- श्रीकृष्ण अनिरुद्ध गौतम
रसुवाका साङ तेम्पा काठमाडौंका घटनाक्रमबाट टाढा हुनुहुन्न । देश दुनियाँमा भइरहेका घटनाहरूसँग निरन्तर अद्यावधिक हुनुहुन्छ । उहाँ घरै बसीबसी, बारीमा, खेतमा काम गर्दैगर्दा उहाँसमक्ष सबै घटना विवरण पुगिसक्छ । उहाँले न टेलिभिजन अन गर्नुपर्छ, न त रेडियो सेट नै । समाचारपत्रको त कुरै कता कता । देशमा आज यस्तो स्थान विरलै होला जहाँ देशभित्र र बाहिरका समाचारहरू नपुगेका हुन् । स्मार्टफोन र इन्टरनेटले चेतनाको संसारलाई अर्कै बनाइदिएको छ । यहाँसम्मकि घटनाक्रमप्रति कुनै चासो नराख्ने भनेर चिनिएको मानिस समेत प्रधानमन्त्री केपी शर्मा ओलीले भीमबहादुर रावलप्रति गरेको व्यवहारसँग परिचित छ । पूर्वराष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी र बहालवाला प्रधानमन्त्री ओलीबीच चलिरहेको वाकयुद्धसँग ओखलढुंगाको लिखु बस्ने मेघबहादुर कार्की परिचित हुनुहुन्न भन्न सकिन्न । मुलुकमा भइरहेका घटनाक्रमसँग परिचित मात्र होइन उहाँको निजी धारणा र विश्लेषण पनि छ । कमबेसी, बढाइचढाइ होला तर साक्षर, निरक्षर, सबैको चेतनाको द्वार खुलेको छ ।
संसार फेरिइसकेको छ । संसार फेरिदै गर्दा नेपालमा पनि आधुनिक प्रविधि भित्रिएको छ, प्रविधि र उपकरणमा पहुँच भएसँगै जानकारी पनि फराकिलो भएको छ । हरेक व्यक्तिको जीवन विज्ञानसँग जोडिन पुगेको छ, जोडिएको छ । विज्ञानकै उन्नयनका कारण प्रविधि र मान्छेका बीच अन्तरक्रिया भइरहेको र यस अन्तरक्रियाका क्रममा हरेक मान्छे विश्वव्यापी सञ्जालमा जोडिएको छ ।
अचेल सबैभन्दा छिटो समाचार, सूचना, कुराकानीको आदान प्रदान सामाजिक सञ्जालबाट हुन्छ । अनलाइन पोर्टलहरूका लिंकहरू भन्दा छिटो सामाजिक सञ्जालहरूले सूचित गर्छन् । विश्वभरका खबरका लागि अब अखबार पर्खिरहनु पर्दैन । स्मार्टफोनमा इन्टरनेट कनेक्सन र एपहरू भएपछि पुग्छ । समाचार, विश्लेषण, विचार, दृष्टिकोण सबै एउटै उपकरण क्लिक गर्दा तत्काल उपलब्ध हुन्छन् । दिनदिनैका, पलपलका घटनाहरू थाहा पाउन समाचारपत्र, शर्ट वेभ, मिडियम वेभ रेडियो, टेलिभिजन त परै अब एफएम रेडियो पनि पर्याप्त छैनन् । शर्टवेभ, मिडियम वेभ रेडियो भन्ने त अचेल धेरैलाई थाहा पनि छैन, जसलाई थाहा थियो उसको पनि स्मृतिबाट लोप भइसकेको छ ।
सूचना सञ्चारको क्षेत्रमा भएको यस क्रान्तिले विविध क्षेत्रमा नवप्रवर्तनका लागि भव्य अवसरहरूको सिर्जना गरिरहँदा परम्परागत प्राधिकारलाई चुनौतीसमेत दिइरहेको छ । पुराना मानक तोडिदै, नयाँ मानक स्थापित भइरहेका छन् । परम्परागत पत्रकारितालाई सामाजिक सञ्जालले विगत बनाइरहेको छ । डिजिटल पोर्टलहरूको ओइरो लागेको छ एवं ती पोर्टलका लिंकहरूका वाहक समेत सामाजिक सञ्जाल नै बनेका छन् । समाचारहरू सर्वप्रथम सञ्जालले नै ब्रेक गरिरहेका छन् । यसरी पत्रकारिता अब पत्रकारका रूपमा प्रशिक्षित व्यक्तिको विशेषताको विषय रहेन, यसको व्यापक लोकतन्त्रीकरण भएको छ । समाचार प्रेषित गर्ने अधिकार पत्रकारका हातमा सीमित रहने समय अतीत भइसकेको छ । हातमा स्मार्टफोन भएको प्रत्येक व्यक्ति पत्रकार भएको छ । पत्रकारमात्र होइन ऊ डिजिटल क्रिएटर र विश्लेषक नै भएको छ । बिना कुनै सम्पादन उसका समाचार, विश्लेषणहरू विश्वका हरेक स्थानमा पुग्छन्, पुगिरहेका छन् । न्युज नै अचेल उनीहरू ब्रेक गर्छन् ।
