहाँ फेरि  अब एक वर्षपछि आफ्नो उमेरको ८१ औं वर्षमा फेरि प्रधानमन्त्री बन्नलाई कांग्रेसका एकमात्र योग्य पात्रका रूपमा प्रस्तुत हुन गइरहनु भएको छ ।  

फेरि प्रधानमन्त्री बनेपछि देउवा साढे एक वर्ष प्रधानमन्त्री रहँदा हुन्छ के ? त्यसबखत उहाँका प्राथमिकता के कस्ता हुन्छन् ? त्यसैबीच उहाँले नेपाली कांग्रेसको महाधिवेशन गराउनु हुन्छ, गराउनु हुन्न ? यी प्रश्न वास्तवमा औपचारिक प्रश्न हुन् किनभने राजनीतिमा मात्र होइन, हरेक प्रतिस्पर्धात्मक क्षेत्रमा सशक्त प्रतिद्वन्द्वी उपस्थित नभएसम्म नेताले आफैं, सहजै नेतृत्व छोड्दैन, किनभने उहाँ पनि लरतरो होइन आफ्ना राजनीतिक गुरु गिरिजाप्रसाद कोइरालालाई राम्ररी पढ्नु भएको पात्र हो । कोइरालासँग प्रतिस्पर्धा गरेर उठ्नुभएको नेता हो । 

(आगामी एपिसोडमा एमाले अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा गरिनेछ ।)

यस विश्लेषणको भिडियो संस्करण यो लिंकमा हेर्न सकिने छ-https://www.youtube.com/watch?v=XklDaQOhMMA

 

प्रतिक्रिया