यस हिसाबले, राजनीति गर्नेहरू मात्र होइन, हरेक मानिस अहिले प्रतिस्पर्धामा छ ।
सूचना र सञ्चारका क्षेत्रमा भएको यो काल–अतिक्रमणकारी परिवर्तनले जीवनका हरेक क्षेत्रलाई खुला बनाइदिएको छ । सूचनामा आएको यस क्रान्तिले हरेक कर्म, सम्बन्ध र अन्तर्सम्बन्धलाई एउटा नयाँ भाषा दिएको छ । हरेक बिम्बहरू नयाँ बिम्बद्वारा प्रतिस्थापित भइरहेका छन् । यस परिदृश्यमा राजनीति झन् यस बदलावको आलिंगनमा नपर्ने भन्ने प्रश्नै उठ्दैन । त्यसैले सबैभन्दा बढी आलोचना खेप्ने पनि राजनीति गर्नेहरू, तिनमा पनि सत्ता र सत्ताका सान्निध्यमा रहेकाहरू बन्न पुगेका छन् । यस्तो नेपालमा मात्र होइन, प्रविधिका कारण सार्वजनीन भएको छ, विश्वव्यापी भएको छ ।
राजनीति अर्थात् नीतिहरूको प्रमुख, नीतिहरूको नेता हो । ज्ञान, विज्ञान, अर्थ, इतिहास, शिक्षा, साहित्य कुनै यस्तो क्षेत्र छैन, जहाँ राजनीतिको स्पर्श नहोस् । सञ्चारमा आएको क्रान्तिले सूचना, समाचारमा तात्कालिकता सामान्य भएको छ, तर साथसाथै अप्रशोधित समाचार, विचार, दृष्टिकोणका कारण समाजमा एकप्रकारको विकार पनि सामान्य हुँदै आएको छ । विकारमात्र होइन, विकारको अध्ययनगर्ने विधा पनि आरम्भ भएको छ । विकारको उपचार पनि प्रारम्भ भएको छ ।
साथै वैश्विकस्तरमा हेर्ने हो भने प्राविधिक उत्कर्ष र प्रवर्तनले अर्को भव्य चमत्कार गरेको छ शिक्षा क्षेत्रमा, ज्ञान आर्जनका क्षेत्रमा, आआफ्नो रुचि भएका क्षेत्रमा विशिष्टता हासिल गर्न अनन्त अवसर खोलिदिएको छ । अवसर त खोलिदिएको छ तर नेपालमा ती अवसरलाई लोकहितमा प्रयोग गर्ने वातावरण बनाउने दिशातिर के राजनीतिक नेतृत्वले सोचेको छ ? त्यस दिशामा राज्यका कुन संस्थाले अध्ययन गरिरहेका छन् ? यी प्रवर्तनमाथि राज्यका साथै शासन गर्ने र शासनमा जान चाहने दलहरूले पनि त संस्थागत अध्ययन गर्नु पर्दो हो । निश्चय नै एउटा ल्यापटप लिएर एउटा रेस्त्राँमा बसेर पनि एउटा प्रोफेसनलले राम्रो आयअर्जन गर्न सक्छ, तर त्यसका लागि राज्यले सहजीकरण गर्ने निकायको पनि त आवश्यकता पर्छ । ल्यापटपका विकसित नयाँ संस्करणहरू, सम्बद्ध उपकरणहरू अनुदानमा पाउन अथवा किन्न ऋण पनि त उपलब्ध हुनुपर्दो हो । बैंकिङ सेवालाई झन्झटमुक्त बनाउनु पर्दो हो । शिक्षालाई औपचारिक घेराबाट मुक्त गरेर खुला सिकाइ र पढाइलाई प्रबर्ध्दन गर्नु पर्दो हो ।
विकसित देशहरू, विशेष गरेर संयुक्त राज्य अमेरिकामा शिक्षा यदि घेरामुक्त र प्रयोगात्मक नहुँदो हो त आज विन्डोज हुने थिएन, विन्जोडमात्र होइन माइक्रसफ्ट नै हुने थिएन । एप्पलका यति उन्नत प्रडक्टहरू हुने थिएनन् । अरु त अरु आज तपाईंले प्रयोग गरिहनुभएको फेसबुक नै हुने थिएन ।
अझ अगाडि बढेर भन्नुपर्दा युग कृत्रिम बौद्धिकताको सहयोगद्वारा कामकाज गर्ने, कार्यपरिष्कार मार्गमा प्रवेश गरिसकेको छ ।
यसरी विज्ञानले जीवनका यावत् पक्षलाई नयाँ अर्थ दिएको छ, तर राजनीति नि ? विशेष गरेर नेपालको राजनीति नि ?
राजनीतिलाई ज्ञानसँग, विज्ञानसँग नजोडी उन्नति, प्रगति सम्भव छैन । नयाँ प्रविधिहरूको सार्थक र उत्पादनशील प्रयोग गर्न राजनीति र विज्ञानबीचको अन्तक्र्रिया सघन र प्रेमपूर्ण हुनु अनिवार्य हुन्छ, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भनेजस्तो ल्यापटप लिएर एकान्तमा गएर बस्दा, राम्रो आयआर्जन तबमात्र सम्भव हुन सक्छ, जब राज्यले तदनुरूप पूर्वाधार बनाइदिन्छ, विधि व्यवस्था तयार गर्छ । सृजनलाई प्रोत्साहन र सहयोग गर्छ । शोधअनुसन्धानमा दिल खोलेर लगानी गर्छ । ज्ञानका लागि बजेट छुट्याउँछ । नेपालका खर्बपति भनेर धन र नाम कमाएका उद्योगपति, बैंकर र व्यापारीहरूले फोब्र्समा नाम आयो भनेर प्रचार गरेर मात्र के हुन्छ, तब मात्र केही हुन्छ जब उनीहरू विज्ञताको संवद्र्धन गर्न ज्ञानका क्षेत्रमा आफ्नो कमाइको दशांश लगाउँछन् । त्यस अवस्थामा निश्चय नै अमेरिकाको क्यालिफोर्निया र भारतको हैदरावादमा बसेर ल्यापटप बोकेर आयआर्जन गरेजस्तो यहाँ पनि हुन सक्छ, हुन्छ, तर त्यसका लागि राज्यको चित्त पनि त्यतिकै उदार हुनुपर्छ । आफू खर्बपति हुँ भन्नेहरूले ज्ञान उन्नयनका निम्ति संस्थाहरू स्थापना गर्नुपर्छ ।
अन्यथा नलिनु, वास्तवमा अझै गगन थापाकै ध्यान समेत निर्माताहरू बनाउनतर्फ होइन, प्रयोगकर्ता बनाउनुपर्छ भन्नेतर्फ नै देखिन्छ । देश उन्नत हुनलाई निर्माताहरू र प्रयोगकर्ता दुबैको आवश्यकता पर्छ । उत्पादक र उपभोक्ता दुबैको आवश्यकता पर्छ । ऊर्जा उत्पादन गर्नुपर्छ र त्यो ऊर्जा प्रयोग गर्ने उद्योग पनि बन्नुपर्छ । सडक पूर्वाधार बन्नुपर्छ र सडकमा गुड्ने वाहनको उत्पादन पनि गर्नुपर्छ । मान्छे जन्माउने, पालन पोषण गर्ने र विदेशमा निर्यात गर्ने प्राकृतिक उद्योग चलाएर मात्र हुँदैन, ती मान्छेद्वारा वस्तु उत्पादन गर्ने र ती वस्तु निर्यात गर्ने पूर्वाधार, इन्डस्ट्री बन्नुपर्छ भन्नेतर्फ विचारलाई नमोडी युवा पलायन रोक्नुपर्छ भनेर ठूलो स्वरमा गरिएका विश्वप्रकाश शर्माका भाषणले युवा पलायन रोकिदैन ।
मैले नयाँ सञ्चार युगको कुरा सविस्तार किन गरेको हुँ भने लच्छेदार भाषणमात्र सुनाएर मानिसलाई मख्ख पार्ने दिन गए । आवश्यकता कार्यप्रदर्शनको छ । निश्चय नै बोल्न पनि जान्ने र साँच्चीकै काम गरेर देखाउने नेता खोज्दैछन् पालिकाहरू, प्रदेशहरू र केन्द्र पनि । यी कुरा मैले मेरा मनमा उब्जेर भनेको होइन, यो धनगढीको युवा समूहसँग अन्तक्र्रियाको सार र धनगढीकै थारु समुदायकी भलमान्सा प्रतिनिधि भावना चौधरीको पनि मनोकांक्षा हो । केही दिन अघि, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एउटा कार्यक्रममा देशबाट निर्यात त केवल मान्छेकै मात्र भइरहेको छ भन्नुभएको थियो । त्यो उहाँले साँचो कुरा गर्नुभएको हो तर यहाँनेर के पनि बिर्सनु हुँदैन भने उहाँ स्वयं पाँच पटक प्रधानमन्त्री भइसक्नु भएको हो । दुई कार्यकाल कांग्रेसका केन्द्रीय सभापति हुनुहुन्छ । देशमा यस्तो अवस्था बन्नुमा उहाँ स्वयं पनि जिम्मेवार हुनुहुन्छ भन्ने विषयमा यो वास्तवमा उहाँको विनम्र आत्मस्वीकृति पनि हो ।
यो सामग्रीसँग सम्बन्धित भिडियो चर्चा यसमा हेर्न सकिनेछ- https://www.youtube.com/watch?v=nr1DUV3wcRU
प्रतिक्रिया